सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘संक्रमण घटेको तथ्यांकले झुक्याइरहेको छ, कोरोना जोखिम टरेको छैन’ : डा. अनुप सुवेदी


  •    न्युजभित्तो/१९ मंसिर २०७७, शुक्रबार १७:०३ 
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांक हेर्दा लाग्छ, नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण निरन्तर घटेको छ । महामारी नियन्त्रणका लागि सरकारले गज्जब काम गरिरहेको प्रतीत हुन्छ ।

    नेपालमा साँच्चै कोरोना महामारीको जोखिम टरेको हो त रु हामी संक्रमणको कुन अवस्थामा छौं रु तथ्यांकभित्रको वास्तविकता के हो रु यी विषयमा संक्रामक रोग विशेषज्ञ डा। अनुप सुवेदीसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंशः

    कुनै समयको दैनिक ५७ सयभन्दा बढी संक्रमित संख्या अहिले घटेर १३–१४ सयमा झरेको सरकारी तथ्यांक छ । संक्रमण दर घटेकै हो त र?

    संक्रमण घटेको हो वा होइन भन्नु भन्दाअघि कोरोना परीक्षणको ट्रेण्डबारे केही कुरा शेयर गर्न चाहन्छु ।

    सुरुसुरुमा शंका लाग्यो भने पनि परीक्षण गर्नेहरु धेरै थिए । त्यसपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए दौडिएर टेष्ट गर्न जाने ट्रेण्ड देखियो । त्यसबेला टेष्टका लागि आउनेमध्ये आधाआधीमा लक्षण हुन्थ्यो ।

    अहिले परीक्षण गर्नेहरुमा लक्षण भएका कम छन् । मानौं, पाँच हजार जनाको परीक्षण भएको छ भने मुश्किलले एक हजार जनामा लक्षण हुन्छ । लक्षण देखिनासाथ अस्पतालका फिभर क्लिनिकहरुमा आउनेहरु कम भएका छन् ।

    म कार्यरत ह्याम्स अस्पतालको फिभर क्लिनिकमा पनि २–३ दिन ज्वरो आएका, खोकी लागेका बिरामी कमै आउँछन् । ३–४ दिनमा ज्वरो कम भयो, तर ७–८ दिनमा फेरि गाह्रो भयो भनेर आउनेहरु धेरै बढी छन् । कति त पीसीआर टेस्ट नगरी घरमा अक्सिजन लगाएर बसेका छन् । गाह्रो भएपछि अस्पताल आउँदा सिधै आईसीयूमा राख्नुपर्छ ।

    परीक्षणमा ध्यान नदिँदा धेरै मानिसले दुःख पाएका छन् । लक्षण देखिनासाथ परीक्षण गराए आईसीयूमा भर्ना हुनुपर्ने अवस्था नआउन सक्थ्यो, कतिपय मृत्यु टार्न सकिन्थ्यो ।

    धेरै ढिलो अस्पताल पुग्दा देखिने अर्को समस्या भनेको पीसीआर टेष्टमा भाइरस नदेखिनु पनि हो । किनकी, सुरुका केही दिनमा पीसीआरको ‘सेन्सिटिभिटी’ धेरै हुन्छ । लक्षण देखिएको दोस्रो हप्तामा टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आउनसक्छ ।

    पीसीआर नेगेटिभ आएपनि कोभिडका लक्षणहरु देखिएका छन् भने कोभिडकै उपचार गर्नपर्छ । कोभिड निमोनियाले सिकिस्त भएकालाई अरु निमोनियामा जस्तो एन्टिबायोटिक्स दिन मिल्दैन, एन्टिभाइरल नै दिनपर्छ ।

    यो बेला त स्वास्थ मन्त्रालय, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मानिसहरु किन लक्षण देखिँदा पनि टेष्ट गर्न आएनन् रु यसको कारण पीसीआर टेष्टको मूल्य हो कि अरु केही छ रु भनेर अध्ययन गर्ने, त्यसलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्ने हो ।

    टेष्टको मूल्य धेरै भएकै कारण समयमै परीक्षण गरिरहेमा छैनन् भने अनेक उपाय खोज्न सकिन्छ । डाइरेक्ट पीसीआर गरेर मुल्य घटाउन सकिन्छ । यो संसारभर प्रयोग भइरहेको छ । यसका लागि जनशक्तिलाई तालिम चाहिन्छ भने सहयोग गर्छौ भनेर विदेशस्थित नेपाली विज्ञहरुले भनिरहेका छन् ।

    सरकारी तथ्यांकमा संक्रमितको संख्या कम देखिनुको अर्को कारण हो, बाध्यतात्मक परिस्थितिमा परीक्षण गर्नेहरुको संख्या । विदेश जान, परीक्षा दिन पीसीआर नेगेटिभ चाहिने भएपछि उनीहरुले टेष्ट गराएका छन् । संक्रमितको संख्या कम देखिनुमा यस्ता कारणहरुले काम गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले त संक्रमण दर २५ बाट १५ प्रतिशतमा झर्नुले संक्रमण घटेको प्रष्ट पार्छ भनिरहेका छन् नि ?

    पहिलो कुरा, सही जनसंख्यामा परीक्षण भइरहेको छ त भनेर हेर्नपर्छ । सही जनसंख्या भनेको लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका सबै भन्ने बुझ्नुपर्छ । त्यसो गर्दा संक्रमण दर ३ प्रतिशतभन्दा कम भयो भने परीक्षण पर्याप्त छ, संक्रमण नियन्त्रणमा छ भन्ने बुझ्नुपर्छ ।

    दक्षिण कोरियामा संक्रमण दर ३ प्रतिशतभन्दा कम हुनथालेपछि महामारी घट्न थाल्यो । यो सब परीक्षणले मात्र भएको भने होइन, कन्ट्याक्ट ट्रेसिङ, जनस्वास्थ्यका मापदण्ड पालना गरेर हो । हामीकहाँ भने आधारभूत काम समेत हुन सकेको छैन ।

    त्यसो भए सरकारी तथ्यांक हेरेर महामारीलाई कसरी विश्लेषण गर्न सकिन्छ त र ?

    हामीसँग तथ्यांकको पारदर्शिता र विश्वसनीयतामा सुरुदेखि नै समस्या छ । कुनै बेला स्वास्थ्य मन्त्रालयले देशभर भेन्टिलेटरमा २० जना बिरामी छन् भन्थ्यो । तर हामी कहाँ भेन्टिलेटर खाली हुँदैनथ्यो । आफ्नो साथी भएका ३–४ वटा अस्पतालमा फोन गर्दा त्यही अवस्था पाउँथ्यौं । ३–४ वटा अस्पतालमै २० भन्दा बढी संक्रमित भेन्टिलेटरमा हुन्थे ।

    अहिले पनि तथ्याकंमा संक्रमण घटेको देखिन्छ । दैनिक भेटिने संक्रमितको संख्या पहिलेभन्दा कम छ । मैले अघि नै भने, लक्षण देखिए पनि परीक्षण नगर्ने, परीक्षण नै नगरी घरमा अक्सिजन लगाएर बस्नेहरु बढेका छन् । यसरी बस्दा श्वासप्रश्वासमा समस्या भयो वा गाह्रो भयो भनेर अस्पताल ल्याउँदाल्याउँदै कतिपयको मृत्यु हुन्छ । उनीहरुको पनि टेष्ट हुन छाडेको छ ।

    यसमा धेरै पक्षको चाहना मिल्यो । सरकारलाई बढेको तथ्यांक नदेखाउन पाए हुन्थ्यो भन्ने लागेको छ । संक्रमितलाई परीक्षण गरेपनि, नगरेपनि १४ दिन आइसोलेसनमा बस्नैपर्छ, टोलछिमेकमा गाह्रो हुन्छ भन्ने लागेको छ ।

    यस्तो अवस्थामा आएको तथ्याकंको आधारमा संक्रमण घटेको कसरी मान्ने रु के विश्लेषण गर्ने रु त्यसैले, जे भइरहेको छ, राम्रो भइरहेको छैन ।

    त्यसो भए त जसलाई गाह्रो हुन्छ, अस्पताल जान्छ भनेर संक्रमित र मृतकको संख्या गन्न, भन्न छाडे पनि भयो नि ?

    संक्रमित र मृतकको सही तथ्यांक गन्न र भन्नका लागि मात्र होइन, महामारीको चरण थाह पाउनको लागि पनि हो । संक्रमण कति समय सहला रु नियन्त्रणमा कस्तो रणनीति अपनाउने ? महामारीबीच अर्थतन्त्रलाई कसरी अगाडि बढाउने रु भन्ने जस्ता प्रश्नहरुको उत्तर खोज्न सही तथ्यांक चाहिन्छ ।

    स्वास्थ्य मन्त्रालयले बेलाबेला भन्छ नि, नेपालमा संक्रमितको संख्या यति पुग्नसक्छ । यो मोडलिङका आधारमा निकालिन्छ । त्यसकै आधारमा संक्रमण कहिले पिकमा पुग्न सक्छ ? त्यसबेला स्वास्थ्य सामग्री कति चाहिन्छ रु अस्पतालहरुमा कति वेड चाहिन्छ रु भन्ने अनुमान गरिन्छ । मोडलिङमा प्रयोग गरेकै तथ्यांक गलत भयो भने हामी फेल खान्छौं ।

    सही तथ्यांककै आधारमा संक्रमण, मृत्यु र महामारीको भविष्यवाणी गर्न सकिन्छ । तर, हाम्रा निकायहरुले कसैलाई सूचना नै नचाहिने जस्तो गरेका छन् ।

    राज्यसत्तामा बसेकाहरुलाई सही सूचना आओस्, त्यसले भइरहेको कामलाई सफल बनाउन मदत गर्छ भन्ने लाग्दैन । त्यसैले कम सूचना आएको छ । अन्यथा, नेपाली सेना र स्वास्थ्य मन्त्रालयले दिएको मृतकको संख्यामा त्यत्रो फरक पर्दा कसरी त्रुटि भयो भनेर हेरिन्थ्यो होला नि १

    स्वास्थ्य मन्त्रालयलाई त्रुटि थाहा भएर पनि यसअघि छुटेका मृतकको संख्या एकै पटकमा समेट्नुको साटो हरेक दिन केही संख्या थप्ने गरेको छ । यो त एउटा गल्ती लुकाउन हजार गल्ती गरे जस्तो भएन रु

    यो धेरै ठूलो गल्ती हो । राजनीतिक नेतृत्वको जवाफदेहीतामाथि नै प्रश्न हो । सत्तामा बस्नेहरुले सही सूचनाका आधारमा नीति बनाउने हो, निर्णय लिने हो । पारदर्शिता भयो भने जनताले पत्याउने हो ।

    तर, हामी कहाँ सही सूचना लिएर नीति बनाउने आँट भएन, जवाफदेही हुन पनि परेन । फेरि, पारदर्शिता, जवाफदेहीको प्रश्न उठाउने पनि कति नै छौं र

    कोरोना संक्रमणले भयावह रुप लिँदै गर्दा सरकारले प्रयास गर्दा गर्दै नभएको होला भनेर विज्ञहरुले पनि सरकारलाई समर्थन नै गरे । आजको मितिसम्म आइपुग्दा त सरकारले गर्नै नसकेको, नगरेको रहेछ भन्ने देखियो नि ?

    संक्रमण पिकमा पुगेर क्रमशः कम भएपछि इटाली र स्पेनले गरेको सेरोप्रिभेलेन्स स्टडीले ६–७ प्रतिशत मानिस संक्रमण भएको र बाँकी जोखिममा रहेको देखायो । त्यसबेला हामीलाई विश्वास लागेको थिएन । अहिले आएर विश्वास गर्न सकिने भयो, किनकी त्यहाँ अहिले सेकेण्डरथर्ड वेभ आएको छ । धेरै मानिस अझै जोखिममा छन् । तर उनीहरु पहिलेभन्दा धेरै राम्रो तयारी गरेर बसेका छन् ।

    स्वीडेनले लकडाउन नगर्ने गलत नीति लियो । त्यसैले, त्यहाँ छिमेकी देश फिनल्याण्डमा भन्दा ५–१० गुणा बढी संक्रमित भए । मृत्युदर पनि बढी देखियो । स्वीडेनको सेरोप्रिभेलेन्स स्टडीले १५ प्रतिशत मानिस संक्रतित भएको देखाएको छ । त्यसरी हर्ड इम्युनिटी भनेर छोड्दा गाह्रो हुनेरहेछ ।

    खासै काम नगरेकाले हाम्रो पनि स्वीडेनको जस्तै होला कि भन्ने डर छ । सही तथ्यांक उपलब्ध नहुँदा संक्रमणको अवस्था ठ्याक्कै यो छ भन्न सकिन्न । कति चाहिँ भन्न सकिन्छ भने, नेपालमा धेरै संक्रमित छन्, जोखिम समूहमा पनि धेरै छन् र महामारीले अझै लामो समय लिन्छ ।

    महामारी नियन्त्रण गर्न वा कर्भलाई तल झर्दै लैजान कि सरकारले एकदमै प्रभावकारी काम गर्नुपर्छ कि त महामारी व्यापक रुपमा फैलिएर हर्ड इम्युनिटी विकास हुनुपर्छ । तर, हामीकहाँ सरकारले प्रभावकारी काम पनि गर्न सकेको छैन, हर्ड इम्युनिटी विकास भइसक्ने अवस्थामा पनि पुगिसकिएको छैन ।

    केही विज्ञले संक्रमण सेकेण्ड वेभमा गएको छ पनि भनिरहनु भएको छ । सेकेण्ड वेभमा जानु लक्जरी हो, किनकी यो भनेको फस्ट पिकमा पुगेर तल झार्नु र फेरि संक्रमण फैलिने सम्भावना छ, शतर्क हुनुपर्छ भन्ने अवस्थामा पुग्नु हो ।

    मलाई के लाग्छ भने हामी एकैपटक पिकमा नपुग्न सक्छौं, फस्ट वेभमा लामो समयसम्म रहिरहन सक्छौं । भ्याक्सिन या जनस्वास्थ्य सुरक्षामा उल्लेख्य काम नभएसम्म यही अवस्थामा रहन्छौं । संक्रमित र मृत्यु संख्या यही अनुपातमा बढिरहन्छ । नेपालमा हर्ड इम्युनिटी विकास हुन लामो समय लाग्न सक्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.