सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निषेधाज्ञामा रोकिएन विकास निर्माण


  •    न्युजभित्तो/२८ बैशाख २०७८, मंगलवार १०:०७ 
  • गलकोट, २८ वैशाख  । कोरोनाको दोस्रो लहरका कारण तीव्ररूपमा सङ्क्रमण बढिरहे पनि बागलुङमा विकास निर्माण भने रोकिएको छैन । गत वर्ष कोरोनाका कारण ठप्प बनेको विकास निर्माण अहिले भने निरन्तर चलिरहेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार बागलुङमा अहिले निर्माण सामग्री बोकेका सवारीलाई निर्वाधरूपमा चल्न दिइएको छ ।

    “गत वर्ष विकास निर्माण ठप्प भए तर अहिले अन्य क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि विकास निर्माण रोकेका छैनौँ, न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर काममा लगाउन निर्माण व्यवसायीलाई भनेका छौँ”, प्रजिअ कार्कीले भन्नुभयो, “निर्माण मजदुर एकै ठाउँमा बस्ने भएकाले उनीहरुलाई कामविहीन बनाउँदा भोकमरी, घर फर्कने समस्या हुन्छ, त्यसैले निरन्तर काम गर्न भनेका छौँ ।”

    अहिले बागलुङ जिल्ला सदरमुकाममा निषेधाज्ञाको समयमा धमाधम घर निर्माणको कामसमेत चलिरहेको छ । जिल्लामा सञ्चालित साना तथा ठूला विकास निर्माणका योजनामा स्वास्थ्य सुरक्षा अपनाएर काम अघि बढाइएको छ ।

    पालिकामा निषेधाज्ञा रहे पनि विकासे योजनाको काम नरोकिएको बागलुङ नगरपालिकाले जनाएको छ । मुलपानी–भलाटाकुरा सडकको २ किमी सडक कालोपत्र भइरहेको र थप ५०० मिटर सडकको पक्की नालीसहित ग्राभेलको काम चलिरहेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार केही स्थानका योजना प्रभावित भए पनि महत्वपूर्ण विकासे योजनाको काम जारी छ ।

    सङ्घीय सरकारको सडक डिभिजन कार्यालय बागलुङमार्फत बागलुङ–बेनी सडकखण्डअन्तर्गत ११ किमी सडक स्तरोन्नति कार्य रोकिएको छैन । अहिले रामरेखामा सडक स्तरोन्नतिसँगै कालोपत्र भइसकेको छ भने उपल्लाचौरमा धमाधम काम चलिरहेको सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालले जानकारी दिनुभयो । रु तीन करोड ३७ लाखको लागतमा स्तरोन्नतिसँगै पूरै ११ किमी नयाँ कालोपत्र गरिने सडकखण्डले बागलुङ–बेनी यात्रालाई सहज बनाउनेछ ।

    कोरोना महामारीबीच क्षेत्रीय सडकका रूपमा रहेको बागलुङ नगरपालिका–४ कुडुँले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकको १४ किलोमिटर सडक कालोपत्र गर्नका लागि सडकको धमाधम स्तरोन्नति भइरहेको छ । नगरपालिकाको कँुडुले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जानेसम्मकोे सडक स्तरोन्नतिसँगै कालोपत्र गरिने सडक हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४२ करोडको लागतमा सडक स्तरोन्नतिसँगै कालोपत्र गर्र्ने उक्त सडक बन्दाबन्दीमा रोकिएको छैन ।

    बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ अन्तर्गत पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका समेट्ने गरी क्षेत्रीय चक्रपथका रूपमा यस सडकलाई स्तरोन्नतिसँगै कालोपत्र गर्न पूर्वाधार निर्माणको काम गत वर्षदेखि चलिरहेको छ । चौध किलोमिटर सडक आठ मिटरको मापदण्डअनुसार चौडा हुने र एक मिटर नाली निर्माण गर्ने र ५।५ मिटर चौडा सडक केही समयपछि कालोपत्र हुनेछ । पहिलो चरणमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानासम्म कालोपत्र गरिने र दोस्रो चरणमा तितौरै भिमपोखरा, धम्जा, बिहुँ, लेखानी, रेश हुँदै बलेवा जोड्ने सडक विस्तार र कालोपत्र गर्ने योजना रहेको बागलुङ नगरपालिकाका प्रमुख पौडेलले बताउनुभयो ।

    यस्तै रामरेखा मरेपिपलको गत वर्षदेखि चलिरहेको सडक स्तरोन्नतिको काम अहिले अन्तिम चरणमा पुगेको छ । अहिले उक्त सडक ग्राभेल भइरहेको र निषेधाज्ञाकै बीचमा कालोपत्र गरिने निर्माण व्यवसायी विदुर शर्माले बताउनुभयो । जिल्लामा सङ्घ, प्रदेश तथा स्थानीय तहका विकास निर्माणमा आंशिक प्रभाव परे पनि रोकिएका भने छैनन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.