सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याग्दीमा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट


  •    न्युजभित्तो/१६ पुष २०७७, बिहीबार १०:४६ 
  • म्याग्दी, १६ पुस। म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो ।

    मौवाफाँट, पिप्ले र बेग मध्ये कहाँ अस्पताल बनाउने भन्ने विषयमा जनप्रतिधिबीच सहमति जुट्न नसकेपछि निर्णयका लागि गाउँसभामा मतदान गराइएको थियो ।

    प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँसभा सदस्यको बहुमतबाट बेगमा अस्पताल निर्माण गर्ने निर्णय भएको जानकारी दिए । “४२ जना गाउँसभा सदस्यमध्ये सभामा ३५ जनाको उपस्थिति थियो”, उनले भने, “मतदानमा सहभागी ३० मध्ये २६ जनाले बेग र चार जनाले मौवाफाँटको पक्षमा मत हाल्नुभएको थियो ।”

    बहुमतबाट स्थान छनोट गर्ने निर्णयमा वडा नम्बर ३ पिप्लेका वडाध्यक्ष जीवनकुमार मल्ल र तीन जना जनप्रतिनिधिले फरक मत राखेका छन् । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले मत जाहेर गर्न नपरेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो ।

    विसं २०७७ कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाको केन्द्रमा व्यवस्थापन गरेको जग्गामा १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।

    मौवाफाँटमा अस्पताल बनाउने आशयले निर्णय गरिए पनि स्वास्थ्य मन्त्रालयले पछिल्लोपटक अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्यचौकीको सूचीमा पिप्ले स्वास्थ्यचौकीलाई राखेको थियो । ठाउँको विवादका कारण मङ्सिर १५ गते तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेको थिएन । बेगको देउरालीमा अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले नौ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको वडाध्यक्ष बिलप्रसाद फगामीले बताए । लोकबहादुर, हिमबहादुर र मेजन फगामीले पाँच रोपनी तथा देउबहादुर, टुकबहादुर, दानबहादुर पुर्जा र जीतबहादुर गर्बुजाले चार रोपनी जग्गा उपलब्ध गराएका छन् ।

    गाउँसभाले वडा नम्बर ३ लाई विभाजन गरेर दुई वटा वडामा कायम गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मालिका, अक्षता, कलेजाबाङ, फूलबारी, मौवाफाँट र कुदबाङ क्षेत्रलाई समेटेर नयाँ वडा कायम गर्न प्रदेश सरकारमार्फत सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

    त्यसैगरी गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि रघुगङ्गा नदीबाट पारि रहेका भूगोललाई समेटेर थप नयाँ गाउँपालिका बनाउनको लागिसमेत अनुरोध गर्ने निर्णय गाउँसभाले गरेको छ । वडा नम्बर ५ झिँ, वडा नम्बर ६ पाखापानी र वडा नम्बर ८ को कुइनेबस्तीलाई समेटेर पाखापानीमा केन्द्र रहने गरी नयाँ गाउँपालिका माग गर्ने निर्णय भएको छ ।

    पाखापानीलाई दुई वडामा विभाजन गर्ने, धौलागिरि गाउँपालिकाको वडा नम्बर ५ र बेनी नगरपालिकाका–१० लाई समेत प्रस्ताव गरिएको नयाँ गाउँपालिकामा समावेश हुनका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध र समन्वय गर्ने सभाले निर्णय गरेको छ । मौवाफाँटमा व्यवस्थापन भइरहेको जग्गामा प्रशासकीय भवन निर्माण कार्यलाई अघि बढाउने निर्णय गरेको छ । भवन निर्माणमा जिल्ला समन्वय समितिमार्फत रु ६० लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले रु २० लाख बजेट विनियोजन गरेको छ ।

    प्रशासकीय भवन निर्माणमा प्रदेश सरकारले रु एक करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रु नौ करोडसम्म बजेट उपलब्ध गराउन सक्ने कार्यविधि छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.