सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा उत्पादन हुन सक्ने दानाको कच्चा पदार्थमा विदेशीको भर पर्दा लागत महँगो


  •    न्युजभित्तो/२५ पुष २०७७, शनिबार १०:४८ 
  • नारायण अधिकारी
    चितवन, पुस २५ । दानाको कच्चा पदार्थमा विदेशको भरपर्दा कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक रु ३२ अर्बभन्दा बढी विदेसिने गरेको हो ।

    नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरी नेपालमा उत्पादन हुन सक्ने कच्चा पदार्थ पनि भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । दानामा ७० प्रतिशत प्रयोग हुने मकै र भटमासको पिना नेपालमा नै उत्पादन गर्न सकिन्छ । मकै ३५ प्रतिशत स्वदेशी उत्पादनले धानेको भए पनि भटमासको पिना पूर्णरुपमा विदेशमा निर्भर हुनु परेको उहाँले जानकारी दिनुभयो । पुरीले भन्नुभयो, “गत वर्ष मात्रै दानाको कच्चा पदार्थमा हामीले रु ३२ अर्ब विदेश पठायौँ । यो वर्ष मूल्य बढेकाले अरु बढ्छ ।”

    गत वर्षबाट सरकारले कृषि सुधार शुल्क बढाएपछि दानाको लागत मूल्य अरु थपिएको छ । मकैमा पाँच प्रतिशत र भटमासको पिनामा नौ प्रतिशत शुल्क लाग्ने गरेको छ । आर्थिक वर्ष २०७३/७४ सम्म यो शुल्क १।६ प्रतिशत मात्रै थियो । पुरी भन्नुहुन्छ, “नेपालमा कच्चा पदार्थको उत्पादन नभएसम्म कृषि सुधार शुल्क लिनु हुँदैन ।”

    अनमोल फिड्स प्रालिका प्रबन्ध निर्देशकसमेत रहनुभएका सङ्घका वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेल मकै र भटमासको उत्पादनलाई नेपालमा अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ । यसले कृषकको आयस्तर उकास्ने र कुखुराजन्य उत्पादनको लागत घट्ने उहाँको तर्क छ । कँडेलले भन्नुभयो, “उत्पादन बढाएर सरकारले मकै र भटमासको दर तोकिदियोस् हामी सबै खरीद गर्न तयार छौँ । ”

    कृषि सुधार शुल्क शून्य बनाउनुपर्ने भन्दै उहाँले सरकारले आत्मनिर्भर कुखुराजन्य व्यवसाय जोगाउनुपर्ने बताउनुभयो । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल दानाको लागत मूल्य बढ्दा नेपालमा मासु, अण्डा र चल्लाको मूल्य पनि बढी भएको बताउनुहुन्छ । दानाको मूल्य घटाउन सके उपभोक्तालाई सस्तो मूल्यमा मासु र अण्डा उपलब्ध गराउन सकिने उहाँको भनाइ छ ।

    स्काइलार्क दाना कम्पनीका सञ्चालकसमेत रहनुभएका पोखरेल कच्चा पदार्थ र तयारी दानाको भन्सार दर एउटै हुँदा नेपाली उद्योग मारमा परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मकै, भटमासजस्ता कच्चा पदार्थ नेपालमा उत्पादन गर्न सकिन्छ तर त्यसो नगर्दा कुखुराजन्य पदार्थको लागत मूल्य बढ्यो र धेरै पैसा विदेसिएको छ ।” उहाँको कम्पनीले मात्रै वार्षिक रु एक अर्ब कच्चा पदार्थ खरीदका लागि विदेश पठाउने गरेको छ । नेपालमै उत्पादन हुने मकैको भण्डारण उपयुक्त नहुँदा र सीपको अभावमा ढुसी लागेर प्रयोग गर्न अप्ठ्यारो भएको भन्दै उहाँले सरकारले कृषकलाई भण्डारण प्रविधि उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

    दाना उद्योग सङ्घ चितवनका अध्यक्ष बालचन्द्र खनाल दानाको लागत मूल्य घटाउन सरकारको सहयोग आवश्यक रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालमा जमीन बाँझो छ, मानिस बेरोजगार छन्, कृषि उत्पादन विदेशबाट ल्याउनु पर्ने बाध्यता छ ।” यहाँको उत्पादन लागत बढेको कारण भारतबाट चोरी पैठारी गरी कुखुराजन्य पदार्थ आउने गरेको उहाँले बताउनुभयो ।

    किसान दाना उद्योगका प्रबन्ध निर्देशक विनोद पोखरेल आफूले मात्रै कच्चा पदार्थमा एक वर्षमा रु ७० करोडभन्दा बढी रकम विदेश पठाउने गरेको भन्दै नेपालमै कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने बताउनुहुन्छ । सङ्घका चितवन जिल्ला उपाध्यक्षसमेत रहनुभएका पोखरेल दाना उद्योगमा आवश्यक औजारमा लाग्ने गरेको भन्सारमा सरकारले एक प्रतिशत मात्रै लिनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सरकारले कुखुराजन्य उत्पादनको खपत बढाउन प्रचारप्रसारमा सहयोग गर्नुपर्ने र विदेशबाट आउने कुखुराजन्य पदार्थ रोक्नु पर्छ ।”

    नेपालमा हाल करीब ११८ वटा दाना उद्योग रहेका छन् र तीमध्ये ६० वटा हाराहारी पेलेट दाना उद्योग छन् । पेलेटका दुई भारतीय र दुई चिनियाँ लगानीका उद्योगसमेत रहेका छन् । दाना उद्योगमा मात्रै रु ४० अर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ ।

    नेपालमा पहिलो पेलेट दाना उद्योग निम्बस समूह हो । प्रोबायोटेक इण्डष्ट्रिज प्रालिले सन् २००४ बाट यो उद्योग सञ्चालन गर्दै आएको छ । उद्योगका कार्यकारी निर्देशक डा दिनेश गौतम सरकार र निजी क्षेत्र मिलेर दानाको कच्चा पदार्थ उत्पादनमा जुट्नु पर्ने बताउनुहुन्छ ।

    नेपाल अण्डा उत्पादक सङ्घका पूर्वकेन्द्रीय सचिव मदन पोखरेलले दाना सस्तो भएमा अण्डा र मासु सस्तो मूल्यमा दिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो “हेर्दा सामान्यजस्तो देखिए पनि हाम्रो धेरै पैसा विदेसिएको छ । समयमै सरकारले सरकारले सोच्नुपर्छ ।”

    दानामा प्रयोग हुने भटमासको पिना, अमेरिका, ब्राजिललगायतका देशबाट ल्याइन्छ भने मकै मुख्यरुपमा भारत र अन्य देशबाट समेत आउने गरेको छ । दानामा मकै, भटमासका अतिरिक्त गोटी ढुटो, तोरीको पिना, क्याल्सियम र औषधि प्रयोग हुने गर्दछ । ती वस्तु पनि विदेशबाटै आयात हुने गर्दछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.