सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड–१९ बाट नेपालमा दोस्रो व्यक्तिको मृत्यु


  •    न्युजभित्तो/४ जेष्ठ २०७७, आईतवार १९:४३ 
  • काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) का कारण दोस्रो व्यक्तिको मृत्यु भएको छ । आज बाँकेका २५ वर्षीय पुरुषको मृत्यु भएसँगै कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिडबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको जानकारी दिनुभयो । बाँकेको नरैनापुर–५ का ती पुरुष गत वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

    उनलाई गएराति ज्वरो, पखालालगायत स्वास्थ्य समस्या आएको थियो । आज बिहान ६ः४० बजे उनको मृत्यु भयो । उनको पिसिआर परीक्षणमा स्वाबको परीक्षण रिपोर्ट पोजिटिभ आएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

    यसअघि शनिबार सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको थियो । मन्त्रालयले आवश्यक परीक्षणपछि हिजो मात्र सोको पुष्टि गरेको थियो ।

    सङ्क्रमण अठ्ठाइस जिल्लामा

    नेपालमा कोभिड–१९ बाट २९१ जना सङ्क्रमित भएका छन् । हाल देशका २८ जिल्लामा कोभिडको सङ्क्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं १ मा ३६, प्रदेश नं २ मा १२१, वाग्मती प्रदेशमा १७ (एकको मृत्युसहित), गण्डकी प्रदेशमा तीन, प्रदेश नं ५ मा १०९ र सुदूरपश्चिम प्रदेशका पाँचजना रहेका छन् ।

    कोभिडका सङ्क्रमितमध्ये हालसम्म ३६ जना उपचारपछि घर फर्केको पनि मन्त्रालयले उल्लेख गरेको छ । नेपालमा गत माघ ९ गते पहिलोपटक एक पुरुषमा कोभिडको सङ्क्रमण देखिएको थियो । त्यसपछि चैत १० गते विदेशबाट आएकी एक महिलामा कोभिडको सङ्क्रमण देखिएको थियो ।

    अठ्ठाइस हजारभन्दा बढीको पिसिआर विधिबाट परीक्षण

    मुलुकमा हालसम्म २८ हजार १६० जना कोभिडका सङ्क्रमितको रियल टाइम पोलिमरेज चेञ्ज रियाक्शन (पिसिआर) विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार आरडिटी विधिबाट ६७ हजार ७६९ जनामा परीक्षण गरिएको छ । बितेको २४ घण्टामा एक हजार ४६९ पिसिआर विधिबाट र आरडिटी विधिबाट दुई हजार २० परीक्षण भएको छ ।

    हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १८ हजार ३५७ रहेको छ । अहिलेसम्म आइसोलेशनमा ३४६ रहेका छन् । यीमध्ये उपत्यकाभित्र ३५ र उपत्यकाबाहिर ३११ छन् ।

    निजी तथा सामुदायिक अस्पतालले कोभिड परीक्षण गर्ने

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पतालबाट आरडिटी विधिबाट गरिने स्वास्थ्य परीक्षणका लागि निर्देशिका जारी गरेको छ । यो निर्देशिका जारी भएपछि निजी तथा सामुदायिक अस्पतालले कोभिडको आरडिटी विधिबाट परीक्षणका लागि अनुमति लिनसक्ने मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

    सो अनुमति लिनका लागि सम्बन्धित अस्पताल नियमअनुसार दर्ता भएको हुनुपर्नेछ । अस्पतालले आरडिटी परीक्षणका लागि उपत्यकाभित्र स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालले सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्नेछ । आरडिटी परीक्षण गर्न चाहने अस्पतालले जनस्वास्थ्य प्रयोगशालाले तोकिएको सूचीमा उल्लेख गरिएका आरडिटीको मात्रै परीक्षण गर्नसक्नेछन् । आरडिटीको परीक्षण प्रतिवेदन दैनिक रुपमा राष्ट्रिय प्रयोगशालामा अनिवार्य पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ । आरडिटी परीक्षणका लागि अस्पतालले खरिद गरेको मूल्यको बढीमा २० प्रतिशत मात्रै शुल्क लिन पाउनेछन् ।

    कोभिड–१९ को परीक्षणलाई सहज बनाउन निर्देशिका जारी गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो । मन्त्रालयले शनिबार मुत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलासँगको संसर्गमा रहेकाको पहिचान गर्ने कार्य शुरु गरिसकेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखको संयोजकत्वमा कन्ट्याक ट्रेसिङको काम शुरु भइसकेको प्रवक्ता देवकोटाले बताउनुभयो । सम्पर्क व्यक्तिको आजदेखि नमूना सङ्कलन भइसकेको छ । गोङगबु, माछापोखरीलगायत क्षेत्रबाट ४०० भन्दा बढीको परीक्षण गर्ने योजना छ । उनीहरुमध्ये १५० को पिसिआर र २५० को आरडिटी विधिबाट परीक्षण गरिनेछ ।

    मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल गिर्नेगरी कतिपय स्वयम्सेवकले गतिविधि गरेकामा निन्दा गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोभिडको नियन्त्रण र उपचारमा खटिएका चिकित्सकमाथि त्यस किसिमका घटना भएको भन्दै त्यस्ता व्यवहार नदोहोर्याउन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले उच्च रक्तचावको नियन्त्रणका लागि नियमित रुपमा रक्तचाप परीक्षण गर्न अनुरोध गरेको छ । उक्त रक्तचापका बिरामी बढी जोखिममा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.