सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रीपञ्चमी पर्वको उल्लास कम हुदै


  •    न्युजभित्तो/२ फाल्गुन २०७७, आईतवार ११:३५ 
  • महोत्तरी, २ फागुन ।   मिथिलामा कैयौँ सांस्कृतिक परम्परासँग जोडिएको श्रीपञ्चमी पर्वको उल्लास यसपालि देखिएको छैन । चन्द्रमास गणनाले माघ शुक्ल पञ्चमीका दिन शिक्षा, कृषि र ऋतु परिवर्तनसँग जोडेर मनाइने मैथिल परम्पराको यो पर्वको रौनक हराउँदै गएको छ ।

    यसपालि कोभिड–१९ महामारीको निहुँ भनिए पनि पर्वको उल्लास भने केही वर्ष पहिलेदेखि नै पातलिँदै गएको पाका मैथिल बताउँछन् । एक महिना पहिलेदेखि नै सरस्वती पूजनोत्सवको तयारी गर्ने विद्यालय यसपालि महामारीका कारण सबै खुलिसकेका छैनन् । केही विद्यालय भर्खरै खुल्न थाले पनि महामारीको डर नसकिएको हुँदा विद्यार्थी यसको तयारीमा लाग्न नसकेका हुन् । यही आउने मङ्गलबार परेको श्रीपञ्चमी पर्वबारे विद्यार्थीको चहलपहल कतै नदेखिएको सर्वसाधारण बताउँछन् । “श्रीपञ्चमी आउन महिना दिनपूर्व नै विद्यार्थी सरस्वती पूजनोत्सवको चन्दा भन्दै घरघर आउँथे”, पर्वबारे पुराना कुरा सम्झँदै भङ्गाहा नगरपालिका–४ रामनगरका ५५ वर्षीय किसान मोहन खाँ थारू भन्नुहुन्छ, “विद्यार्थीको यो तयारीले नै श्रीपञ्चमी आएको छनक दिन्थ्यो, अब त्यो हरायो ।” यसपालि महामारीको निहुँ भनिए पनि सामूहिकरूपमा सरस्वती पूजनोत्सव उल्लासका साथ मनाउने परम्परा केही वर्ष पहिलेदेखि नै पातलिँदै गएको थारूको भनाइ छ ।

    सरस्वती पूजनोत्सवमा विद्यार्थीको चहलपहलसँगै मिथिलामा सरस्वतीका मूर्ति बनाउने कलाकारको पनि यसैबेला राम्रो कमाइ हुने गथ्र्यो । सांस्कृतिक पर्व र परम्पराबारे चासो घट्दै गएसँगै मूर्ति बनाउनेहरु वैकल्पिक अन्य पेशामा बाँधिन थालेपछि बस्तीपिच्छे विगतमा बाक्लै देखिने मूर्तिकार अब देखिन छाडेका छन् । हिन्दू परम्पराकी विद्याकी देवी सरस्वतीको पूजाआराधना गरेर मनाइने यो पर्वकै दिन स–साना नानीहरुलाई अक्षरारम्भ गराइने परम्परा छ । माघ शुक्लपञ्चमीका दिन अक्षरारम्भ गराइएका बालबालिका लेखपढमा तीक्ष्ण हुने मैथिल जनविश्वास छ । मिथिलामा यो पर्व कृषिसँग पनि सम्बन्धित छ । श्रीपञ्चमीकै दिन आउने एक वर्ष अवधिका लागि कृषि श्रमिक र कृषि घरेलु औजार (हलो, कोदालो, फाली, कँचिया, दावआदि) मर्मत गर्ने लोहार (यस्ता औजार बनाउने र मर्मत गर्ने मिथिलाको जातिविशेष) छनोट गर्ने परम्परा छ । किसान, कृषि श्रमिक र लोहारबीच पारिश्रमिक र सुविधाबारे सहमति भएपछि एक वर्षसम्म (आउने वर्षको श्रीपञ्चमीसम्म) काम गर्ने÷गराउने टुङ्गो लाग्छ । यस्तो टुङ्गो लागेपछि किसानले सहमति भएका कृषि श्रमिक र लोहार (मिस्त्री) लाई वरण गरेर पूजा गर्दै (अबिरको टीका लगाउने) भोजन गराएर दक्षिणा दिने मैथिल परम्परा छ । तर यहाँका बस्ती-बस्तीमा कृषिकार्यमा लाग्ने युवा जनशक्ति विदेशिएका र लोहार कर्ममा नयाँपुस्ताले रुचि नदेखाएपछि मान्छे नभेटिएको आम किसानको गुनासो छ । “श्रीपञ्चमी पर्वकै दिन कृषि मजदुर र लोहार वरण गर्ने परम्परा त हो नि ! तर, कति दिन भयो यस्ता मान्छे खोजेको भेट्टाइएन”, भङ्गाहा–४ का ८० वर्षीय किसान मोती महतो दिक्दार हुँदै भन्नुहुन्छ, “यो खेतीजस्तो दुख्याहा कर्म केही रहेनछ ।”

    आफ्ना बस्तीका कृषि कर्मका युवा जनशक्ति काम गर्न भारतको हरियाणा, पञ्जाब गएका हुँदा कृषि श्रमिक र लोहार बस्तीका युवा अन्य वैदेशिक रोजगार तथा अन्य पेशामा लागेपछि अब कँचिया, कोदालो, दाव उद्याउने, बिँड बनाइदिने, फाली पिटिदिने र हलो जुवाका सामान्य मर्मतको काम गर्ने मान्छे पाउन छाडिएको महतोको भनाइ छ । जति खोजे पनि मान्छे नपाएपछि यसपालि श्रीपञ्चमी पर्वमा श्रमिक वरण गर्न नसकिने महतोले बताउनुभयो । कृषि मुख्य पेशा अँगालेका महोत्तरीसहित मिथिला क्षेत्रका मध्यपूर्वी तराईका सबैजसो जिल्लाका किसानको यो साझा समस्या बनेको छ । सिँचाइ, मलखाद, बीउबिजनदेखि श्रमिकसमेत पाउन छाडिएपछि थुप्रै किसानले खेती गर्न छाडेका छन् । यो समस्याले कृषिसम्बद्ध चाडवाडको रौनक हराउँदै गएको बर्दिवास नगरपालिका–९ का ७० वर्षीय किसान ब्रह्मदेव महतो बताउनुहुन्छ । शिक्षा र कृषिबाहेक श्रीपञ्चमी पर्व ऋतु परिवर्तनसँग पनि मिथिलामा जोडिन्छ । श्रीपञ्चमीका दिनदेखि वसन्त ऋतु शुरु हुने मान्यतामा एकापसमा अबिर लगाएर वसन्त उत्सव मनाउने मैथिल परम्परा छ । यो परम्परा पनि नयाँ पुस्ताको सहभागिता हुन छाडेपछि हराउँदै गएको यहाँका बूढापाका बताउँछन् । घरघरैजसो आयोजन हुने वसन्त उत्सव र वसन्त कथा श्रवण अब पछिल्लो पुस्ताका लागि इतिहास बन्ने पाका मैथिलको टिप्पणी छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.