सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शुद्ध र सहज ‘वैदिक श्राद्ध पद्धति’ सार्वजनिक


  •    न्युजभित्तो/१६ मंसिर २०७७, मंगलवार ०७:४४ 
  • काठमाण्डौं, १६ मंसिर । वैदिक सनातन धर्मावलम्बीले गर्ने धार्मिक कर्मका पुस्तकमा अशुद्धि वृद्धि हुँदै जान थालेपछि शुद्ध पुस्तक प्रकाशनका लागि अभियान चलाउने युवा देखा पर्न थालेका छन् ।

    वाल्मीकि विद्यापीठमा कर्मकाण्ड प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीले बजारमा पाइने पुस्तक अशुद्ध भएको थाहा पाएपछि समूह बनाई शुद्ध पुस्तक प्रकाशन गर्न थालेका छन् । प्रशिक्षार्थी सुदीपकुमार पौडेलको नेतृत्वमा पहिलोपटक ‘वैदिक श्राद्ध पद्धति’ नामक पुस्तक बजारमा ल्याइएको छ । बजारमा पाइने पुस्तकमध्येमा शुद्ध र सहजरूपमा बुझ्न सकिने गरी दुई वर्ष लगाएर पुस्तक सम्पादन गरिएको उहाँले जानकारी दिनुभयो ।

    यसअघि बजारमा आएका श्राद्धलगायत कर्मकाण्डका पुस्तकमा विभिन्न ग्रन्थबाट ल्याइएका मन्त्रलाई सम्पादकले नै लेखे जसरी लेखक भन्ने गरिएकामा यसमा भने सङ्कलक उल्लेख गरिएको छ । वेदका मन्त्रसमेत ‘मैले लेखेको हुँ’ भन्ने सन्देश दिने लेखकका बीच पुस्तकमा भने स्रोत सामग्री पनि उल्लेख गरिएको छ । पुस्तकमा कुन मन्त्रलाई कुन वेदबाट ल्याइएको हो भन्ने समेत खुलाइएको छ ।

    पुस्तकमा छ वटा श्राद्ध विधि दिइएको छ । यसअघि बजारमा आएका पुस्तकमा चारवटासम्म मात्र श्राद्धविधि दिइएको हुन्थ्यो । पुस्तकमा एकोद्दिष्ट, पार्वण, एकापार्वण, तीर्थ, अभिधवा मातृनवमी र त्रिपिण्डी श्राद्ध विधिका साथै श्राद्धमा प्रयोग हुने विभिन्न वैदिक सूक्त पनि दिइएको छ ।

    तर्पण क्रम, श्राद्ध सामग्री, तर्पण गर्ने र श्राद्ध गर्ने स्थलको सचित्र वर्णन गरी प्रकाशित पहिलो पुस्तक भएकाले संस्कृतको अध्ययन नगरी पुरोहित काम गराउने र गर्ने दुवैका लागि उपयोगी पुस्तकका रूपमा आएको छ । दुई सय ५६ पृष्ठको पुस्तकको मूल्य रु ३५५ तोकिएको छ ।

    पुस्तक तयार पार्न वाल्मीकि विद्यापीठका कर्मकाण्ड प्रशिक्षक नारायणप्रसाद कोइराला, पौडेल, विष्णुप्रसाद खनाल र बालमुकुन्द अर्यालको समूह लागि परेको हो । पुस्तकका लागि सामग्री सङ्कलन भने मणिराम कोइरालाले गर्नुभएको हो । पुस्तकमा श्राद्धमा प्रयोग हुने विभिन्न शब्दका रूप र विभक्तिसमेत उल्लेख गरिएको छ ।

    वैदिक शास्त्रमा ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः’ अर्थात् ‘पितृले वाक्य शुद्ध उच्चारण चाहन्छन्, देवताले भने भावमात्र भए पनि चित्त बुझाउँछन्’ भनी उल्लेख गरिएको छ । वाक्य शुद्ध नभए श्राद्ध गरे वा गराए दुवैको फल नपाइने पनि शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यसैले बजारमा भएजस्ता श्राद्धका पुस्तक दुई महिनामै प्रकाशन गर्न सकिने भए पनि दुई वर्ष लगाएर सबै विषयलाई समेटिएको प्रकाशन समूहले जनाएको छ ।

    विद्यापीठमा प्रशिक्षण लिइरहेको समूहले सनातन धर्ममा देखिएका विकृति अन्त्य हुने गरी शुद्ध र सहज पुस्तक प्रकाशन गरेकामा प्राचार्य गणेशप्रसाद घिमिरेले खुसी प्रकट गर्नुभएको छ । सामान्य पढेलेखेकाले पनि विधिपूर्वक श्राद्ध कर्म गर्न पुस्तक उपयोगी हुने उहाँको विश्वास छ ।

    समूहले विभिन्न कर्मका लागि आवश्यक अन्य १० पुस्तक पनि प्रकाशनको तयारी गरिरहेको जनाइएको छ । अग्निस्थापना, दुर्गा पूजा विधि, जन्मोत्सव पूजाविधि, स्वस्थानी पूजाविधि, हरितालिका पूजाविधि, जातकर्म विधि, दशगात्रविधि, पूर्वाङ्ग विधि, पुरुषोत्तम पूजा विधि र सरस्वती पूजा विधि पनि प्रकाशनको तयारी भएको जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.