सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुमारी आमाको सङ्घर्षको कथा समेट्दै ‘परी’


  •    /१ जेष्ठ २०७६, बुधबार २३:०३ 
  • मीना घोरसाइने

    काठमाडौँ (रासस) । नेपाली समाजमा कुनै पुरुषले कुमारी केटीसँग शारीरिक सम्बन्ध राखेर शिशु जन्मियो भने त्यसको भागीदार महिलालाई मात्र मान्ने गरिन्छ । उक्त केटीलार्ई समाजबाट पनि बहिष्कारसमेत गरिन्छ । यो कुरा कहिल्यै सोचिन्न कि महिला स्वयंको इच्छाले मात्र शिशु जन्मिँदैन । एउटै जातका केटा र केटी भए उक्त सम्बन्धले विवाहको रुप लिन सक्छ तर पुरुषभन्दा महिलाको जात कथित तल्लो छ भने उनले झनै ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।

    एक कुमारी आमाले आफ्नो सन्तानलाई हुर्काउन कस्ता खाले समाजका लान्छनालाई पार गर्दै जान्छिन् भन्ने कथालाई समेटेर उपन्यासकार सीमा पुरीले ‘परी’ उपन्यासमार्फत चित्रण गर्न खोज्नुभएको छ । पुरीले उपन्यासमार्फत नेपाली समाजमा विद्यमान जातीय छुवाछुतलाई समेत उजागर गर्न खोज्नुभएको छ । उहाँले उपन्यासमा एक कुमारी आमाले विकट ठाउँबाट काठमाडौँ आइपुगेर आफ्नी छोरीलाई कस्तो सङ्घर्षबाट वकिल बनाउँछिन् भन्ने कथा समेट्नु भएको छ ।

    कथानुसार कुमारी आमा सरस्वतीबाट छोरी परीको जन्म हुन्छ । परी कुमारी आमाको सन्तान भएकै कारण समाजबाट अपहेलनाको पात्र बन्न पुग्छिन् । उनलाई सरस्वतीले समाजले जेजस्तो भने पनि बलियो भएर उभिन प्रेरणा दिन्छिन् । उनको एउटै मात्र सपना ‘आफ्नी छोरीले कालो कोट लगाएको हेर्ने’ हुन्छ । छोरीलाई आफ्नो पहिचान दिलाउन उनले थुप्रै चुनौतीको सामना गर्नुपरेको हुन्छ । परीको एउटै मात्र सपना सरस्वतीलाई कुमारी आमाको दर्जाबाट विवाहित नारी भएको हेर्ने र आमालाई धोका दिने धोकेबाजलाई सजायँ दिने हुन्छ ।

    आमाले परीलाई कलेजको क्यान्टिनमा काम गरेर उनको लालनपालन गरेकी हुन्छिन् । एकदिन परीले वकिल भएर आमाको सपना पूरा गर्न सक्छिन् । परीको आफ्नो कमाइको आमालाई पहिलो उपहार ‘पछ्यौरा’ हुन्छ । छोरीको पहिलो कमाइबाट पाएको उपहारलाई आमा अमूल्य ठान्छिन् । आफ्नो वेदना कहिल्यै छोरीलाई नसुनाएकी आमाले उक्त दिन आफू कसरी कुमारी आमा बन्न पुगेको भन्ने सुनाउने निधो गर्छिन् । सानैमा सरस्वतीकी आमाको मृत्यु भएकाले क्षेत्री जातका बुवाले अर्कै आमा ल्याएका हुन्छन् । उनलाई पढ्न मन लागे पनि सौतेनी आमाका छोराछोरी हेर्नुपर्ने बाध्यताका कारण पढाइलाई अधूरै छाड्न बाध्य भएकी हुन्छिन् । सरस्वतीका बुवा गाउँका जान्नेबुझ्ने व्यक्ति हुन्छन् । उनलाई गाउँमा सबैले मान्ने गर्छन् ।

    खानलाउन दिएर छोरीको आवश्यकता पूरा हुन्छ भन्ने उनका बुवाको सोचाइ हुन्छ तर उनी भने कसैको माया पाउनका लागि सधैंँ तड्पिरहेकी हुन्छिन् । एक दिन उनका बुवाले गाउँको विद्यालयका लागि आएका शिक्षक पीताम्बर उपाध्यायलाई आफ्नै घरमा लिएर आउँछन् । उनी त्यस गाउँको विद्यालयमा पढाउञ्जेल उनकै घरमा बस्नका लागि आएका हुन्छन् । उक्त शिक्षकले सरस्वतीलाई पनि धेरै कुरा सिकाउँदै जान्छन् । विस्तारै उक्त शिक्षक र सरस्वती एकार्काको मायामा पर्न थाल्छन् । उनै पीताम्बरसँग मायामा परेपछि सरस्वती गर्भवती बन्न पुग्छिन् । सरस्वतीलाई उनको परिवारले पनि विनाविवाह गर्भवती भएकाले स्वीकार गर्न सक्दैन ।

    पीताम्बर उनलाई आफ्नो नामको सिन्दुर पोते लगाइदिएर समाजमा आफ्नी श्रीमतीको दर्जा दिन धेरै सङ्घर्ष गर्छन् तर पीताम्बरको परिवारले पनि उनलाई स्वीकार गर्दैन । परिवारकै आग्रहमा पीताम्बरको अर्कै केटीसँग विवाह हुने पक्का हुन्छ । अन्ततः पीताम्बरले उनलाई आफन्त पर्ने दिदीको घरमा लगेर राख्छन् । पीताम्बरको विवाह भएकै दिन सरस्वतीले परीलाई जन्म दिएकी हुन्छिन् । पीताम्बरको विवाह भइसकेपछि उक्त गाउँमा बसेर आफ्नी छोरीलाई पहिचान दिन नसक्ने कारणले गर्दा उनी काठमाडौँ आइपुगेकी हुन्छिन् । सरस्वतीले आफ्नी छोरीलाई सम्झाउँदै भन्छिन्, “छोरी, तिम्रो शरीरभरि रातो रगत सल्बलाएको छ । तिम्रो बाबा पानी थियो, उसको अस्तित्व सब मभित्र घोलिएर रातो रगत बन्यो । ऊ मभित्र मिसिएर मलाई पानी बनाउन सकेन । ऊ आफँैं मभित्र मिसिएर रगत बनेर रह्यो । तिमीभित्र मेरो रगत छ भन्ने मात्र सोच तिमी ।”

    सानैदेखि समाजमा घृणाको पात्र बनेकी परी आमाले आफ्नो कथा सुनाइसकेपछि मामाघर र आफ्नो पिताप्रति उनको मनमा थप घृणाको भावना पैदा हुन्छ । उनी अधिवक्ता बन्छिन् । एक दिन उनको मामाको मुद्दा आइपुग्छ । आफ्नी आमा घृणाको पात्र बनेर सबैबाट चरित्रहीन भनिएको पीडालाई सम्झिएर उनले मामाको मुद्दा नहेराँैं कि भनी सोच्छिन् । उनले मामाको मुद्दा हेरेरै छाड्छिन् र जिताउँछिन् पनि । मुद्दा जितेर छुट्टिने बेलामा मामाले उनलाई मुद्दावापतको रकम दिन सोध्छन् तर परीले रकम आफूले अहिले नै नलिने, आफूले दिएको ठेगानामा ल्याएर छाडिदिन आग्रह गर्छिन् र ठेगाना छाडेर जान्छिन् । परीको उद्देश्य आमा र मामाको भेट गराउने उद्देश्य हुन्छ ।

    मामाकै ठेगानाका आधारमा उनी शिविरको बहाना पारेर आफ्ना हजुरबुवा र बुवाको घरमा समेत पुग्छिन् । आफ्नो बुवा र हजुरबुवाले आफ्नी आमालाई घृणा गर्छन् भन्ने छवि दिमागमा बनाए पनि परी आमालाई बुवा र हजुरबुवाले धेरै माया गर्नुहुन्छ भन्ने थाहा पाउँछिन् । पहिले आफ्नो मनभित्र बदलाको भावना पालेकी परीले पछि आफ्नो बुवा र आमाको विवाह गराएरै छाड्ने निधो गर्छिन् तर यो काम सहज हुँदैन । धेरै सोचिसकेपछि आफ्नो अमेरिकामा रहेका भाइ प्रकाशको मद्दतबाट उनी आफ्ना आमा र बुवाको मिलन गराउन सफल हुन्छिन् । जातीय छुवाछुतका कारण ब्राह्मण र क्षेत्रीको मिलन हुन नपाएको समाजमा गुरुङ थरको केटासँग परीको विवाह हुन्छ ।

    चलचित्रको दृश्यजस्तै उपन्यासकारले थुप्रै प्रसङ्गलाई रचनात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । महिलाले चाहे भने कसैको सहाराविना नै आफ्नो पहिचान बनाउन सक्छन् भन्ने सन्देश उपन्यासमा पाइन्छ । उपन्यासकारले आफ्नो कृतिमार्फत समाजमा विद्यमान जातीय छुवाछुतलाई उजागर गर्न खोज्नुभएको छ भने एकै आमाबाट जन्मिएका सन्तानभन्दा फरक आमाबाट जन्मिएका सन्तानको सम्बन्ध मजबुत हुन्छ भन्ने कुरालाई पनि उजागर गर्न खोज्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.