सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा छैन अक्सिजनको अभाव


  •    न्युजभित्तो/२० बैशाख २०७८, सोमबार ११:५८ 
  • चितवन, २० वैशाख । कोभिड–१९ सङ्क्रमितको उपचारमा अधिक प्रयोग हुने अक्सिजन जिल्लामा अभाव नहुने देखिएको छ । ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो । यसका अतिरिक्त एउटा उद्योग र दुई ठूला सप्लायर्स जिल्लामा रहेका कारण अक्सिजन पर्याप्त रहेको छ ।

    स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका आफ्नै अक्सिजन प्लान्ट रहेका छन् । ती अस्पतालले अहिले कोभिडको उपचार गरिरहेका छन् । यसका अतिरिक्त भरतपुर महानगरपालिका–१ रामनगरमा स्वर्गद्वारी अक्सिनन प्लान्ट रहेको छ । नवलपरासीको परासीमा रहेको शङ्कर अक्सिजन ग्यास र परवानीपुरमा रहेको भाजुरत्नको अक्सिजन ग्यास पनि यहाँ आउने गर्दछ ।

    यहाँ उत्पादन भएको ग्यासको ४० प्रतिशत हाराहारी उद्योगमा खपत हुने गरेको छ । अभाव हुँदै गएमा उद्योगमा पठाउने अक्सिजन रोक्न सकिने तिवारी बताउनुहुन्छ । अक्सिजन उद्योगलाई उद्योगमा पठाइएका सिलिन्डर फिर्ता ल्याउन भनिएको छ । तिवारीले भन्नुभयो, “सरसर्ती हेर्दा अहिले हामीलाई अक्सिजनको अभाव हुँदैन ।”

    निजी क्षेत्रबाट अक्सिजन उत्पादन गर्दै आएको स्वर्गद्वारी अक्सिजन प्लान्टका निर्देशक निरञ्जन न्यौपानेले जिल्लामा अहिले पाँच हजारभन्दा बढी सिलिन्डर रहेको जानकारी दिनुभयो । ठूला ४७ लिटरका र साना १० लिटरका सिलिन्डर बढी प्रयोगमा आउने गरेका छन् । केही मध्यम खालका पनि रहेको उहाँले बताउनुभयो ।

    सेन्ट्रल अक्सिजन सप्लाई भएकाले धेरैले ठूला सिलिन्डर प्रयोग गर्ने गरेका छन् । आफूले उद्योगमा पठाएका सिलिन्डर फिर्ता मागेको भन्दै उहाँले भन्नुभयो, “उद्योगबाट सिलिन्डर फिर्ता आइरहेका छन् ।” सो उद्योगले भैरहवा, वीरगञ्जलगायतका औद्योगिक क्षेत्रमा अक्सिजन पठाउँदै आएको थियो । हाल भने पठाउन रोकिएको उहाँको भनाइ छ ।

    यहाँको भरतपुर अस्पतालमा आफ्नै प्लान्ट छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीका अनुसार ६० प्रतिशत आफ्नै उत्पादनले धान्ने गरेको छ । नपुग निजी क्षेत्रबाट ल्याउने गरिएको छ । दैनिक ५० सिलिन्डर भरेर ल्याउने गरेको उहाँले जानकारी दिनुभयो ।

    अस्पतालसँग एक सयभन्दा बढी सिलिन्डर रहेका छन् । हालै मात्रै प्रदेश सरकारले ४३ सिलिन्डर पठाएको तिवारी बताउनुहुन्छ । एकसय ५० हाराहारी बिरामीलाई अक्सिजनको अभाव नहुने उहाँको भनाइ छ ।

    चितवन मेडिकल कलेजले आफैँ अक्सिनन उत्पादन गर्दै आएको छ । प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार ३०० जनासम्मलाई आफ्नै उत्पादनले धान्न सक्छ । अस्पतालमा चालु अवस्थाका र खाली सिलिन्डर जगेडाका रुपमा समेत राखिएको देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य समस्या नआएमा हामीलाई अक्सिजनको अभाव हुँदैन ।”

    कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालले लगानी गरेको गैँडाकोटको सिद्धिविनायक अक्सिजन उद्योग रहेको छ । सो उद्योगले आफू र अन्य क्षेत्रलाई समेत अक्सिजन बिक्री गर्दै आएको छ । उद्योगको ८० प्रतिशत खपत चितवनमा हुन्छ । यहाँका अस्पताल, एम्बुलेन्स, निजी अस्पताललगायत भाजुरत्न र शङ्कर उद्योगले अक्सिजन उपलब्ध गराउँदै आएका छन् ।

    केही दिनअघि मात्रै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सरोकारवालाले उद्योग र सप्लायर्सको अनुगमन गरेको थियो । सो क्रममा चिकित्सकको प्रेस्किप्सन विना घरमा सिलिन्डर राख्ने गरी बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । यसैगरी उद्योगमा गएका सिलिन्डर फिर्ता ल्याउन र मेडिकल क्षेत्रलाई प्राथमिकता दिन भनिएको छ ।

    प्रजिअ प्रेमलाल लामिछानेले तत्कालका लागि जिल्लामा अक्सिजनको अभाव नभएको बताउनुभयो । आफ्नै नेतृत्वमा स्थलगत निरीक्षण गरी आवश्यक निर्देशनसमेत दिइएको उहाँले जानकारी दिनुभयो । घरमा राखिएका सिलिन्डरमध्ये जगेडामा राखिएकालाई फिर्ता माग्न सम्बन्धित उद्योगी र सप्लायर्सलाई निर्देशन दिइएको उहाँ बताउनुहुन्छ । उद्योगको उत्पादन राम्रो भएको तर बिरामीको चाप बढ्दै गएमा सिलिन्डर भने थप आवश्यक पर्ने उहाँको भनाइ छ ।

    कारागारमा भेटघाट बन्द

    कारागार कार्यालयमा रहेका कैदी र बन्दीसँगको भेटघाट बन्द गरिएको छ । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कोरोना सङ्क्रमण फैलन सक्ने भएकाले भेटघाट बन्द गरिएको हो । आफन्त भेटघाटमा आउँदै कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने भन्दै कारागार प्रशासनले भेटघाट बन्द गराएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “बाहिरबाट मान्छे आउँदा भित्र रहेकालाई कोरोना सर्न सक्ने खतरा भएकाले भेटघाट बन्द गराएका छौँ ।” दोस्रो चरणको कोरोना भाइरस पहिलेको भन्दा जटिल भएकाले भेटघाटमा आउने आफन्तलाई गेटबाट फर्काइएको उहाँले बताउनुभयो ।

    भेटघाट बन्दसँगै बाहिरबाट ल्याउने कैदीबन्दीलाई समेत रोक लगाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी भएकाबाहेक अन्य कैदीबन्दी नपठाउन भनेका छाँै ।” जिल्ला अदालतबाट ल्याइएका कैदीबन्दीको पनि कोरोना परीक्षण गरेर मात्र राख्ने गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कारागारमा कोरोना सङ्क्रमण फैलन नदिनका लागि उच्च सतर्कता अपनाएका छौ ।”

    जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई आउने बित्तिकै १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ । बीस जना अट्ने क्षमता रहेको सो क्वारेन्टिनमा अहिले पनि कैदीबन्दी रहेका छन् । पहिलो चरणको कोरोना सङ्क्रमणका समयमा विसं २०७६ साल चैत ८ गतेदेखि बन्द गरिएको भेटघाट २०७७ साल माघ २६ गतेमात्र खोलिएको थियो । भेटघाट बन्द गरिएसँगै कारागार कार्यालयमा कोरोना सङ्क्रमण फैलन पाएको थिएन ।

    कारागार कार्यालयमा अहिले ६६५ कैदीबन्दी रहेका छन् । त्यसमा पुरुष ६१६, महिला ४९ र आश्रित बालबालिका तीन रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये ५५१ ले कोरोनाविरुद्धको दोस्रो चरणको खोपसमेत लगाइसकेको काफ्लेले जानकारी दिनुभयो । यस कार्यालयमा २५ महिला र २५५ पुरुषको क्षमता रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.