सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओलीको बोलिपछि अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका


  •    न्युजभित्तो/२ श्रावण २०७७, शुक्रबार १९:१८ 
  • कृष्ण आचार्य

    भरतपुर (चितवन) । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताउनु भएपछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी शुरु गरेको हो ।

    नगर प्रमुख ठाकुर ढकालले धर्मशास्त्रमा व्याख्या भएअनुसार प्रमाण जुटाउन इतिहासविद्, भूगोलविद्, पुरातत्वविद्को खोजी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो “पुरातत्व विभागलाई अध्ययन गर्न आग्रह गरिएको छ ।” माडीका धार्मिक गुरुहरुको भेला गरी इतिहास र तथ्यका विषयमा छलफल गरेको उहाँले बताउनुभयो ।

    धार्मिक गुरुहरुलाई उद्धृत गर्दै ढकालले रामायणमा उल्लेखित अधिकांश तथ्य र प्रमाण यहाँ रहेका बताउनुभयो । उहाँले भन्नुभयो “अयोध्यापुरी, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्ड, सीताराम कुण्ड, वाल्मीकि आश्रम माडीका प्रमुख धार्मिक स्थल हुन्, यी रामायणसँग जोडिएका छन् ।” यी धार्मिक स्थलमा पुराना भग्नावशेष रहेका उल्लेख गर्दै उहाँले यहाँ पुराना इँटाका टुक्रा, तामाका पैसा, माटाका भाडा बनाएका टुक्र, इनार रहेको बताउनुभयो ।

    यी सबै तथ्यका आधारमा अयोध्या माडीमा नै हो भन्ने विषयमा आफूहरु विश्वस्त रहेको प्रमुख ढकालले बताउनुभयो । उहाँले भन्नुभयो “हामी विश्वस्त छौँ, तर प्रमाणहरु जुटाउनेतर्फ लागेका छौँ ।” आफूहरुले अयोध्या प्रमाणित हुने तथ्य खोजेरै छाड्ने उहाँले जिकिर गर्नुभयो । उहाँले तीनै तहका राज्यको सहयोगमा पुरातात्विक वस्तुको उत्खनन् र प्रमाण जुटाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

    राजनीतिज्ञ एवं समाजसेवी श्याम विष्टले स्थानीय सरोकारवाला, राजनीति दल, सन्त महन्त सबैको एकमना एकताको साथमा खोज अनुसन्धानमा लाग्ने बताउँदै भन्नुभयो, “यहाँ केही न केही छ, अहिलेसम्म ओझेल परेको छ, प्रधानमन्त्रीले त्यत्तिकै बोल्नुभएको छैन ।” उहाँले सत्य तथ्य पत्ता लगाएरै छाडने बताउनुभयो ।

    उहाँका अनुसार माडीमा मानव बस्ती बसाउने शुरुआती चरणमा घर बनाउँदा, जग्गा सम्याउँदा पुराना सिक्का, मूर्ति भेटिने गरेका थिए । अहिले पनि कतिपय ठाउँमा खन्दा त्यस्ता पुरातात्विक वस्तु फेलापर्ने गरेका उहाँले बताउनुभयो । विष्टले भन्नुभयो “कतिपय प्रमाणहरु भेटिएका भए पनि व्यक्तिको घरघरमा रहेका छन्, तिनको संरक्षण र अनुसन्धान हुन सकेको छैन ।” अब ती वस्तुहरुको सङ्कलन, संरक्षण र परीक्षण गरिने विष्टले बताउनुभयो ।

    अयोध्यापुरी क्षेत्र समेटिएको माडी–८ का अध्यक्ष कृष्णप्रसाद अधिकारी अयोध्या यहीँ हुनसक्ने भन्दै प्रमाण जुटाउन लाग्नुपर्ने बताउनुहुन्छ । उहाँले रामायणसँग जोडिएका धेरै विषयवस्तु यहाँ रहेको बताउँदै भन्नुभयो, “रामायणसँग जोडिएका धेरै विषय यहाँ छन्, राम जन्मिएको प्रमाण नभए पनि खोजी गर्नुपर्छ ।”

    स्थानीय धार्मिक व्यक्तित्व लक्ष्मीकान्त सापकोटा भारतमा अयोध्याका विषयमा विवाद रहेको बताउँदै रामको जन्म स्थानको विषयमा अझैसम्म कुनै ठाउँ प्रमाणित नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतको अयोध्या पनि राम जन्मेको भन्ने प्रमाणित छैन, यहाँको अयोध्यापुरीमा भएका प्रमाण तथ्यको नजिक छन् ।” उहाँले राज्यको संलग्नतामा विज्ञको सहभागितामा प्रमाण जुटाउनेतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो ।

    चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी धार्मिक, सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । साविक अयोध्यापुरी गाविसको वडा नंं। ७, ८ र ९ मुख्य गरी अयोध्यापुरी क्षेत्र हो । हाल माडी नगरपालिका–८ मा आयोध्यापुरी गाउँपर्छ, जुन अहिले चर्चामा छ । भरतपुरबाट ४८ किलोमिटर दूरीमा दक्षिणतर्फ अयोध्यापुरी पर्छ । यहाँ वरिपरि ठूला डाँडा छन् । यसै अयोध्यापुरीमा राम सीता बसेको बैकुण्ठ ताल, राम सीता गुफालगायतका प्राचीन संरचना छन् ।

    माडी वडा नं। ९ को सीमाना नजिक रामसीता नामका गुफा छन् । वडा नं। ८ मा बैकुण्ठ तालसँगै एक घण्टा पैदल हिँडेपछि धनलक्ष्मी छहरा पुगिन्छ । यी सबै संरचना राम सीतासँग जोडिने स्थानीय बताउँछन् । माडीकै वडा नंं। १ मा अवस्थित वाल्मीकि आश्रम पनि राम सीतासँग जोडिन्छ । रामले सीतालाई सो आश्रममा छाडेको र लव कुशको जन्म तथा शिक्षा लिएको ठाउँको रुपमा वाल्मीकि आश्रमलाई लिइन्छ । यो आश्रम अयोध्यापुरीबाट करिब ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।

    प्रधानमन्त्रीको भनाइ पछि स्थानीयहरु उत्साहित भएका छन् । लकडाउनको समय भए पनि कतिपय धार्मिक गुरु र इतिहासका प्राध्यापक तथा विद्यार्थी अयोध्यापुरीको अवलोकन गर्न आउने गरेका छन् । नगर प्रमुख ढकालका अनुसार स्थानीयले माडी नगरपालिकाको नाम परिवर्तन गरी अयोध्या नगरपालिका राख्न अनुरोध गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.