सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज १२औँ गणतन्त्र दिवस, यस्तो छ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको सन्देश


  •    /१५ जेष्ठ २०७६, बुधबार ०८:२४ 
  • काठमाडौँ । आज १२औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । जनआन्दोलन २०६२/०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । २३८ वर्ष लामो शाह वंश राजपरम्परा अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउँदै आइएको छ । आजको दिन १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको थियो ।

    गणतन्त्र स्थापनापछि नेपालको संविधान घोषणा गर्नै ७ वर्ष लाग्यो । गत निर्वाचनबाट मात्र देशले स्थिर सरकार पाएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अहिले मुलुकमा तीन तहका गरि ७६१ सरकार छन् । वर्तमान सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएर अगाडि बढेको छ । तीन तहका सरकारसँग जनताका धेरै आशा र अपेक्षा छन् । राजनीतिक स्थिरतासँगै मुलुकले आर्थिक समृद्धिको लय समात्न सकेमा गणतन्त्र बलियो बन्दै जान्छ ।

    राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

    समृद्धिको अपेक्षा साकार पार्नु सामूहिक उत्तरदायित्व : राष्ट्रपति

    राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताउनुभएको छ । बाह्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वास व्यक्त गर्नुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश अहिले सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटामा रहेको पनि उहाँले बताउनुभएको छ ।

    सबै नेपालीको समृद्धिको अपेक्षा साकार पार्नु सबैको सामूहिक उत्तरदायित्व भएको बताउँदै उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक सङ्कल्प पूरा गर्ने दिशामा सरकार अग्रसर भएको उल्लेख गर्नुभएको छ । यस दिवसले सबै नेपालीलाई राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    अबको साझा एजेण्डा संविधानको सफल कार्यान्वयन : उपराष्ट्रपति

    उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र दिवस, २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै त्याग र बलिदानको गौरवपूर्ण इतिहास र अहिलेसम्म प्राप्त उपलब्धिका लागि सबै नेपालीलाई बधाईसहित सम्मान व्यक्त गर्नुभएको छ । बाह्रौँ गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाली जनताले सात दशकदेखि राजनीतिक सङ्घर्ष गरेको उल्लेख गर्नुभयो । सशस्त्र सङ्घर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको सफलता नै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता अग्रगामी राजनीतिक परिवर्तनहरू भएको उहाँले उल्लेख गर्नुभयो । ‘नेपालको संविधान–२०७२’ ले ऐतिहासिक सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गरेको सन्देशमा उल्लेख छ ।

    नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा नेपालमा दिगो शान्ति, सुशासन कायम गर्दै दिगो आर्थिक विकाससहितको समृद्ध राष्ट्र निर्माणको बाटो रोजेको उहाँले बताउनुभएको छ । नेपालीको अबको साझा एजेण्डा संविधानको सफल कार्यान्वयन, बलियो राष्ट्रिय एकता र प्रत्येक नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माण भएको सन्देशमा उल्लेख छ । ‘संविधानको सफल कार्यान्वयन गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, नेपाली जनताको स्वतन्त्रता र स्वाधीनतालाई अझै सुदृढ गरी राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ’, सन्देशमा भनिएको छ । समाजवादउन्मुख अर्थ व्यवस्थासहितको नेपाली जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न सरकार, सबै राजनीतिक दल तथा सबै पक्षको कर्तव्य भएको विज्ञप्तिमा उल्लेख छ ।

    गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले विकासका लागि हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास र कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा भएको उल्लेख गर्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने सङ्कल्प हामीले लिएका छौंँ । यस सङ्कल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ । त्यसका लागि विभिन्न, पेशा, क्षेत्र र व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ ।”

    प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसले नेपालीलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको तथा गणतान्त्रिक संस्थाहरूको मर्यादा र गणतान्त्रिक प्रक्रियाको सम्मान गर्न सिकाएको बताउँदै गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली भएको स्पष्ट गर्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको तथा गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्ध सरकार केन्द्रित रहेको बताउनुभएको छ । “गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन् ”सन्देशमा भनिएको छ ।

    वर्तमान प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपालसुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न अग्रसर भएको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

    (तस्विर : जनआन्दोलन २०६२/०६३ मा सडकमा आएका जनता ।)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री वालेन्द्रका प्रमुख राजनीतिक सल्लाहकार अशिम साह केन्द्रीय सदस्य उम्मेदवार
    मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून
    रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ
    • मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण
    • रास्वपा महाधिवेशन: बन्दसत्र सुरु
    • गुटउपगुटमा नलाग्न सभापति लामिछानेको निर्देशन
    • सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.