सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँदर लड्ने भीरमा बन्यो आकर्षक खेलमैदान


  •    न्युजभित्तो/२ माघ २०७७, शुक्रबार १०:१३ 
  • बाह्रबिसे (सिन्धुपाल्चोक), २ माघ । भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ । तर ‘आँट गरे के पुग्दैन र ?’ भन्ने नेपाली भनाइलाई चरितार्थ गर्दै यहाँ यो काम सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका–४ ठूलो पलाँतीमा आर्थिक वर्ष २०७१/२०७२ देखि जल उत्पन्न प्रकोप नियन्त्रण विभागको आर्थिक सहयोगमा खेलमैदान निर्माण शुरु भएको थियो । खेलमैदान निर्माणका लागि तत्कालीन सांसद एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले पहल गर्नुभएको हो ।

    चिलाउने र अँगेरीका बुट्यानले ढाकेको बाँदरसमेत लड्ने भीरका नामले चिनिने स्थानमा खेल मैदान निर्माण गरी पुस २२ देखि २८ गतेसम्म जिल्लाव्यापी फुटबल प्रतियोगितासमेत सम्पन्न भएको छ । अँगेर पाखा सामुदायिक वनको भीर पाखा खारेर करिब १० रोपनी क्षेत्रफलमा फैलिएको पर्खाल निर्माण गर्न करिब रु १० करोड नै खर्च भएको छ । विभागले रु सात करोड, पूर्व मन्त्री बस्नेतले आर्थिक वर्ष २०७३/२०७४ मा सांसद पूर्वाधार विकास कोषबाट, स्थानीयवासी एवं सङ्घ संस्थाको समेत सहयोग जुटाएर खेल मैदान निर्माण गरिएको हो ।

    भीरमा माथिबाट कटिङ र तलबाट जालीको पर्खाल लगाएर खेलमैदान तयार गरिरहेकै बेला विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको सिन्धुपाल्चोकमा बनिरहेको खेलमैदानलाई पनि बाँकी राखेन । निर्माणाधीन खेलमैदानमा पनि भूकम्पले क्षति गरेको पूर्व मन्त्री बस्नेत बताउनुहुन्छ । भूकम्पले जाली गारो भत्किएपछि भौगोलिकरूपमा भीर, पाखाको दुर्गम बस्तीमा आरसिसी प्लङ ढलान गरेर आकर्षक खेलमैदान तयार भएको छ । पुल बनाउन राखिने रड राखेर बलियो गरी खेलमैदान तयार गरिएको हो । खेलमैदान तयार भएसँगै फुटबल, भलिबललगायत खेलकुदका लागि टाढाटाढा पुग्नुपर्ने समस्या समाधान भएकाले युवावर्ग खुसी भएका छन् ।

    भीरपाखा काटेर र पर्खालले उचालेर निर्माण गरिएको खेलमैदानबाट खेलाडी दर्शक नलडुन् भनी करिब ६०० मिटर भागमा नारायणहिटी दरबारको भन्दा आकर्षक डण्डी राखेर बार लगाइएको छ । बार करिब छ मिटर उचाइको छ । यो बार भने निजी क्षेत्रका तर्फबाट निर्माण गरिएको हो ।

    खेलमैदानसँगै ठूला र सानाका लागि छुट्टाछुट्टै पौडी पोखरी, कभर्ड हल, स्वास्थ्य चौकी र हेलिप्याडसमेत निर्माण भइसकेको छ । बाह्रबिसे, लामोसाँघु बजार, सुनकोशी र भोटेकोशीलगायत नदी एवं वरिपरिका आकर्षक डाँडाका साथै हिमाली शृङ्खला देखिने खेलमैदान नजिकै भ्यू टावर (दृश्यावलोकन स्तम्भ) समेत निर्माण गरिने योजना छ । योसँगै ठूलो पलाँतीको यो खेलमैदान जिल्लामै आकर्षक खेल पर्यटकीय स्थलका रूपमा विकास हुने भएको छ ।

    खेलमैदान निर्माणमा अहोरात्र खटिनुभएका स्थानीयवासी जनार्दन बस्नेत फुटबल, भलिबल खेल्दा गर्मी भए खेलाडीलाई पौडी खेल्न पोखरी निर्माण गरिएको, स्वास्थ्यमा समस्या आए उपचारका लागि स्वास्थ्य चौकी निर्माण गरिएको बताउनुहुन्छ । ठूलाका लागि पाँच फिट उचाइ र सानाका लागि तीन फिट उचाइको पौडी पोखरी तयार भएको छ । पौडी पोखरीका लागि चार किमी माथिबाट खानेपानी झारिएको छ । झारिएको खानेपानी जम्मा गर्न एक लाख २२ हजार लिटर क्षमताको ट्याङ्कीसमेत निर्माण गरिएको छ । यसबाट पौडी पोखरीमा बेलाबेलामा पानी फेर्न सहज हुन्छ ।

    स्वास्थ्य चौकी निर्माणका लागि अमेरिकाको क्यालिफोर्नियामा बस्ने स्थानीयवासी पूर्वमन्त्री बस्नेतका भाइ प्रकाश बस्नेतले सहयोग गर्नुभएको छ । स्वास्थ्यचौकीका लागि एक जना स्वास्थ्य सहायक, कार्यालय सहयोगी, एवं निःशुल्क वितरण गर्ने औषधिसमेत सहयोगस्वरूप अमेरिकाको लायन्स क्लबबाट आउने गरेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.