सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु


  •    न्युजभित्तो/१५ माघ २०७७, बिहीबार १०:२० 
  • – आदित्य दाहाल, काठमाडौँ (साँखु), १५ माघ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

    माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिइसकेको छ । हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ ।

    माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले माघ १५ गतेदेखि एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि कोभिड–१९ को महामारीका कारण मापदण्ड र कार्यविधि बनाएर मेला सञ्चालन गरेको हो । कोभिड–१९ को महामारीको कारण शालीनदी मेलाका लागि समितिले बढीमा ५० जना बर्तालु राख्ने गरी व्रत पूजा सञ्चालन गरेको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताउनुभयो ।

    गत वर्ष बर्तालुकोे सङ्ख्या ३०० भन्दा धेरै थियो । यो वर्ष कोभिड–१९ को महामारीका कारण समितिले ५० को सङ्ख्या तोकेको हो । बर्तालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न दूर दर्शनको व्यवस्था मिलाइएको छ भने बर्तालुहरु र भक्तजनहरुबीच दूरी कायम गराउनका लागि व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ ।

    साथै मेलामा आउने भक्तजनका लागि मास्क अनिवार्य गर्दै दूरी कायम हुने गरी सम्पूर्ण सुरक्षा र स्वास्थ्यलगायतका विषयमा तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्ने गर्दछ ।

    यस्तो छ स्वस्थानीको महिमा

    राजधानीबाट उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । राजधानी तथा विभिन्न जिल्लाबाट आउने तीर्थयात्रीहरु मणिशैल किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् ।

    पार्वतीले श्री स्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ । उसै त कथा त्यसमाथि देवीदेवताका लीलासँग प्रसङ्ग जोडिएको विषय भएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ ।

    सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गर्नुभएको कथाका रूपमा नेपाली समाजमा प्रचलित छ । यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

    एकतीस अध्याय रहेको यस श्रीस्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ । राजधानीमा श्रीस्वस्थानी परमेश्वरीको मन्दिर मखनटोलस्थित तारिणी बहालभित्र समेत छ ।

    शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल सम्वत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेको खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

    स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ ।

    परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ । शालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णमिादेखि माघ शुक्ल पूर्णमिासम्म एक महिनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेको स्थानीयवासी पवन श्रेष्ठले बताउनुभयो ।

    स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ । “मेला अवधिभर साँखुका कुनै पनि घरमा स्वस्थानी र माधवनारायणबाहेक कुनै पनि धार्मिक अनुष्ठान विवाह, व्रतबन्धलगायत गर्ने चलन छैन ।

    यो पहिलेदेखिकै यहाँको मौलिक पहिचान हो”, उहाँले भन्नुभयो । मेला मूल आयोजक समितिका अनुसार भक्तजनको सुविधा तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै मेला वरपर क्षेत्रमा सिसी क्यामेरा जडान गरिनुका साथै विभिन्न उपसमिति गठन गरी मेलालाई व्यवस्थित बनाउने तयारी भएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने
    • एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
    • छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    • उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    • दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.