सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाप्चा माध्यमिक विद्यालयका विद्यार्थीहरुले पाए नयाँ भवन


  •    न्युजभित्तो/१८ मंसिर २०७७, बिहीबार १३:१८ 
  • मंसिर,१८।  विद्यलाय भवन बनाइरहँदा जस्ताको टहरामा बढ्दै आएका दाप्चा माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी विवेक श्रेष्ठ खुशी देखिएका छन् । नयाँ भवनमा पढ्न पाउने भएपछि उहाँ खुशी हुनुभएको हो । नमोबुद्ध नगरपालिका–८ डराउने पोखरीस्थित दाप्चा माविका विद्यार्थीले यसअघि भूकम्पले क्षति पु¥याएको विद्यालय भवनमा नै केही वर्ष बसेर पढेको र त्यसपछि नकिकैको सामान्य क्षति भएको भवनमा अध्ययन गर्दै आएका थिए । सुविधा सम्पन्न नयाँ भवनमा बसेर पढ्न पाउने भएपछि श्रेष्ठलगायत विद्यार्थीमा खुशी छाएको छ ।

    कक्षा १० मै अध्ययनरत अर्का विद्यार्थी पुनम अधिकारीले क्षति भएको विद्यालय भवनमा बसेर पढ्नुपर्ने र विद्यालय भवन बनाउने बेलामा भएको हल्लाले गर्दा राम्रोसँग पढ्न नपाएको बताउँदै अहिले नयाँ भवनमा पढ्न पाउने भएपछि निकै खुशी लागेको बताउनुभयो । उहाँका अनुसार ठूला कक्षामा अध्ययनरत विद्यार्थीलाई भूकम्पले सामान्य क्षति पु¥याएको भवनमा र साना कक्षाका विद्यार्थीलाई नजिकैको जस्ताको टहरामा पढाउँदै आएका थिए । हाल सुविधा सम्पन्न भवनमा बसेर पढ्न पाएपछि विद्यार्थी खुशी भएका छन् । सो विद्यालयमा २६६ विद्यार्थी अध्ययनरत छन् ।

    विद्यालयका प्रधानाध्याक दिनेश अधिकारीले दाप्चा क्षेत्रको नै सबैभन्दा पुरानो विद्यालयले नयाँ सम्पन्न भवनसम्म आइपुग्न धेरै सङ्घर्ष गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार विक्रम संवत् १९८६ मा साविक डराउने पोखरी गाविसको भीमसेनस्थानको पाटीमा संस्कृत भाषा पाठशालाको रुपमा अध्ययन गर्दै आएको विद्यालयपछि पञ्चायत भवनमा बसेर अध्ययन अध्यापन गर्दै आएको थियो ।

    उहाँले भन्नुभयो, “२०३८ सालमा अस्टे«लियन वन परियोजनाबाट पाँच कोठे विद्यालय भवन बनाइदिएपछि बल्ल विद्यालय भवनमा नै बसेर पढ्न पाएको हो ।” विसं २०६६÷६७ सम्म जस्तोका छानो चुहिएको मुनि बसेर पठनपाठन गर्दै आएको र त्यसपछिका दिनमा पनि पाटीको चौरमा बसेर पठनपाठन गरेर बिताएको उहाँले स्मरण गर्नुभयो । अब नयाँ भवन पाएपछि छुट्टै गौरवको महसुुस भएको उहाँले बताउनुभयो । साविक डराउने पोखरी गाविसको एक मात्रै माध्यमिक विद्यालयमा कक्षा कोठा अभाव भएपछि विद्यार्थी स्थानीय बिन्धवासिनी मन्दिरको पाटी, चौरमा बसेर अध्ययन गर्दै आएका थिए ।

    विद्यालयको उक्त समस्या विभिन्न सञ्चारमाध्यमा निरन्तर प्रकाशित भएपछि लवग्रिन जापानको रु २३ लाख सहयोग र स्थानीय श्रमदानसमेत गरी करिब २७ लाखको लागतमा चार कोठे विद्यालय भवन निर्माण भएको छ । “यदि सञ्चारमाध्यमले यहाँका समस्यालाई उजागार नगरेको भए भवन बन्दैनथ्यो”, उहाँले भन्नुभयो, “अब नयाँ भवनसँगै सुन्दर कक्षा कोठा त पायौँ, त्यसभित्र रहेका पुस्तकालयको दराज, कम्प्युटर, विज्ञान प्रयोशालाका लागि बनाएका ठाउँ सबै खाली रहेकोले त्यसलाई सामग्रीले भराउने काममा नगरपालिका, प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्दछु ।”

    सो विद्यालयमा अहिले दरबन्दीकोसमेत अभाव रहेकाले त्यसतर्फ सम्बन्धित पक्षको ध्यान जान आवश्यक रहेको उहाँले बताउनुभयो । गुणस्तरिय शिक्षाको कुरा उठिरहेको बेला यहाँका विद्यालयमा मावि शिक्षक दरबन्दी एक जना, निमाविको तीन जना र प्राविको आठ जना छ । “यस्तो अवस्थामा कसरी गुणस्तर शिक्षा दिने ? त्यसतर्फ पनि सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो, “प्राविको शिक्षकले माविसम्म पढाउँदा निकै अफ्ठ्यारो भएको छ ।” सो क्रममा उहाँले अब प्रदेश सरकारले व्यवस्थापन गर्दै आएको विद्यालय नर्स कार्यक्रमअन्तर्गत नर्सको दरबन्दी उपलब्ध गराउन विद्यालयका प्रधानाध्यापक अधिकारीले आग्रह गर्नुभयो । विद्यालयले छिट्टै प्राविधिक शिक्षासँगै उच्च शिक्षा सञ्चालन गर्ने सोचमा रहेको उहाँले बताउनुभयो ।

    नयाँ भवन बुधबार वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामाले उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले नगरपालिका र व्यवस्थापन समितिले गरेको काममा थप सहयोग गर्नको लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब यस विद्यालयको नर्स कार्यक्रमको लागि नगरपालिकासँग समन्वयमा दाप्चा मावि छनोटमा परिसकेको छ ।”

    विज्ञानको प्रयोगशालाको विषयमा यसै वर्षभित्रमा आवश्यक सहयोग गर्ने समेत उहाँले बताउनुभयो । नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले पुरानै ढर्रामा नभइ प्राविधिक शिक्षाको व्यवस्था गर्नका लागि दाप्चा माविलाई नर्सिङ क्याम्पसको रुपमा विकास गर्न नगरपालिकाले सोच बनाइरहेको बताउनुभयो ।

    नगरपालिका शिक्षा शाखा प्रमुख जनार्दन रिजालले कोभिडको प्रभाव कम हुँदै गएको कारण विद्यालय खोलिसकेकाले अब विद्यार्थीलाई स्वास्थ्य सजगताका साथ विद्यार्थीलाई विद्यालयमा पठाउन आग्रह गर्नुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) काभ्रेपलाञ्चोकका प्रमुख देवकुमार बरालले भूकम्प पुनःनिर्माण कार्यक्रमअन्तर्गत निर्माण भइरहेको विद्यालय भवन करिब ९० प्रतिशतमा सम्पन्न भएर हस्तान्तरण गरिसकेको बताउनुभयो । उहाँले यसै वर्षभित्रमा सबैजसो भवन निर्माण गरी हस्तान्तरण गर्ने अवस्थामा पुग्ने बताउनुभयो ।

    उहाँका अनुसार एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको दश वटा ठूला भवनमध्यको दाप्चा माविको भवन निर्माण गरी हस्तान्तरण गरेको तेस्रो पटकको हो । नेपाल सरकारको लगानीमा एशियाली विकास बैंकको ऋण सहयोगमा करिब सात करोड ८३ लाखमा २१ कोठे विद्यालय भवन निर्माण भएर बुधबार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । निर्माण भएको विद्यालय भवन अपाङ्गमैत्री, बालमैत्री रहेको छ । भवनसँगै दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्कीसहित शौचालयलगायत संरचना निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इञ्जिनीयर बाबुराम देवकोटाले जानकारी दिनुभयो ।

    कार्यक्रममा विद्यालयको पुनःनिर्माणमा सघाउने जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का इञ्जिनीयर सोभित श्रेष्ठ, बाबुराम देवकोटा, सव–इञ्जिनीयर गणेश मैनाली, श्रेया झा, सविन कायस्थ, परामर्शदाता, निर्माण व्यवसायीका प्रतिनिधि चेत लामा, दामोदर श्रेष्ठ र पत्रकार नगेन्द्र अधिकारीलगायतलाई सम्मान गरिएको थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.