सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालको मानव विकास सूचकाङ्कमा सुधार


  •    न्युजभित्तो/२८ मंसिर २०७७, आईतवार १३:४२ 
  • काठमाडौँ, २८ मङ्सिर । नेपालको मानव विकास सूचकाङ्कमा सुधार देखिएको छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सार्वजनिक गरिएको मानव विकास प्रतिवेदन, २०२० मा नेपालको अवस्थामा सुधार आएको हो ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले आज संयुक्तरुपमा सार्वजनिक गर्नुभएको प्रतिवेदनमा नेपाल अब मध्यम मानव विकासको सूचकाङ्कको स्तरमा पुगेको उल्लेख गरिएको छ ।

    यसअघि युएनडिपीकोतर्फबाट विश्वव्यापी मानव विकास प्रतिवेदन सार्वजनिक हुँदै आएको भए पनि नेपाल विशेष प्रतिवेदन प्रकाशन भने नियमितरुपमा प्रकाशित हुन सकेको थिएन । आयोगका अनुसार छ वर्षपछि नेपालले मानव विकास सूचकाङ्कसम्बन्धी प्रतिवेदन प्रकाशनमा ल्याइएको हो ।

    प्रतिवेदन अनुसार लैङ्गिक विकास सूचकाङ्क, लैङ्गिक असमानता सूचकाङ्क र मानव विकास सूचकाङ्कमा नेपाल दक्षिण एशियाका केही देशभन्दा अगाडि रहेको र सरकारले गरेको लगानीको प्रतिफल देखिएको छ । स्तरोन्नतिका लागि प्रमुख मानिएको आय मापदण्डमा नेपाल पछाडि रहेकोे भए पनि मानव सम्पत्ति र आर्थिक जोखिमको दुई अत्यावश्यक मापदण्ड भने पूरा भएको छ । यति हुँदाहुँदै पनि केही जोखिम र चुनौती भने कायम रहेको प्रतिवेदनमा स्पष्ट पारिएको छ ।

    नेपालको विशेषगरी ग्रामीण र शहरी क्षेत्र तथा प्रदेशबीच मानव विकासमा असमानता रहेको छ । स्तरोन्नतिको मापदण्डलाई आधार मानेर प्रदेशस्तरको तुलना गर्दा वाग्मती प्रदेशबाहेक अरु प्रदेश औसतभन्दा पछाडि रहेका छन् ।

    आयको तुलनतामा प्रदेशबीच मानव सम्पत्तिमा भिन्नता रहेको छ । तर प्रदेश नं २ मानव सम्पत्ति निर्माण्मा पछाडि रहेको छ । वाग्मती प्रदेशको प्रतिव्यक्ति आय मात्र राष्ट्रिय औसतभन्दा माथि रहेको छ । कर्णाली प्रदेश, प्रदेश नं २, सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय वाग्मती प्रदेशको प्रतिव्यक्ति आयको क्रमशः २९ प्रतिशत, ३३ प्रतिशत र ३१ प्रतिशत रहेको छ ।

    अतिकम विकसित राष्ट्रका समावेशीकरण र स्तरोन्नति मापदण्डमा दुई लगातार त्रैवार्षिक समीक्षामा तीनमध्ये कम्तीमा पनि दुई वटा मापदण्डको थ्रेसहोल्ड पूरा गर्नुपर्ने हुन्छ । यस्तै प्रतिव्यक्ति आयको थ्रेसहोल्डभन्दा कम्तीमा दुई गुणा बढी भएमा एक मापदण्ड पूरा गर्दासमेत प्रर्पाप्त हुने देखिन्छ ।

    जोखिमका हिसाबले नेपाल संवेदनशील अवस्थामा नै छ । वैदेशिक प्रत्यक्ष लगानीसहितको व्यापार र विकास वित्तमा अन्तरराष्ट्रिय सहयोग उपायमा मध्यम प्रभावको बाबजुद स्तरोन्नतिबाट केही क्षेत्रमा नकारात्मक प्रभाव पर्नसक्ने देखिएको छ ।

    प्रमुख संरचनात्मक र संस्थागत अवरोध, नीति अन्तर र अन्य जोखिमले दिगो मानव विकास र स्तरोन्नतिप्रति ठूलो चुनौती स्वास्थ्य र शिक्षामा पहुँच र गुणस्तर, संरचनात्मक र स्थान विशेष अवरोध रहेको प्रतिवेदनमा समावेश गरिएको छ ।

    त्यस्तै कम उद्यमशीलता क्षमता, ठूलो पूर्वाधारमा रहेको अन्तर र जानसाङ्ख्यिक लाभांश प्राप्त गर्न अक्षम रहेको उल्लेख छ । अर्थ व्यवस्थाको कम सकारात्मक परिवर्तनले उत्पादशील आधार अर्थ व्यवस्थाको क्षमता विकासमा बाधक देखिएकोसमेत प्रतिवेदनमा समेटिएको छ ।

    उत्पादनका साधनमा स्वामित्व, सम्पत्तिमा पहुँच, अवसरमा पहुँच र वितरण लाभजस्ता विषयमा पनि असमानता छ । त्यस्तै श्रम बजार र रोजगारीको क्षेत्रमा पनि उच्च प्रकारका जोखिम रहेका छन् । मानव विकास र स्तरोन्नतिका लागि कोरोनाको प्रभाव पर्नसक्ने देखाएको छ ।

    कोरोनाका कारण आगामी वर्षमा मानवीय सम्पत्ति र आर्थिक उपलब्धि थप जोखिममा पर्नसक्ने सङ्केत प्रतिवेदनमा समावेश गरिएको छ । अपर्याप्त स्वास्थ्य पूर्वाधार, मेडिकल आपूर्ति अवरोध र अन्य रोगबाट प्रताडित व्यक्तिलाई थप जोखिम रहेको उल्लेख गर्दै प्रतिवेदनमा गरिब घर परिवारका बालबालिका शारीरिक विकास र मस्तिष्क विकासको मामिलामा उच्च जोखिमको सामना गर्नुपर्ने तथा विद्यालय देशव्यापी बन्द भएपछि लाखौँ विद्यार्थीको शिक्षामा अवरोध आएको उल्लेख्य गरिएको छ ।

    समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन एवं दीर्घकालीनरुपमा राहत तथा आर्थिक पुनरुत्थान उत्पादनशील रूपान्तरण जरुरी रहेको प्रतिवेदनले सुझाव दिएको छ । अर्थतन्त्रको उत्पादनशील रूपान्तरणको बाटोमा ठोस रूपमा अघि बढ्नुपर्ने, आपूर्ति र माग पक्ष दुवै ठूलो रणनीतिक परिवर्तन गर्ने, उच्च उत्पादन र उत्पादकत्व बढाउने कुरामा ध्यान दिन सुझाव दिइएको छ ।

    उद्यमशीलता क्षमता र उत्पादन सम्बन्धसहित संस्थागत क्षमताको सुदृढीकरण गर्ने, उत्पादनशीलता अभिवृद्धि गर्न लैङ्गिक समानता, मानव संशाधन विकास र सुशासन जस्ता विषयमा ध्यान दिन सुझाव दिइएको छ ।

    उत्पादक क्षमतासँग जोडेर लगानीको संरचनामा परिवर्तन ल्याउने, रोजगारी, ज्याला र वितरणात्मक प्रणालीबाट क्रयशक्ति बढाउने तथा उत्पादन सम्बन्धका साथै बजार सञ्जाललाई प्राथमिकता दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थशास्त्री डा डिल्लीराज खनालले जोखिम देखिएका क्षेत्रको सुधारमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा कँडेलले प्रतिवेदनले नेपालको वास्तविक अवस्थाको चित्रण गरेको भन्दै सुधार गर्नुपर्ने क्षेत्र तथा विषयमा सरकारले इमान्दार प्रयास गर्ने बताउनुभयो ।

    अर्थमन्त्री पौडेलले प्रतिवेदनमा देखाइएका जोखिमलाई कम गर्दै त्यसमा दिइएका सुझावलाई सरकारले ग्रहण गरेर कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले नेपालको समग्र विकास एवं मानव विकासको स्तरलाई माथि लैजानका लागि सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा सुझाव महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिवेदन तयार पार्ने समूहलाई समेत धन्यवाद दिनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने
    ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने
    सञ्चार मन्त्रालयद्वारा कार्यप्रगति सार्वजनिक: प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार
    • बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    • नेप्से परिसूचक २६ अङ्कले घट्यो
    • गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.