सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना कहरकै बीचमा विकास निर्माण धमाधम


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार १५:१० 
  • दमौली, २६ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा विकास निर्माणको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरकै बीचमा पनि फिरफिरेमा विभिन्न योजना निर्माणले गति लिएको हो ।

    सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भई निर्माण शुरु गरिएका योजनालाई समयमै निर्माण सम्पन्न गर्न कामलाई अगाडि बढाइएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । “कोरोना कहर भए पनि विकास निर्माणलाई रोक्ने कुरा भएन, स्वास्थ्य मापदण्ड अपनाएर विकास निर्माणका कामलाई धमाधम अगाडि बढाएका छौँ”, गुरुङले भन्नुभयो ।

    तीनै तहबाट बजेट विनियोजन भएर निर्माण शुरु भएका योजना जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वडाध्यक्ष गुरुङका अनुसार वडाभित्र सञ्चालित योजनामध्ये ७० प्रतिशत योजना सम्पन्न भएर भुक्तानीसमेत प्रदान गरिसकिएको छ । “असारे विकास प्रतिस्थापन गर्नुपर्छ भन्ने उद्देश्यसहित समयमै काम सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढेका छौँ”, गुरुङले भन्नुभयो, “चैतमा नै योजना निर्माण सम्पन्न गर्ने तयारी भए पनि विविध कारणले गर्न सकेनाँै ।”

    यहाँ सङ्घीय सरकार, प्रदेश सरकार र नगरपालिकाको गरी करीब रु पाँच करोड ५० लाखभन्दा बढीका योजना सञ्चालित छन् । सिँचाइ, पूर्वाधार, कृषिलगायत योजना चालु आर्थिक वर्षमा सञ्चालित छन् । असार महिनामा आएर काम गर्ने प्रचलन अझै पनि कायम रहेकाले त्यस्तो परम्परा तोड्ने अभियानमा आफूहरु रहेको गुरुङले जानकारी दिनुभयो ।

    यहाँ हाल दुलेगौडादेखि लामागाउँसम्म जोड्ने सडकमा नाली, तमु हिल पार्कमा पैदलमार्ग, घरबासको सामुदायिक भवन निर्माणलगायतका काम चलिरहेका छन् । दुलेगौडादेखि लामागाउँसम्म जोड्ने १७ किमी मोटरमार्गअन्तर्गत हाल नाली निर्माणको काम भइरहेको छ ।

    चालु आवमा विनियोजित रु एक करोड ४० लाखको बजेटले बाटो ग्राभेल र तीन किलोमिटर नाली निर्माण हुनेछ । “बाटो चक्लाउने काम सकियो, अहिले नाली बन्दैछ”, गुरुङले भन्नुभयो । वडाको गौरवको योजनाका रुपमा रहेको तमु हिल उद्यानमा पैदलमार्ग निर्माणको कामसमेत शुरु भएको छ । पैदलमार्गलगायत संरचना निर्माणका लागि चालु आर्थिक वर्षमा रु १७ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

    गुरुङ समुदायको इतिहास, धर्म, संस्कृति, संस्कार र सामाजिक परिवेशको प्रतिबिम्ब झल्काउने गरी यहाँ तमु हिल उद्यान बनाउन लागिएको छ । यसका लागि छ जना स्थानीयवासीले दश रोपनी जग्गादान गर्नुभएको छ । उद्यान निर्माण सम्पन्न गर्न करीब रु पाँच करोड लाग्ने अनुमान छ । उद्यानलाई गुरुङ समुदायका युवापुस्ताले इतिहासबारे अध्ययन गर्ने थलो बनाउने योजना रहेको बताइएको छ ।

    उद्यानको आकर्षणमा फलिना क्होइबो धि, गुरुङ जातिको पैतृक कार्यसँग जोडिएको क्होइबोमा १२ वटा वर्गचक्रको मूर्तिले घेरिएको हुनेछ । गुरुङ समुदायको परम्परागत घर निर्माण गरी जन्मदेखि मृत्युसम्मका कर्मकाण्ड झल्किने सामग्री प्रदर्शनमा राखिनेछ । यहाँबाट गुरुङ समुदायका बारेमा सोध अध्ययनमा सहयोग पुग्ने जनाइएको छ । उद्यानभित्र छुट्टै गोरखा राइफल्स र शान्तिपार्कको परिकल्पना गरिएको छ । बालउद्यान, वनभोजस्थल, ‘भिआइपी’ सवारी र आपत्कालीन उद्धारका लागि हेलिप्याड निर्माण गर्ने डिजाइनमा उल्लेख छ ।

    यस्तै प्रदेश सरकारको रु २० लाख बजेटमा घडेरी सामुदायिक घरबासको भवन निर्माण भइरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नै मिलेनियम गुफा जाने बाटोमा पहिरो नियन्त्रणका लागि जाली भर्ने काम भइरहेको छ । यसका लागि यहाँका २५ युवालाई रोजगारी दिइएको छ । उक्त कार्यक्रमका लागि रु पाँच लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

    वडाध्यक्ष गुरुङका अनुसार नगरपालिका र स्थानीयवासीको लागत साझेदारीमा ढोर तालबँेशीमा सामुदायिक भवन निर्माण कार्य पनि जारी छ । यसका लागि नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको छ भने स्थानीयवासीले रु पाँच लाखको साझेदारी गर्नेछन् ।

    अत्यावश्यक परिस्थितिमा नगरपालिकाको सवारी सञ्चालन गरिने

    व्यास नगरपालिकाले कोभिड सङ्कटको घडीमा अत्यावश्यक परिस्थितिमा नगरपािलकाका सवारी साधन परिचालन गर्ने प्रस्ट पारेको छ । कतिपय जिल्लामा कोभिडका बिरामीले एम्बुलेन्सलगायत सवारी साधन नपाएको समाचार आइरहेका बेला नगरपालिकाले उक्त कुरा प्रस्ट पारेको हो ।

    हाल आवश्यक सेवाका लागि उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइबाट नगरपालिकालाई हस्तान्तरण भएको एम्बुलेन्स सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले आज विज्ञप्ति जारी गरी अत्यावश्यक अवस्थामा नगरपालिकाका अन्य सवारी साधन पनि परिचालन गरिने बताउनुभयो ।

    नगरपालिकाले आफ्नै एम्बुलेन्स खरीदका लागि यसअघि नै प्रक्रिया अगाडि बढाए पनि ढिलाइ भएको छ । नगरपालिकाले सिप्रदीसँग रु १२ लाख ९५ हजारको सम्झौता गरी गत फागुन १३ गते रकम दाखिला गरिसकेर चैत मसान्तसम्म एम्बुलेन्स हस्तान्तरण गर्ने भनिए पनि हालसम्म एम्बुलेन्स नआएको न्यौपानेले जानकारी दिनुभयो ।

    साथै व्यासका वडा नं ९, १० र १४ मा थप एम्बुलेन्स खरीदको प्रक्रिया अगाडि बढिरहेको न्यौपानेले जानकारी दिनुभयो । अक्सिजनको अभाव रहेको, कोभिड–१९ का कारण जनप्रतिनिधिसमेत आम नागरिकको दिनानुदिन मृत्यु भइरहेको, अधिकांश अस्पताल बिरामीले भरिएका, उपचार अभावमा नागरिकले अकालमै ज्यान गुमाउनु परेकाले यो जोखिमपूर्ण अवस्थामा उच्च सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरिएको छ ।

    १५ जनाभन्दा बढी भए तत्काल स्वाब सङ्कलन

    नगरपालिकाले हप्ताको दुई दिन सोमबार र बिहीबार स्वाब सङ्कलनको व्यवस्था मिलाउँदै आएको छ । पन्ध्र जनाभन्दा बढी भएमा तत्कालै स्वाब सङ्कलनको व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले सोमबार मात्रै स्वाब सङ्कलन गर्ने गरे पनि सङ्क्रमणको दर बढ्दै गएपछि हप्ताको दुई दिन बनाएको थियो ।

    हाल सो नगरपालिकामा ४९ सक्रिय सङ्क्रमित छन् भने आठजना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितलाई बारम्बार सम्बन्धित वडाका लागि फोकल पर्सनका रुपमा जिम्मेवारी तोकिएका स्वास्थ्य सेवाका कर्मचारीले निगरानी गर्ने व्यवस्था मिलाइने नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । जटिल प्रकृतिका बिरामीलाई निःशुल्क रुपमा अस्पतालसम्म लैजाने व्यवस्था पनि नगरपालिकाले मिलाएको छ ।

    प्रत्येक वडामा फोकल पर्सन तोकियो

    नगरपालिकाले प्रत्येक वडाका लागि फोकल पर्सन तोकेको छ । वडाका सक्रिय सङ्क्रमितको सुविधाका लागि नगरपालिकाले १४ वटै वडामा फोकल पर्सन तोकेको हो । वडा नं १ मा उषा हड्खले, २ मा सुनिल अधिकारी, ३ मा रक्षा काफ्ले, ४ मा सरोज मिश्र, ५ मा उज्ज्वल न्यौपाने, ६ मा रामबहादुर गुरुङ, ७ मा मीना लौडारी, ८ मा पूजा सोती, ९ मा देवीन्द्र कार्की, १० मा सरिता बोटे, ११ मा मिलन सुर्खाली, १२ मा हरिशचन्द्र न्यौपाने, १३ मा सागर तिवारी र १४ मा पप्पु पङ्कज यादवलाई फोकल पर्सन तोकिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.