सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चार लाख शब्द समावेश भएको संस्कृत–नेपाली विद्युतीय शब्दकोश


  •    न्युजभित्तो/५ मंसिर २०७७, शुक्रबार ०८:२६ 
  • पूर्णप्रसाद मिश्र
    काठमाडौँ । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गर्नुभएको छ । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ ।

    शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ । शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ । यसैगरी वेबसाइटमा केएन स्वामी डटकममा गएपछि चार भाषाका करिब चार लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले राससलाई जानकारी दिनुभयो । यी चार भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र वेबसाइट उपयोगी हुनेछ । एउटा शब्दको चारै भाषाका अर्थ थाहा पाउन सकिनेछ ।

    शब्दकोशमा संस्कृतबाट नेपालीका एक लाख, संस्कृतबाट संस्कृतका डेढ लाख, संस्कृतबाट हिन्दी ५० हजार र संस्कृतबाट अङ्गे्रजीका ५० हजार गरी चार लाख शब्द सामावेश गरिएको छ । धातु र त्यसको कृदन्त रूप ५० हजार गरी चार लाख शब्दको ज्ञान कोशबाट वेबसाइट वा एपमा गएर हेर्न सकिने गरी समावेश गरिएको उहाँले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेपछि स्वामी केशवानन्द गिरिको नेतृत्वमा शब्दकोश निर्माणका लागि काम शुरु भएको हो ।

    संस्कृत शब्दको अर्थ जान्न चाहने, संस्कृतका विद्यार्थी, अध्ययन एवं अनुसन्धान गर्न चाहनेका लागि शब्दकोश उपयोगी छ । शिलालेख, प्राचीन अभिलेख लगायतका सामग्रीको अध्ययनका लागि पनि यो शब्दकोश महत्वपूर्ण सामग्री हुनेछ । संस्कृतका दुई शब्दकोश ‘वाचस्पत्यम्’ र ‘शब्दकल्पद्रुम’ का सबै शब्द टाइप गरेर विद्युतीय माध्यमबाट हेर्न सकिने बनाइएको छ । ‘वाचस्पत्यम्’ सन् १८७० मा तारानाथ तर्क वाचस्पति भट्टाचार्यले तयार पारेको कोश हो । यसैगरी ‘शब्दकल्पद्रुम’ सन् १८५९ मा राजा राधाकान्तदेवले तयार पारेको कोश हो । दुवै कोशका सबै शब्द विद्युतीय माध्यममा राखिएको छ ।

    यसैगरी वामन शिवराम आप्टेको सन् १९६६ मा प्रकाशित संस्कृत–हिन्दी र सन् १८९० मा प्रकाशित संस्कृत–अङ्ग्रेजी कोशका समेत सबै शब्द विद्युतीय माध्यममा राखिएको छ । नेपाल संस्कृत विश्वविद्यालयले प्रकाशन गरेको बृहत् नेपाली–संस्कृत शब्दकोश, कुलचन्द्र गौतमको संस्कृत–नेपाली कोश, संस्कृत–कन्नड कोश, मुनियर निलिम्सको संस्कृत–अङ्ग्रेजी कोश पनि टाइप गरेर विद्युतीय माध्यममा समावेश गरिएको छ । यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशका पनि सबै शब्द अब एण्ड्रोइड एप र वेबसाइटमा एकसाथ राखिएको छ ।

    धातुको व्युत्पत्ति भने केशवानन्दले आफैँ अनुवाद गरेर राख्नुभएको हो । नेपाली कोशमा व्युत्पत्ति र धातुको अर्थ थपेर समावेश गरिएको छ । यसैगरी धातुमा उपसर्ग लगाउँदाको अर्थ समेत विद्युतीय माध्यमबाट खोजी गर्न सक्ने गरी समावेश गरिएको छ । धातुको रूप भने केही समयमा राख्ने सोचमा उहाँ हुनुहुन्छ । यी सबै विषय समावेश गरिएको एकीकृत कोश विश्वमै पहिलो भएको उहाँको भनाइ छ । यस वर्ष विजयादशमीको अवसरमा यो विद्युतीय कोश शुभारम्भ गरिएको हो ।

    कोशको मोबाइल एप हालसम्म तीन हजार जनाले डाउनलोड गरिसकेका छन् । डाउनलोड गर्नेबाट आएको प्रतिक्रिया सकारात्मक रहेको जनाइएको छ । एण्ड्रोइड फोनका फाइभ भर्जनभन्दा माथिका मोबाइलमा यो कोश खुल्ने गरेको छ । मोबाइल एप १२६ एमबीको भएकाले एक जिबी डाटा आवश्यक पर्नेछ । कोश एप र वेबसाइटमा उपलब्ध भएपछि यसका प्रयोगकर्ता ठूला ठूला शब्दकोश बोकेर हिँड्नुपर्ने, पल्टाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । प्रयोगकर्ताका माझ यो सजिलो शब्दकोशका रूपमा आएको छ ।

    डा रामानन्द गिरिबाट सङ्कलनको प्रेरणा

    शब्दकोश सङ्कलनको प्रेरणा स्वामी केशवानन्दलाई उहाँका गुरु स्वामी डा रामानन्द गिरिबाट मिलेको हो । महेश संस्कृत गुरुकुल देवघाटमा कक्षा ७ र ८ मा अध्ययनका क्रममा डा रामानन्दले कापीमा तयार पार्न लगाउनुभएको करिब ३०० पृष्ठको संस्कृत–नेपाली शब्दकोश यो बृहत् कामको प्रेरणाका रूपमा रहेको उहाँ सुनाउनुहुन्छ । कक्षा ९ र १० मा अध्ययनका क्रममा विसं २०५८ तिर कम्प्युटरसमेत सिक्न पाएपछि कोशलाई प्रविधिमा जोडेर वेबसाइटमा उपलब्ध गराउने इच्छा उहाँमा जागृत भएको थियो ।

    शब्दकोशमा आफूले चाहेको शब्द टाइप गरेर खोज्न सकिन्छ । चाहेको शब्द नेपाली वर्णानुक्रमानुसार समेत खोज्न सकिन्छ । धेरैजसो आवश्यक पर्ने शब्दलाई प्रयोगकर्ताले ‘फेवरेट’ बनाएर राख्न सक्ने सेवा पनि विद्युतीय शब्दकोशमा उपलब्ध छ । एउटा शब्द राख्ने बित्तिकै त्यसका चारै भाषाका अर्थ हेर्न सकिन्छ । यसमा संस्कृतका पर्यायवाची शब्द पनि जोड्ने लक्ष्यमा स्वामी हुनुहुन्छ । शब्दकोशलाई ‘आइवोएस’ प्रविधिमा डेभलप गरी अझ बढी प्रयोगकर्तालाई सेवा दिने लक्ष्यसमेत राखिएको छ । ‘आइवोएस’ प्रविधिमा डेभलप गर्न रु ६५ हजार लाग्ने भएकाले स्रोत व्यवस्थापनको काम भइरहेको जनाइएको छ ।

    निःशुल्क सेवा

    गुरुकुलमा आफूले निःशुल्क शिक्षा आर्जन गरेकाले करिब रु ५० लाखको लागतमा यो विद्युतीय कोश निर्माण गरी बिना शुल्क पाठकका लागि उपलब्ध गराएको उहाँले बताउनुभयो । विद्युतीय कोशमा कुनै पनि विज्ञापनसमेत राखिएको छैन । विज्ञापन राखेर आर्जन गर्दा पाठक एवं खोजकर्ताको ध्यान विज्ञापनतिर जाने भएकाले निःशुल्क हेर्न सकिने व्यवस्था मिलाइएको स्वामी केशवानन्द बताउनुहुन्छ ।

    बन्दाबन्दीका शुरुका छ महिना बिहान पाँच बजेदेखि राति ११ बजेसम्म आफू र आफ्ना छ जना शिष्य खटेर गिरिले कोश तयार पार्नुभएको हो । कोशको वेबसाइट नवीकरणका रूपमा वार्षिक रु ३० हजार खर्च गर्नुपर्ने हुन्छ ।

    पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्दै केशवानन्द

    नेपालीमा प्रयोग हुने करिब ७५ प्रतिशत संस्कृतका शब्द जान्न पनि यो कोश उपयोगी हुनेछ । पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोडेर उहाँले जिज्ञासुका लागि अध्ययन एवं अनुसन्धान गर्न सहज बनाइदिनुभएको छ । वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेद–संहितालाई केएन स्वामी युनिकोड फन्ट तयार पारी उहाँकै सम्पादनमा प्रकाशन भएको छ ।

    शुक्लयजुर्वेदको यो पुस्तक आउनुअघि नेपाली प्रकाशनले निकालेको शुद्ध पुस्तक पाउन कठिन थियो । यसैगरी लघुसिद्धान्त कौमुदीको नेपाली अनुवादका दुई भाग पनि उहाँले प्रकाशन गरी संस्कृत पढ्न चाहने विद्यार्थीका लागि सहज बनाइदिनुभएको छ । लघुसिद्धान्त कौमुदीको नेपाली अनुवादका चार भागमध्ये दुई भाग प्रकाशोन्मुख छन् ।

    आफूले गुरुकुलमा अध्ययनका क्रममा पाठ्यसामग्री पाउन मुस्किल भएको अनुभव पछिका विद्यार्थीले भोग्न नपरोस् भनी गिरिले यो काम गर्नुभएको हो । पूर्वीय वाङ्मयका यी पुस्तकको माग अमेरिका, क्यानाडा, अष्ट्रेलियालगायत देशमा रहेका बर्मा, भुटान, भारत र नेपालका नेपाली मूलका पाठकबाट भइरहेको छ ।

    संस्कृत विश्वविद्यालयबाट ‘पाणिनिको अष्टाध्यायीमा अद्वैत दर्शन’ विषयमा विद्यावारिधि शोध गरिरहनुभएका गिरिको लक्ष्य पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्दै विद्यार्थी एवं अनुसन्धाताका लागि सहज वातावरण बनाइदिनु रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.