सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको केराले बजार नपाउँदा चरालाई आहारा


  •    न्युजभित्तो/१० भाद्र २०७७, बुधबार ०८:३८ 
  • कृष्ण आचार्य
    भरतपुर । चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा झर्ने अवस्था आएपछि किसानले लगानीसमेत गुमाउने अवस्था आएको छ ।

    निषेधाज्ञामा सरकारले कृषि उपजलाई ढुवानी गर्न सहज वातावरण बनाए पनि बजार नखुल्दा बिक्रीमा समस्या भएको हो । केरा व्यवसायी सङ्घ चितवनका अध्यक्ष घननाथ महतो केरा बिक्री नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो समयमा बजारको निकै ठूलो समस्या छ ।” पच्चीस देखि ३० प्रतिशत केरा खेतमै पारेर झर्दै गरेको र कतिपय चराको आहार बनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “केरा बोटमै पाकेको छ, चराले आधा खाँदै छाड्दै गरेको देख्न सकिन्छ ।”

    नेपालमा लकडाउन शुरुसँगै केरा पाकेको थियो । बीचमा लकडाउन खुलेसँगै केही सहज भए पनि फेरि अवस्था झन् जटिल बनेको उहाँले बताउनुभयो । “यस वर्ष केराको उत्पादन राम्रो थियो”, उहाँले भन्नुभयो, “बजार र मूल्य पाइएन, करोडौँको क्षति भयो ।” उहाँले निषेधाज्ञामा पनि भारतीय केरा नेपाली बजारमा आएको तर नेपाली केराले बजार नपाएको गुनासो गर्नुभयो । यो समयमा व्यपारीले सहजै केरा लैजान नमानेको र लगिहाले पनि मूल्य निकै कम पाउने गरको महतोको भनाइ छ ।

    तीन तहका सरकारले छुट्टाछुट्टै निर्णय गर्दा झन् समस्या भएको उहाँले बताउनुभयो । “यहाँबाट केरा लगिए पनि जिल्ला र पालिकाहरुमा अवरोध गर्ने गरिएको छ, कतिपय अवस्थामा बाटोमै रोकिनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यस वर्ष मलको अभाव छ । केराका लागि मल अत्यावश्यक छ, यस्तै भयो भने अर्को वर्ष उत्पादन घट्छ ।

    केरा व्यवसायी यज्ञ सुवेदीले निषेधाज्ञाले ग्राहक बजार आउन नपाएपछि केरा बिक्री हुन छाडेको बताउनुभयो । “लकडाउनभन्दा पनि निषेधाज्ञापछि झन् समस्या भएको छ”, उहाँले भन्नुभयो, “बिहान र बेलुकाको थोरै समयमा ग्राहक बजारसम्म जाने अवस्था छैन ।” केरा बिक्री नभएपछि आफैँ पसल–पसलमा खुद्रा बिक्री गर्दै हिँड्न बाध्य भएको उहाँले बताउनुभयो । “बारीमा केरा पाकेको छ, बिक्री नभएर चराले खाइरहेको छ, केही झरेर नष्ट भएको छ”, उहाँले भन्नुभयो । यस वर्ष समयमा नै पानी परेका कारण केराको उत्पादन राम्रो भएको उहाँले बताउनुभयो ।

    उहाँले आफ्नो रु ५० लाखको केरा क्षति भएको बताउनुभयो । “मैले एक सिजनमा रु तीन करोडको केरा बेच्थेँ”, उहाँले भन्नुभयो “यस वर्ष रु दुई करोड पुग्न पनि धौधौ छ ।” सुवेदीले ७० बिघामा केराखेती गर्दै आउनुभएको छ । गत वर्ष रु ७० दर्जनसम्म बिक्री भएको केराको मूल्य यस वर्ष रु ५० भन्दामाथि पुग्न नसकेको उहाँले बताउनुभयो । जिल्लामा अधिकांश किसानले मालभोग र जिनाइन केरा लगाएका छन् ।

    महानगर फलफूल तथा तरकारी बजार नारायणगढका प्रबन्ध निर्देशक थीरप्रसाद धितालले बजारमा फलफूलको बिक्री न्यून रहेको बताउनुहुन्छ । “प्रशासनले तीन घण्टाभन्दा बढी समय पसल खोल्न दिँदैन, ग्राहक आउने समय नै छैन”, उहाँले भन्नुभयो । ठेला र सडकपेटीमा व्यापार गर्नेलाई पनि प्रहरी र स्थानीयवासीले अवरोध गर्ने गरेको उहाँले बताउनुभयो ।

    चितवनमा उत्पादन भएको केरा बाहिरी बजारमा निर्यात नभएपछि नारायणढको बजारमा थुप्रिएको धितालले बताउनुभयो । उहाँले चितवनमा भारतीय केरा नआएको भन्दै चितवनको केराले माग धान्न नसक्ने अवस्थामा मात्र ल्याउने गरिएको जिकिर गर्नुभयो । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले यस वर्ष चितवनमा केराको उत्पादन राम्रो भएको बताउनुभयो । उहाँले कोरोनाका कारण बजारीकरणमा समस्या भएको र किसानले गत वर्षझैँ मूल्य नपाएको बताउनुभयो ।

    यस वर्ष मात्र जिल्लामा २०० बिघाभन्दा बढी क्षेत्रफलमा केराखेती विस्तार भएको छ । युवाहरुको आकर्षण पनि बढ्दो छ । चितवन केरा उत्पादनका लागि अग्रणी जिल्ला मानिन्छ । जिल्लामा तीन हजार २०० बिघामा केराखेती गरिएको छ । चितवनको रत्ननगर, कालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र केरा उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन् । हावाहुरीलगायतका कारणले हुने क्षतिको राज्यको अनुदानमा बीमा हुने भए पनि बजारीकरणबाट हुने नोक्सानी भने किसान आफैँले व्यहोर्नुपर्ने अवस्था छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.