सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाघमारा : गैँडा खेल्ने रनवन


  •    न्युजभित्तो/९ मंसिर २०७७, मंगलवार १९:१० 
  • नारायण ढुङ्गाना

    पर्या–पर्यटनका दृष्टिकोणले नमूना चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा दुर्लभ एकसिङ्गे गैँडा र उसका केटाकेटीका अनौठा गतिविधि नियाँल्न सकिन्छ । बासस्थानको उचित वातावरण र पानीको पर्याप्तताका कारण पनि यो जङ्गल वन्यजन्तुको क्रिडास्थलको उत्कृष्ट नमूना हो । गैँडा खेल्ने ‘रनवन’ नै बन्न पुगेको छ बाघमारा ।

    केही दिनअघि यहाँको सानो चौरमा काखमा केटो चेपेर माउ गैँडा लमतन्न परेर घाम तापिरहेकी थिई । हात्तीको खस्राकखुस्रुक आवाजले कान ठाडो पारेर हेरी । माहुतेको इसारामा हात्ती एक टकले उभियो । हात्तीमा सयर पर्यटकले मौन बसेर विभिन्न कोणका तस्बीर लिए, अनि गैँडासँग नजीकपनको अनुभूति सङ्गाले । आफू र केटोको सुरक्षा जोखिम नरहेको बुझेपछि माउ–बच्चा फेरि उही आसनमा लमतन्न परेर घाम ताप्नमा मग्न भए ।

    अलि परको अर्को चौरमा एक भाले गैँडा एक सुरले चर्दै थियो । चित्तल र मृग आफ्नै धुनमा एकापसमा घाम ताप्दै, कुरा साट्दै र चर्दै गरेको भेटिए । राप्ती र बूढी राप्ती नदीको किनारको बालुवामा मगर र घडियाल गोही पार तापिरहेका दृश्यले लोभलाग्दो थियो । चराहरु पानीभित्र घुसेर माछा टिप्दै थिए । त्यो सबै दृश्यमा पर्यटक खुबै आनन्द लिन्थे र सके जति क्यामेरामा कैद गर्थे । त्यो देखेपछि काठमाडौँबाट गएका पर्यटक भन्दै थिए, “वाउ क्या मजा भयो ।”

    वन्यजन्तुको राम्रो बासस्थान भएकाले बाघमारा पर्यटकको रोजाइमा पर्ने गरेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका सचिव रामशरण सिलवालले बताउनुभयो । “नजीकबाट गैँडा हेर्न पाइने भएकाले सौराहा आउने पर्यटक हात्ती सफारी गर्न मन पराउँछन्, बाघमारामा सफारी गर्दा अधिकांशले गैँडालगायत वन्यजन्तु देखेरै फर्किन्छन्, त्यसैले आकर्षण छ”, पर्यटन व्यवसायीसमेत रहेका सिलवालले भन्नुभयो ।

    यहाँ वन्यजन्तुका लागि उचित वातावरण छ । ठाउँठाउँमा इनार खनेर पानी निकाली ताल बनाइएको छ । आहाल खेल्ने स्थान पर्याप्त छ । बर्सेनी घाँसेमैदान व्यवस्थापन गरेर वन्यजन्तुका लागि उचित वातावरण दिने प्रयास गरिएको वनका अध्यक्ष जीतु तामाङले बताउनुभयो । बाघमारामा देशविदेशका आगन्तुक हात्ती सफारी गरेर वन्यजन्तु अवलोकनमा रमाउँछन् । पैदलै घुमेर र डुङ्गा सफारी गरेर वन्यजन्तुका गतिविधि नियाँल्न पाउनु यहाँको अर्को आकर्षण हो ।

    प्रभावकारी संरक्षणका कारण विश्वकै दुर्लभ वन्यजन्तुको राम्रो बासस्थानको विकास भएको छ । बाघमारा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, चित्तल, भालु, गोही, चराचुरुङीका विभिन्न प्रजातिको क्रिडास्थल बन्न पुगेको छ । रात बिताउन मचान बनाइएकाले त्यहाँ बसेर पर्यटकले जङ्गल र वन्यजन्तुका गतिविधि हेर्दै मजा लिन्छन् ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष, स्थानीय समुदाय, पर्यटन व्यवसायी, चितवन राष्ट्रिय निकुञ्जको दशकौँको प्रयासले वन यहाँसम्म आइपुगेको हो । ताल–तलैया निर्माण, घाँसेमैदान व्यवस्थापन, वृक्षरोपण, तारबारलगायत कार्यक्रमले दशकअघिको सुक्खा क्षेत्र अहिले हरियाली बनेको हो । रूखबिरुवा हुर्कंदै जाँदा सुन्दरताले भरिएको छ ।

    विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले समग्र मुलुकको आर्थिक क्षेत्र प्रभावित हुँदा पर्यटन क्षेत्र पनि जोगिएन । यद्यपि गएको दशैँबाट भने चहलपहल शुरु भएको सहकारीका व्यवस्थापक विनोद तिमिल्सिनाले बताउनुभयो । “हालसालै मात्र एकै दिन ३९ हात्ती सफारी भएको थियो, तिहारका बेला २६ सम्म गयो, बिस्तारै सफारी पर्यटनले गति लिन थालेको छ”, उहाँले स्मरण गर्नुभयो ।

    मध्यवर्ती र जैविक मार्गमा पर्ने कुमरोज, विसहजारी ताल क्षेत्र र निकुञ्जमा जीप सफारी पनि चल्छ । चरा अवलोकन, पैदल जङ्गल सफारी पनि हुन्छ । उक्त हात्ती सहकारीका अध्यक्ष ऋषि तिवारीले भन्नुभयो, “चितवन सफारी पर्यटनका लागि विश्वमै प्रख्यात भएकाले यहाँ घुम्न पर्यटक लालायित हुने गरेका छन् ।”

    यहाँका मध्यवर्ती क्षेत्रमा हात्तीसँगै डुङ्गा र जीप सफारी पनि चल्छ । हात्ती सफारीमा केही क्षेत्रबाट विरोध भइरहे पनि अझै पर्यटकको आकर्षण भने कम देखिँदैन । यद्यपि बाघमारामा मानवीय चाप भने बढी छ । व्यवसायीका अनुसार कोरोनाले हाललाई पर्यटकीय गतिविधि सञ्चालनमा समस्या पारिरहेको छ । आवश्यक सुरक्षा मापदण्ड अपनाइएकाले ढुक्कले घुम्न सक्ने क्षेत्रीय होटल सङ्घ सौराहाका वरिष्ठ उपाध्यक्ष राममणि खनालले बताउनुभयो । उहाँका अनुसार, सौराहामा घुम्ने, जङ्गल सफारी गरेर फर्कने पर्यटक बढी आइरहेका छन् । अब आवासीय पर्यटकको पर्खाइमा छन्, व्यवसायीहरु ।

    सौराहामा १०० भन्दा बढी सुविधायुक्त होटेल तथा रेष्टुरेन्ट भएकाले पनि वन्यजन्तु अवलोकनपछि अन्य पर्यटकीय गतिविधिको मजा लिन सहज छ । राप्ती किनारबाट देखिने साँझको सूर्यास्त, थारू संस्कृति, रहनसहन तथा वेशभूषाले पनि पर्यटकलाई लोभ्याउँछ । थारू नाचमा पर्यटन रम्न पाउँछन् ।

    यसरी शुरु भएको थियो पर्यापर्यटन

    विसं २०५३ मा ‘बाघमारा मध्यवर्ती सामुदायिक वन’ घोषित भएको थियो । सोही बेला नै सामुदायिक वनमा पर्यटनको मार्ग खुला गरेको हो । शुरुशुरुमा वन हेरालुलाई तलब दिन नसकेकामा परिस्थिति फेरिएर त्यही वनको करोडौँको आम्दानीले पर्या–पर्यटन विकास, आयआर्जन, संरक्षण र अन्य भौतिक निर्माणमा सहयोग हुँदै आएको छ ।

    पर्या–पर्यटन विकासबाट हुने आम्दानी नै बाघमारा सामुदायिक वनको मुख्य आम्दानीको स्रोत हो । भूमाफियाको चलखेल, काठ कटानी र फँडानीले तीन दशकअघि उजाड थियो, बाघमारा वन क्षेत्र । वन्यजन्तुहरु खेल्ने ठाउँ थिएन । नजिकै चितवन निकुञ्ज हरियाली हुँदा बाघमाराले आफ्नो सुन्दरता गुमाएको थियो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो वन निकुञ्ज तथा वरण्डाभार जैविकमार्गको वनसँग जोडिएको छ । राप्ती नदीले दक्षिणबाट र बूढी राप्ती नदी र खगेरी खोलाले उत्तर र पश्चिमबाट घेरिएको छ ।

    यहाँ विसं २०१५ देखि नै संरक्षणको प्रयास गरिएको थियो । विसं २०२२ मा यस क्षेत्रलाई महेन्द्र मृगकुञ्जभित्र रेखाङ्कन गरेको पाइन्छ । विसं २०२६ सालमा नापी आएका बखत वन क्षेत्र भनी कायम गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको अभिलेखमा उल्लेख छ । २०४० सालतिर स्थानीय जनताको सक्रियतामा वन उपभोक्ता समूह गठन गरी सामुदायिक वनका रुपमा विकास गर्ने कार्य भएको थियो । २०४२ सालतिर भूमाफियाले आफ्नो नाममा कयौँ जग्गा दर्ता गराएका थिए । त्यो बेला मुद्दा पनि परेको थियो । विसं २०४६ मा विश्वनाथ पौडेलको अध्यक्षतामा सामुदायिक वन उपभोक्ता समिति गठन भएपछि वनको संरक्षणको कोशेढुङ्गा साबित बन्यो ।

    त्यति बेला कोषले वृक्षरोपण, तारबार, घाँस पालन, तटबन्दलगायत कार्यक्रमका लागि सहयोग गरेको हालै राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुखबाट निवृत्त हुनुभएका रामकुमार अर्यालले जानकारी दिनुभयो । विगतमा तत्कालीन राणा परिवार शिकार खेल्न आउँदा बाघ मारेर छाला सुकाउने गरेको हुँदा यसलाई बाघमारा भन्ने गरिएको एकथरीको भनाइ छ भने अर्काथरीले दुईवटा बाघ एकापसमा जुधेर मरेका कारणले त्यस बेलादेखि बाघमारा भन्न थालिएको भन्ने सुन्न पाइन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.