सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सेनाले भारतीय हुनसक्छ भनेर लाश बगाउन लागे, तर हामीले दिएनौँ । त्यो त मदन भण्डारीकै लाश रहेछ’


  •    /१ जेष्ठ २०७६, बुधबार २१:५८ 
  • हेमबहादुर थापा मगर
    (मदन भण्डारीको शब भेट्टाउने पहिलो व्यक्ति)

    दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपथ्र्यो । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ ।

    जाल हान्दै जति अघिअघि जान्थेँ त्यति नै धेरै काभ्रे माछा पर्दैथियो । मेरा आँखा दुई चट्टानका बीचमा एउटा मुढाजस्तो देखिने वस्तुमा प¥यो । मलाई लाश हो कि भन्ने लाग्यो ।

    साथीहरुलाई लाश देखेको खबर गरेँ । लाशको नजिकै पुगेँ । घोप्टो अवस्थामा लाश अड्किएर बसेको पाएँ । पानीको माथिको सतहभन्दा आधा फिटमा लास डुबेको थियो । अनि साथीहरु र म भएर बाँसको भारोको सहयोगमा नदी किनारमा निकाल्यौँ ।
    लासलाई ओल्टाइपोल्टाइ हे¥यौँ । आँखाको नानीमा बाहेक अन्य ठाउँमा चोट थिएन । लास हेर्दा लाग्थ्यो, उठेर बोल्छ जस्तो । एकदमै फ्रेस । शरीरमा खैरो रङको लामो बाउले सर्ट थियो, पाइण्ट भने थिएन । दुवै खुट्टामा मोजा थिए ।

    जननेता स्वर्गीय मदन भण्डारी

    लाश पाए पनि मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको छ भन्ने थाहा थिएन । त्यही बेला चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा खटिएका चार जना नेपाली सेना आइपुगे । उनीहरुले लाश हेरे । सेनाहरुलाई मदन भण्डारीको मृत्युबारे थाहा रहेछ । हेरेपछि सेनाहरुले कालो छ, कुनै भारतीय हुन सक्छ भने । लासलाई बगाउन लागे । हामीले बगाउन दिएनौँ ।

    जेठ ४ गते लासलाई नदी किनारमै छाडेर घर फर्कियौँ । घरमा बाजेलाई लास भेट्टाएको बताएँ । बाजेले शायद मदन भण्डारीको लाश होला भन्नुभयो । उहाँले पुलिसलाई खबर गर्न भन्नुभयो तर पुलिसलाई खबर गर्ने आँट गरिन ।
    जेठ ५ गते कुलो खन्दै थिएँ । दासढुङ्गाबाट एउटा टोली पौडी खेल्न जान्ने मान्छे खोज्दै गाँजीपुर आइपुगेछ । टोलीसँग मेरो बुबाको भेट भएछ । बुबाले हाम्रा छोराहरुले लाश भेट्टाएको टोलीलाई जानकारी दिनुभएछ । लगत्तै टोलीसँग हामी काठेडुङ्गा लिएर लाश भएको ठाउँ पुग्यौँ । नभन्दै त्यो लाश नेता मदन भण्डारीको रहेछ ।

    डुङ्गामा लाश हालेर वारि आयौँ जुन ठाउँमा अहिले मदन भण्डारी स्मृति पार्क बनिरहेको छ । फर्केर आउँदा मान्छे चौरमा अटाएका थिएनन् । ठूलो मेला लागेको जस्तो भीड । अनि पत्रकारहरुले मलाई सोधी खोजी गर्न लागे । जिल्ला प्रशासनबाट आएका कर्मचारीहरुले पनि सोध्न लागे । धेरै दिनसम्म मलाई र मेरा अरु तीन जना साथीलाई घटनाबारे मान्छेहरुले सोधिरहे ।

    ठूलो मान्छेको लास भेटेकोमा आफूलाई भाग्यमानी र अभागी दुवै ठान्छु । अहिले पनि ती घटनाक्रमहरु मेरो आँखा अगाडि घुमिरहन्छ । अठार वर्षको हँदा लास भेटेको थिएँ । अहिले ४३–४४ वर्ष पुगेँ । त्यति ठूलो नेताको लाश भेटाउँदा मलाई पक्कै सरकारले नेपाली सेनामा जागीर दिन्छ कि भन्ने लाग्यो । त्यस समयमा सिपाहीको लाश भेटाउने मान्छेले नेपाली सेनामा जागीर खान पाउँथे । कुरा पनि चलाएँ तर भएन । अनि म वैदेशिक रोजगारीका लागि साउदी अरब लागेँ । बाह्र वर्ष साउदी बसेर नेपाल फर्किएँ ।

    अहिले विदेशबाट फर्कीएको ११ वर्ष भयो । एउटा ट्रयाक्टर किनेको छु । आर्थिक अवस्था कमजोर नै छ । मसँगै लाश भेटाएका किसान ठकुरी नेपालमै छन् । श्यामबहादुर थापा मगर साउदी र टेकबहादुर आलेचाहिँ मलेसियामा छन् ।
    राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्ककै विकासको योजनासहित डेलिगेशनमा काठमाडौँ जाँदा भेट भयो । मलाई अरुले लाश भेटाउने मान्छे यही हो भनेर चिनाइदिए । म विदेश भएको समयमा मेरो प्रशंसापत्र बुवालाई प्रदान गरिएको रहेछ । अहिले त्यो प्रशंसापत्र जतन गरेर राखेको छु ।

    मेरो इच्छा भनेको सरकारले गाँजीपुरलाई नमूना बस्तीका रुपमा विकास गरोस् भन्ने छ । अनि अहिले नेकपाकै सरकार छ, स्वर्गीय मदन भण्डारीकी धर्मपत्नी देशको राष्ट्रपति हुनुहुन्छ । मलाई नभए पनि मेरा छोराछोरीलाई अवसर दिए हुन्थो भन्ने लाग्छ ।

    (रासस समाचारदाता सुरेन कुँवरसँग थापाको कुराकानीमा आधारित)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.