सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैँडा मरेपछि थपियो चितवन राष्ट्रिय निकुञ्जमा चुनौती


  •    न्युजभित्तो/२५ भाद्र २०७७, बिहीबार १६:३८ 
  • चितवन । झण्डै चार वर्षपछि तस्करले गैँडा मारेको अनुमानसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा भदौ २१ गते मृत गैँडा भेटियो ।

    पाँच दिनअघि भदौ १६ गते बन्दुकको आवाज आएपछि नेपाली सेना र निकुञ्ज कर्मचारीको खोजीपछि गैँडा शङ्कास्पद अवस्थामा भेटिएको थियो । निकुञ्जले गैँडाको टाउकोमा दुई वटा प्वाल र पछाडिको भागमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा भेटिएको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भेटिएको गैँडा गलेको अवस्थामा रहेको बताउनुभयो ।

    बन्दुकको आवाज आएकै दिन गैँडा मरेको मृत शरीरको प्रकृतिले देखाएको छ । टाउकोमा गोली लागेको निकुञ्जका अधिकारीहरुले अनुमान लगाएका छन् तर तस्करले खाग र खुरकै लागि गैँडा मार्ने भए पनि ती दुवै सुरक्षित रहेको बरालको भनाइ छ । घटना शङ्कास्पद भएसँगै निकुञ्ज थप रणनीतिका साथ अनुसन्धानमा अघि बढेको छ । यसअघि विसं २०७३ चैत २६ गते राप्ती बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करले गैँडा मारेका थिए । त्यसयता प्राकृतिक कारणबाट मात्र गैँडा मरेको बरालको भनाइ छ ।

    बराल तस्करले नै गैँडा मारेको हुनसक्ने बताउनुहुन्छ । उनीहरु तस्कर समूह भएको भन्दै तिनीहरूलाई निस्तेज पार्ने रणनीतिमा निकुञ्ज लागेको उहाँको भनाइ छ । बराल छुटेका कैदीबन्दी र फरार अभियुक्त निकुञ्ज सुरक्षाको चुनौती रहेको स्वीकार्नु हुन्छ । गएको वैशाखयता मात्र भरतपुर कारागारबाट गैँडा तस्करीको अभियोगमा २३ जना कैद भुक्तान गरेर छुटेका छन् । कारागार प्रमुख कमलप्रसाद काफ्लेका अनुसार त्यही मुद्दाका आउँदो चैतसम्ममा चार, २०७८ मा छ, २०७९ मा १० जना र २०८० मा चार जना छुट्दै छन् । कोही भने कारागारभित्रको जिम्मेवारीको आधारमा छिटो छुट्न सक्छन् । हाल कारागारमा सो अभियोगमा ६८ जना छन् । पाँच वर्षभित्रमा आधाभन्दा बढी छुट्ने काफ्ले बताउनुहुन्छ ।

    यस मुद्दामा अधिकतम सजाय १५ वर्ष कैद र रु १० लाख जरिवाना वा दुवै हुने व्यवस्था छ । कारागारमा रहेकामध्ये २२ जना चेपाङ मात्र छन् । कारागारमा भएका सबैभन्दा बढी चितवनका ४५, नवलपरासीका १२, मकवानपुरका १० र पर्साका एक जना छन् । एक महिलाबाहेक अरू सबै पुरुष हुन् । बरालले अहिले छुटेका कतिपय पहिले तस्करीमा लागेकाहरु भएको जानकारी दिनुभयो ।

    संरक्षित वन्यजन्तुको चोरी शिकारी गरी फरार रहेका १०० जनाभन्दा बढी छन् । तिनीहरु निकुञ्ज आसपास क्षेत्रसँगै पोखरा, काठमाडौँलगायतका ठाउँका हुन् । अरू मुद्दाको समेत गरेर यो सङ्ख्या १५० भन्दा बढी छ । तिनीहरुको खोजीमा पनि सुरक्षाका सबै तह लागेको उहाँको भनाइ छ । यससँगै कोभिड–१९ को मौका छोपेर तस्कर सक्रिय भएको अनुमान छ । निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा एकै वर्ष ३८ वटासम्म गैँडा तस्करले मारेको तथ्याङ्क छ । त्यतिबेला विसं २०५८ देखि २०६३ सम्म तस्करले १०६ वटा गैँडा मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । सन् १९९५ मा चोरी शिकारबाट एउटा गैँडा मारिएको थियो । त्यसयता हालसम्म तस्करले मारेको प्रमाणित भएका गैँडाको सङ्ख्या १७६ पुगेको छ ।

    पछिल्लो वर्षमा प्राकृतिक कारणले गैँडा मरे पनि तस्करले मार्न पाएका थिएनन् । निकुञ्जका सूचना अधिकारी अशोककुमार रामका अनुसार आर्थिक वर्ष २०७५र०७६ मा प्राकृतिक कारणले सबैभन्दा धेरै ४३ गैँडा मरेका थिए । अन्य वर्षमा प्राकृतिक कारणले सरदर २५ गैँडा मर्ने गरेको उहाँको भनाइ छ । अहिले निकुञ्जले साइकल, मोटरसाइकल, गाडी, पैदल, हात्ती, डुङ्गा, मोटरबोटबाट गस्ती गर्दै आएको छ । अप्ठ्यारो ठाउँमा कुकुर र ड्रोन पनि प्रयोगका लागि तयारी गरिएको छ । निकुञ्जमा हाल ४६ सुरक्षा पोष्ट छन् । शङ्कास्पद ठाउँमा एम्बुस गस्ती गरिने रामले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले निकुञ्जले थप रणनीतिका साथ सुरक्षा गस्ती बढाइरहेको छ । मध्यवर्तीका समूहसँग सहकार्य गरी युवा चोरी शिकार नियन्त्रण समूह पनि सक्रिय बनाइँदै छ ।

    निकुञ्जमा यसै वर्ष गैँडा गणना गरिँदै छ । यसअघि सन् २०१५ सालमा गरिएको गणनामा नेपालमा रहेका ६४५ मध्ये ६०५ गैँडा यसै निकुञ्जमा रहेका थिए । निकुञ्ज सुरक्षामा नेपाली सेनाको वटुकदल गण खटिएको छ । विसंं। २००७ सालतिर यस निकुञ्जमा ८०० हाराहारीमा गैँडा रहेकोमा विसं २०२० मा यो सङ्ख्या घटेर १०० मा झरेको थियो । त्यसयता क्रमश गैँडाको सङ्ख्या बढ्दै आएको हो । विश्वमै एक सिङ्गे गैँडा दुर्लभ मानिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.