सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको गणेशधाममा तलाउ निर्माण गरिँदै


  •    न्युजभित्तो/१९ पुष २०७७, आईतवार ०८:१० 
  • भरतपुर, १९ पुस । कोरोनाका कारणले रोकिएको गणेशधाम निर्माणले गति लिनथालेको छ । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न लागिएको धाममा तलाउ र मन्दिरको जिर्णोद्धार धमाधम गर्न लागिएको हो । तलाउको बाँध निर्माणका लागि वाग्मती प्रदेश सरकारले रु पाँच करोड ७५ लाखको बोलपत्र आह्वान गरेको छ । भरतपुर महानगरपालिका–११ स्थित गणेशस्थान मन्दिर क्षेत्रलाई गणेशधामका रूपमा विकास गर्न दुई वर्ष अघिबाट काम शुरु गरिएको थियो ।

    गणेशस्थान संरक्षण सम्बद्र्धन समितिका संरक्षक एवं प्रदेशसभा सदस्य विजय सुवेदीले पुण्यावती तलाउ बाँधको काम प्रदेश सरकारको बजेटमा करिब डेढ वर्षमा सम्पन्न हुने बताउनुभयो । उहाँले यो योजना भरतपुरको गौरवको योजनासमेत भएको बताउनुभयो ।

    गणेशस्थान संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष दिनेश चुकेले धामको गुरुयोजनाअनुसार अहिले गणेशधाम परिसरमा कैलाश पर्वत बनाउने, तलाउको वरिपरि ‘आइल्याण्ड’ बनाउने लगायतका कामहरु शुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण केही काम ढिला भए पनि अहिले कामले गति लिएको छ ।” गत चैतदेखि जेठसम्म धाममा खासै काम नभए पनि असारबाट तलाउको वरिपरि ७० वटा बेञ्च राखेर कामलाई गति दिने प्रयास गरिएको उहाँले बताउनुभयो ।

    दुई दशमलव ४३ हेक्टर क्षेत्रफलमा रहेको मन्दिरलाई धाम निर्माण गर्न थप ३० हेक्टर क्षेत्रफल विस्तार गरेर पूर्वाधार निर्माण भइरहेको छ । गणेशस्थान क्षेत्र विकासका लागि बनाइएको डिपिआर ९विस्तृत परियोजना प्रतिवेदन० अनुसार रु ८० करोड रुपैयाँमा गणेशधाम तयार गरिने योजना छ ।

    महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलमध्ये एक गणेशस्थानमा रहेको पौराणिक इनार पाल्पाका राजा मणिमुकुन्द सेनको पालामा बनेको विश्वास गरिन्छ । विसं २०१४ मा रूखमुनि फेला पारिएको गणेशको अर्धकद मूर्ति स्थापना गरेर मन्दिर निर्माण गरिएको बताइन्छ । मन्दिर परिसरमा सरस्वती, मनकामना, सन्तोषी, विश्वकर्मालगायतका मन्दिर छन् ।

    धामका रूपमा विकास गर्न ३० फिट अग्लो गणेश मूर्ति, जलविनायक, शिव–पार्वती, कुमारको मूर्तिसमेत बनाउने गरी डिपिआर बनेको थियो । यसैगरी धाम क्षेत्रमा व्यवस्थित पार्किङ, पिकनिक स्पट, बोटानिकल गार्डेन, धर्मशालालगायत निर्माण हुने योजना छ । धाममा योगा तथा धार्मिक कार्यक्रम सञ्चालन गर्न हल पनि निर्माण हुनेछ । गणेशस्थानदेखि देवघाटको दूरी पाँच किलोमिटर छ । धामका रूपमा विकास गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने संरक्षण समितिको विश्वास छ । मन्दिर परिसर आडैमा पुण्यावती खोला छ । ऐतिहासिक महत्वको गणेशस्थान पछाडिका वन क्षेत्रलाई समेटेर बनाउन थालिएको धाम धार्मिक क्रियाकलापका लागि मात्र नभई जिल्लाकै पर्यटक स्थल बन्ने संरक्षण तथा सम्बद्र्धन समितिको विश्वास छ ।

    पच्चीस बिघा क्षेत्रफलमा बन्ने तलाउ पुण्यावती खोलाको पानी बाँध बाँधेर बनाउन लागिएको हो । तलाउ वरपर हिँड्न र साइकल चलाउन मिल्ने बाटो पनि निर्माण हुँदैछ । केन्द्रीय तथा प्रदेश सरकार, स्थानीय तह, सङ्घसंस्था तथा व्यक्तिगत सहयोग सङ्कलन गरी पाँच वर्षभित्र धाम निर्माण गरिसक्ने लक्ष्य थियो । पाँच वर्षमा दुई वर्ष बितिसकेको छ । गणेशधाम संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष चुकेले कुनै अवरोध नभएमा अबको तीन वर्षमा धाम निर्माणको सम्पूर्ण काम सकिने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.