सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘मदन आश्रित स्मृति दिवसमा नेकपा एकीकरणको अन्तिम घोषणा’


  •    /१ जेष्ठ २०७६, बुधबार २१:२५ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस आगामी जेठ ३ गते पार्टी एकीकरणका बाँकी कार्य पूरा गरी अन्तिम घोषणा गरिने बताएका छन् । युवा सङ्घ नेपालको २९औँ स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा सहभागी नेताहरुले तीन गते नटुङ्गिए जेठ महीनाभित्रमा भने नयाँ सन्देश जाने कार्यकर्तालाई विश्वास दिलाउनुभयो ।

    पार्टी एकीकरण घोषणा भएको एक वर्ष पुग्नै लाग्दा एकता प्रक्रिया टुङ्गोमा नपुगेको भन्दै कार्यकर्ताले चासो लिइरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्ला कमिटीबाट ढोका उघारिसकिएकाले एकीकरण टुङ्गिने कुरामा कार्यकर्तालाई आश्वस्त पार्नुभयो ।

    अघिल्लो वर्ष जेठ ३ गते स्मरण गर्दै उहाँले भन्नुभयो, “अहिले पनि हाम्रो कोशिश छ, ३ गते सबै घोषणा गरिदिउँ, भएन भने टेन्सन नलिनुहोला ४, ५ वा ६ गते होला केही फरक पर्दैन हामी टुङ्ग्याउँछौँ, यो कुरामा तपाईंहरु विश्वस्त हुनुहोस् । यदि तपाईंहरुले जोड गर्नुभयो भने युवाको चाहिँ आगामी जेठ ३ गते गते सक्न पनि सकिन्छ ।” युवाको भावना आफूले बुझेकाले बिहीबार बिहान सम्भवतः बैठक बस्ने जानकारी गराउँदै उहाँले चाँडै नै जनसङ्गठनको एकीकरण सक्नेमा आफ्नो जोड रहने बताउनुभयो ।

    राष्ट्रको आवश्यकता, कम्युनिष्ट आन्दोलन र जनताको भावनाको सम्मान गर्दै अध्यक्ष दाहालले ऐतिहासिक आवश्यकतालाई सम्बोधन गर्न नेतृत्वद्वारा गरिएकोे ऐतिहासिक पहल कदमीबाट पार्टी एकता भएको स्मरण गर्नुभयो । वामपन्थी र दक्षिणपन्थी विचारलाई विमर्श गर्दै विचारलाई विकास गर्न सक्ने मात्रै सच्चा कम्युनिष्ट हुने तर्क गर्दै अध्यक्ष दाहालले विचारलाई निरन्तर परीक्षण, प्रयोग र विकसित गरेमा मात्रै समाज राष्ट्र र मानवजातिको हित हुने उल्लेख गर्नुभयो ।

    वर्ग समाज रहेसम्म दुई विचार कायमै रहने भएकाले परिवर्तन र विचारको शुद्धताका नाममा पार्टीलाई एकपछि अर्को शृङ्खलाबद्ध ढङ्गले विभाजनतर्फ लाने र एक्लै भए पनि म सही छु भनेर दम्भ गरिराख्ने हानिकारक प्रवृत्तितर्फ युवा सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यस्ता विचारलाई चिर्दै परिवर्तनको दिशामा जानेमात्रै सच्चा कम्युनिष्ट हुने उल्लेख गर्दै अध्यक्ष दाहालले एउटा विचार जे छ त्यही सही भनेको भए ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासम्म आइ नपुग्ने भनाइ राख्नुभयो ।

    उहाँले विसं २०३८ देखि नै आफ्नो जीवन एकपछि अर्को निरन्तरता र त्यसलाई भङ्ग गर्नेबाट बित्दै आएको र यो पार्टी एकता पनि त्यही निरन्तरतामा क्रमभङ्गताकै नयाँ कडि हो भन्नुभयो ।

    आलोचना गर्न सिक भन्ने माक्सवादको उक्ति जस्तै आफू आलोचनाबाट नडराउने नेता भएको दाबी गर्दै अध्यक्ष दाहालले परिवर्तनकारी हुनेले मात्रै गल्ती गर्ने र नयाँ विकास गर्नसक्ने बताउनुभयो । “गल्ती नगर्ने मान्छे इतिहासमा भेटिँदैन, यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ, मान्छे आलोचनात्मक हुन सिक्नुपर्छ, अन्धभक्त हुनुभएन दास जस्तो त कम्युनिष्ट हुनै सक्तैन”, अध्यक्ष दाहालले भन्नुभयो ।

    पार्टी, युवा र जनताप्रति ठूलो विश्वास रहेको बताउँदै उहाँले आफू जुनसुकै अवस्थामा पनि लचक हुन तयार रहेको उल्लेख गर्नुभयो । “जति लचिलो हुन पनि आफूलाई कुनै कठिन हुँदैन, यदि तपार्इंको साथ भयो भने बाँकी जीवन अझै केही नयाँनयाँ गरेर मर्न मन छ, सबैको साथ चाहिएको छ, मेरो पनि सबैमा साथ रहन्छ”, उहाँले थप्नुभयो ।

    अध्यक्ष दाहालले युवामा उत्साह जोश र जाँगर देख्दा आफू उत्साहित भएको बताउनुभयो । विसं २०३८ माघ १७ मा भारत कुसीनगरको भेलाबाट २६ वर्षको उमेरमा अखिल नेपाल युवक सङ्घको संस्थापक अध्यक्ष बनेको स्मरण गर्दै उहाँले पार्टीका दुवै अध्यक्ष युवासङ्घको संस्थापक अध्यक्ष हुनुको संयोग निकै उत्साहपूर्ण रहेको बताउनुभयो । विश्वमा भएका कम्युनिष्ट आन्दोलन युवाकै योगदानमा सफल भएकोसमेत उहाँले बताउनुभयो ।

    नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्टको भरपर्दो शक्ति नै युवा भएको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई कसरी जोगाउने भन्नेतर्फ ध्यान दिन युवालाई आग्रह गर्नुभयो । देशले सामाजिक न्यायसहितको समृद्धि चाहेको उल्लेख गर्दै नेता नेपालले विश्वमै नेपालको समाजवादी आन्दोलन बलियो र सु–संस्कृत रहेको जिकिर गर्नुभयो ।

    नेकपाका अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको नयाँ युगमा प्रवेश गरिसकेकाले समाजवादी लोकतन्त्रलाई संस्थागत गर्दै राष्ट्रियता सुदृढ बनाएर सीमाको रक्षा र सुशासन कायम गरी सामाजिक आर्थिक रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्कृतिको रुपान्तरणलाई महत्व दिँदै विश्वसँग सन्तुलित सम्बन्ध सुधारको प्रयास जरुरी रहेको औँल्याउनुभयो ।

    कार्यवाहक प्रधानमन्त्री तथा नेकपाका नेता ईश्वर पोखरेलले दुई सङ्गठन एक हुने सङ्घारमा रहेको उल्लेख गर्दै छिट्टै एकता भएको सुन्ने अपेक्षा रहेको बताउनुभयो । उहाँले पार्टी नयाँ ढङ्गले अघि बढ्न खोज्दै गर्दा विचारमा स्पष्टता हुनु जरुरी रहेको बताउँदै उहाँले शृङ्खालाबद्ध कमिटी प्रणालीको विकास गर्न नसके विश्वका अन्य कम्युनिष्टको जस्तै दुर्भाग्य भोग्न सक्ने चिन्ता प्रकट गर्नुभयो । “तजविजका हिसाबले चल्यो भने नेतृत्व गर्न सक्दैन, विगतका अनुभवबाट शिक्षा लिनुपर्छ, युवालाई सहभागी गराएर योजनाबद्ध नेतृत्वको आवश्यकता छ”, पोखरेलको भनाइ छ ।

    नेकपाका महासचिव विष्णु पौडेलले गणतन्त्र स्थापनाका लागि युवाले खेलको भूमिका अविस्मरणीय रहेको उललेख गर्दै पार्टीले एकीकरणका विषयमा निकालेको निष्कर्ष मदनभण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा सार्वजनिक हुने बताउनुभयो ।

    कार्यक्रममा युवासङ्घ नेपालका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष किरण पौडेल, योङ्ग कम्युनिष्ट लिग नेपालका अध्यक्ष रामप्रसाद सापकोटा लगायतले आफ्ना विचार राख्नुभएको थियो । कार्यक्रममा युवा सङ्घले जनवादी गायक जेवी टुहुरे र जीवन शर्मालाई सम्मान गरिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.