सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रोकिएनन् आपराधिक क्रियाकलाप


  •    न्युजभित्तो/१८ माघ २०७७, आईतवार १०:५० 
  • तम्घास, १८ माघ । गुल्मीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएको छ । झरफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् ।
    घटनाका अपराधी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै गएको हो । इस्मा गाउँपालिका–१ का मोतीबहादुर कँुवरको गत भदौ २१ गते आफ्नै पसलमा विभत्स हत्या भयो । हत्या भएको करिब पाँच महिना पुग्न थाल्यो । गुल्मी प्रहरीले अहिलेसम्म अपराधमा संलग्न व्यक्ति पत्ता लगाउन सकेको छैन ।
    लामो समयसम्म हत्या किन र कसले गरेको भन्ने विषय अन्योल भएका कारण स्थानीयवासीमा त्रास बढ्दै गएको छ । “मृतकका केही आफन्त र अन्य महिलामाथि पनि प्रहरीले शङ्का गरेको थियो”, स्थानीय वीरबहादुर खत्रीले भन्नुभयो, “अहिलेसम्म पनि हत्यारा पत्ता नलाग्दा स्थानीयवासीमा त्रास बढ्दै गएको छ ।” रेसुङ्गा नगरपालिका–१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विक यही माघ ३ गते बिहान ११ बजे जङ्गलमा घाँस काट्न जानुुभएको थियो ।
    सोही दिन दिउँसो २ः३० बजेतिर गुल्मीदरबार गाउँपालिका–१ को बलिथुममा मृत भेटिनुभयो । उहाँका छातीमा बन्दुकका छर्रा रहेका बताइएको छ । दिउँसै बन्दुकले हानेर विकको हत्या भएपछि स्थानीयवासीमा त्रास बढेको छ । गाउँमा मजदुरी गरेर परिवार पालेका विकको हत्यापछि परिवार शोकमा छन् । हत्यामा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन् । त्यस्तै गत पुस २६ गते चार युवाले जिल्ला सदरमुकाममै रहेको महेन्द्र माविको कक्षा १२ मा पढ्ने इस्मा गाउँपालिका–३ का माधव पछाईँलाई मरणासन्न हुने गरेर कुटपिट गरे ।
    पीडित परिवारले प्रहरीमा चार जनाविरुद्ध किटानी जाहेरी दिएका दिए । तीमध्येका दुई हिरासतमा छन् भने बाँकी दुई अझै फरार छन् । तम्घासकै मुख्य बजारमा झारफुकको नाममा तातो पन्यू र अन्य धातुले हानेर इस्मा–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको गत पुस २९ गते ज्यान गयो भने दुई गम्भीर घाइते भए । बिपन्न मुखिया परिवार शोकमा डुबेका छन् । दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने माग उनीहरुको छ ।
    “रोग सञ्चो गराउने नाममा बुवालाई गुमाउनुप¥यो”, मृतकका जेठा छोरा हुमबहादुर मुखियाले भन्नुभयो, “घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही हुनुप¥यो ।” यस्तै जिल्लामा हत्याका घटना मात्र होइन्, किसानमाथि पनि आक्रमण भइरहेको छ । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका शौभाग्य शाहको बाख्राफार्ममा अपरिचित व्यक्तिले गत पुस २३ गते आगो लगाइदिए । छिनभरमै फार्ममा रहेका २५ बाख्रा मरे ।
    फार्मको संरचनासहित रु ७० लाखभन्दा बढीको क्षति भयो । मालिका गाउँपालिका–७ घमिरका मुमानन्द लम्सालको केरा बगानमा गत पुस २७ गते राति अपरिचित व्यक्तिले केरा फडानी गरे । त्यसका साथै पाइप र सिँचाइका सामग्रीमा क्षति गरे । तर दुवै घटनामा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन् । गुल्मीदरबार गाउँपालिका–४ का ३८ वर्षीय नारायण पाध्य शर्मा चुदालीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत मङ्सिर ८ गते मानव बेचबिखनविरुद्धको मुद्दा दर्ता भयो ।
    उनले गत कात्तिक २६ गते स्थानीय १७ वर्षीया बालिकालाई भारत लगेका थिए । आरोपितविरुद्ध जिल्ला अदालतले मङ्सिर १० गते पक्राउ पूर्जीसमेत जारी ग¥यो । तर आरोपित गाउँमै डुलेर बस्दासमेत प्रहरीले आरोपितलाई पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले सबै घटनाका बारेमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिँनुभयो ।
    कतिपय घटनास्थल टाढा भएकाले जिल्लाको टिम जान नपाएको उहाँले बताउनुभयो । साथै स्थानीयवासीबाट राम्रो साथ र समन्वय नहुँदा पनि समस्या भएको उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा भएका घटनाप्रति आफूहरु गम्भीर रहेको बताउनुभयो । प्रशासन नजिकै घटेका घटनाले आफूहरुको चित्त दुखेको जनाउँदै उहाँले घटनाका विषयमा सुरक्षा समितिमा समीक्षा भएको बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.