सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पैतालीस वर्षदेखि लालपूर्जाविहीन


  •    न्युजभित्तो/२१ मंसिर २०७७, आईतवार १५:५० 
  • पराजुली, काभ्रेपलाञ्चोक, २१ मङ्सिर। पैतालीस वर्षदेखि लालपूर्जाविहीन भुम्लु गाउँपालिकास्थित–२ वडाका एक हजारभन्दा बढी बासिन्दाले अझै आफ्नो जमिनको जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) पाउन सकेका छैनन् ।

    करिब एक वर्षअघि मालपोत र नापी कार्यालयबाट फिल्ड कार्यालय व्यवस्थापन गरी कर्मचारी खटाईए पनि विविध कारण देखाइ प्रक्रिया पुनःसञ्चालन नगर्दा स्थानीयवासीमा अन्योल छाएको हो । साविकको भुम्लुटार र फलाँटे गाउँविकास समितिबीचको सिमाना विवादका कारण ४५ वर्षदेखि यी दुई गाविसका सर्वसाधारणले हालसम्म पनि आफूले प्रयोग गर्दै आएको जग्गाको लालपूर्जा प्राप्त गर्न नसकेका हुन् ।

    नापी र मालपोत कार्यालयका कर्मचारीले दुई वडाको सिमाङ्कनको काम सञ्चालन नगर्दा अन्योलता छाएको वडा न ७ का बासिन्दा रमेश खरेलले बताउनुभयो । “कर्मचारी पनि नियमित उपस्थित हँुदैनन्, विभिन्न बहाना देखाएर प्रक्रिया शुरु नगर्दै लम्ब्याइएको छ”, उहाँले भन्नुभयो ।

    विवरण अनुसार साविकको पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा खेतयोग्य जमिन परेपछि त्यो जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण टोली फर्किएको थियो । विसं २०३२ मा विवाद भएपछि २०३५ सालमा पुनः नापी टोली उक्त गाविसमा जाँदा सिमानाको विषयमा दुई गाविसबीच झगडा भएपछि लालपूर्जा वितरणको काम रोकिएको भुम्लु–८ का बासिन्दा चित्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

    विसं २०७१ माघ महिनामा नापी कार्यालयले गाउँमै स्थानीयवासीको निवेदन सङ्कलन र जग्गाको फिल्ड निरीक्षण, कित्ताकाट, जग्गाको फिल्ड–बुक कायम गर्दै लालपूर्जा तयार पार्ने काम शुरु गरे पनि विविध कारणले समस्या समाधान गर्न भने सकेको थिएन । कार्यालयले २०३२ सालमा तयार गरेको नापी–नक्शा तथा फिल्डबुक अनुसार हाल अधिकांश जमिनमा भोग गर्ने व्यक्ति र क्षेत्रफल फरक रहेको जनाउँदै आएको छ ।

    कार्यालयका अनुसार स्थानीयवासीले पूर्जाको लागि निवेदन दिए पनि अधिकांश निवेदनमा जग्गाको फिल्डबुकसँग जोडिने कुनै प्रमाण छैन । मालपोत कार्यालय प्रमुख लोकबहादुर भण्डारीले उच्चस्तरीय विशेष आयोगबिना भुम्लुको समस्या समाधान गर्न नसकिने बताउनुभयो ।

    उहाँले जिल्लास्थित नापी र मालपोत कार्यालयबाट मात्रै सम्भव नदेखिएकाले सम्बन्धित मन्त्रालय, तहगत सांसद तथा स्थानीय जनप्रतिनिधिको समन्यवमा समस्या समाधान गर्न आफु प्रक्रियामा जाने बताउनुभयो ।

    यसैबीच पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लालपूर्जा वितरण प्रक्रियाबारे शुक्रबार स्थलगत जानकारी लिनुभएको छ । उहाँले स्थानीयवासीलाई यसबारे मन्त्रिपरिषद्मा जानकारी गराइएको तथा सम्बन्धित मन्त्रालयमा समस्या समाधनका लागि उपयुक्त बाटो पहिल्याउने जिम्मा दिइएको बताउनभयो । “यसबारे छलफल भइरहेको छ, जिल्लास्तरमा आयोग गठन भएपछि प्रक्रियाको काम शुरु हुन्छ”, बाँस्कोटाले भन्नुभयो ।

    वडा नं ८ का अध्यक्ष मोतिलाल तामाङले गाउँपालिकाको वडा नं ७ का ३६५ र ८ नं वडाका ५८९ पीडित परिवारसँग ४५ वर्षदेखि आफ्नो जमिनको लालपूर्जा नभएको जानकारी दिनुभयो । उहाँका अनुसार नापी र मालपोत कार्यालयका कर्मचारीले स्थानीय जनप्रतिनिधिको समन्वयमा काम गर्न सकिरहेका छैनन् । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.