सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय तहको विज्ञापन रद्द गर्ने निर्णय ‘कानूनविपरीत’


  •    /२७ जेष्ठ २०७६, सोमबार २०:४० 
  • शरद शर्मा/रासस

    काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्ने निर्देशन निर्णय कानूनसम्मत नभएको बताइएको छ । कर्मचारी समायोजन ऐन २०७५ विपरीत समितिले स्थानीय तहको विज्ञापन रद्द गर्ने निर्णय गरेको हो ।

    कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ मा ‘प्रदेश वा स्थानीय तहको सेवाको पदपूर्ति प्रदेश लोकसेवा आयोगले गर्ने छ तर प्रदेश लोकसेवा आयोग गठन नभएसम्मका लागि सम्बन्धित प्रदेश वा स्थानीय तहले मन्त्रालयमार्फत लोकसेवा आयोगमा अनुरोध गरी पठाउनुपर्ने छ’ भनी उल्लेख गरिएको छ ।

    गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले लोकसेवा आयोगद्वारा गरिने विज्ञापनले स्थानीय तहमा केही कर्मचारी पदपूर्ति हुने भएकाले केही राहत हुने तर रोकिएकाले ती कर्मचारी नआउने भई सेवा प्रवाहमा असर पर्ने बताउनुभयो । संविधानको धारा २४४ मा सातवटै प्रदेशमा प्रदेश लोकसेवा आयोग गठन गर्ने व्यवस्था छ ।

    अहिले सङ्घीय संसद्ले प्रदेश लोकसेवा आयोगको ऐनका लागि कानून बनाई आधार र मापदण्ड बनाई पठाएको छ । सोहीअनुसार अहिले प्रदेश नं २ र प्रदेश नं ५ ले प्रदेश लोकसेवा आयोग ऐन पारित गरेका छन् । अहिले प्रदेश लोकसेवा आयोग गठन गरिनसकेको अवस्थामा लोकसेवा आयोगले नै स्थानीय तहको पदपूर्तिका लागि विज्ञापन गर्न पाउने कानूनी व्यवस्थाविपरीत समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएको हो ।

    सङ्घीयता कार्यान्वयनका लागि स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि गरिएको विज्ञापन रद्द गर्नुले जनताको सेवामा प्रभाव पर्ने भएको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालले समितिले स्थानीय तहका लागि गरिएको विज्ञापन रोक्न निर्देशन दिनु गलत भएको बताउनुभयो । “समितिले स्थानीय तहमा कर्मचारी पठाउनका लागि गरिएको विज्ञापन रोक्न निर्देशन दिनु गलत हो”, उहाँले भन्नुभयो, “समितिले संविधानको कुन धारा प्रयोग गरेर विज्ञापन रद्द गर्ने निर्णय गर्यो ।”

    आयोगले स्थानीय तहका लागि विज्ञापन गरेदेखि नै समावेशी नभएको भन्दै विरोध हुँदै आएको थियो । आयोगले भने स्थानीय तह एउटा सरकार भएकाले कुनै एउटा स्थानीय तहमा एक जनाका लागि गरिएको विज्ञापनमा समावेशी कोटा निर्धारण गर्न नसक्ने धारणा सार्वजनिक गर्दै आएको थियो । सरकारले लोकसेवा आयोगमार्फत स्थानीय तहमा रिक्त दरबन्दी पदपूर्तिका लागि यही जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो ।

    विज्ञापन गरेपछि अहिलेसम्म करीब ७३ हजार ११३ जनाले आवेदन फारम भरेका आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार खुलातर्फ ७२ हजार २९५, महिला १७ हजार ९३९, जनजाति आठ हजार ६५५, मधेशी चार हजार १२९, दलित ५३८, अपाङ्गता भएका ४१ र पिछडिएका १९ ले आवेदन फारम भरेका छन् ।

    यस्तै २४ हजार ९९ ले आवेदनभरि शुल्कसमेत आयोगलाई बुझाएका छन् । समितिको बैठकले उक्त विज्ञापन संविधानको मर्म र भावनाअनुरुप नदेखिएको जनाउँदै विज्ञापन तत्काल रद्द गर्न गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई निर्देशन दिएको हो । “समितिको विज्ञापन रद्द गर्ने औपचारिक पत्र आएपछि आयोगले त्यसमाथि छलफल गर्ने छ”, आयोगका प्रवक्ता शर्माले भन्नुभयो, “अहिले यसबारेमा थप केही नबोलौँ ।”

    आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले निर्णय गर्दैमा विज्ञापनका लागि आवेदन भने नरोकिने जानकारी गराउनुभयो । उहाँले आयोगले समितिले पठाएको पत्रमाथि छलफल गरेपश्चात् मात्र के गर्ने भन्ने निर्णय गरिने बताउनुभयो ।

    सरकारले स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार ६७ हजार ७१९ कर्मचारीको दरबन्दी स्वीकृत गरी गत चैतमा स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन भएका छन् । कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन् । अहिले गरिएको विज्ञापनले केही हदसम्म भए पनि स्थानीय तहमा कर्मचारीको पदपूर्ति गर्ने आँकलन गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.