सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दासढुंगा–गाजीपुर हुँदै गोलाघाटसम्म पर्यटकीय क्षेत्रका रुपमा विकास गरिंदै


  •    न्युजभित्तो/३ जेष्ठ २०७७, शनिबार १४:३९ 
  • नारायण अधिकारी
    चितवन । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनास्थल दासढुंगादेखि भण्डारीको शव भेटिएको गाजीपुर हुँदै गोलाघाटसम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ ।

    बि.सं. २०५० साल जेठ ३ गते हालको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा उहाँहरु चढेको जीप दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको थियो । आश्रितको शव त्रिशुली नदीमा दुर्घटनाग्रस्त जीपभित्र नै भेटिएको थियो भने भण्डारीको शव गाजीपुरमा भेटिएको थियो । सो ठाउँ पनि अहिले भरतपुर महानगरपालिका वडा नं. १८ मा पर्दछ ।

    मदन भण्डारी फाउण्डेशन चितवनको संयोजन र बागमती प्रदेश सरकारको सहयोगमा दासढुंगादेखि गोलाघाटसम्म एकीकृत विकासको अवधारणा अघि सारिएको छ । फाउण्डेशनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार गुरुयोजना तयार भईसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने क्रममा रहेको छ । केही दिन अघि मात्रै दासढुंगा क्षेत्रको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित प्राविधिक समूहले स्थलगत निरीक्षण गरेको थियो ।

    गुरुयोजना अनुसार दासढुंगामा हाल मदन आश्रितको अर्धकदको शालिक भएको ठाउँभन्दा माथिको डाँडालाई पर्यटकीय आकर्षक केन्द्रविन्दु बनाईदै छ । सो ठाउँमा यस अघि नै नेपाल सरकारले ३६ कठ्ठा जग्गा खरिद गरिसकेको छ । थप नम्बरी ३३ कठ्ठा र ऐलानी १८० कठ्ठा खरिद गरी आवश्यक संरचना निर्माण गरिने योजना रहेको छ ।

    भट्टराईका अनुसार सो ठाउँमा संग्राहलय, नीतिगत अनुसन्धान केन्द्र, तालिम केन्द्र, आवास भवन, कार्यालय भवन, चमेनागृहलगायतका संरचनासँगै भिरालो सो क्षेत्रमा आकर्षक पार्क बनाईने छ । जहाँबाट रमणीय त्रिशुली नदी, देवघाट लगायतका क्षेत्र देख्न सकिन्छ ।

    यसैगरी दासढुंगाबाट गोलाघाटसम्मको त्रिशुली र नारायणी नदी किनारको ४६ किलोमिटर भागलाई तटबन्धन सहितको आकर्षक सडक निर्माण गरिदैछ । गुरुयोजना अनुसार नदी वारीपारी नै संरचनाहरु निर्माण गरिने छ । देवघाट क्षेत्र विकास समितिसँग सहकार्य गरेर सो क्षेत्रलाई धार्मिक पर्यटन स्थलको रुपमा विकास गर्ने गरी संरचना बनाईने छ ।

    दियालो बंगाला क्षेत्रमा उद्यानसहित सांस्कृतिक केन्द्र निर्माण गरिने छ । उहाँका अनुसार उद्योग वाणिज्य संघ पछाडिको नारायणी किनारलाई हाल भईरहेको विकासमा थप सहयोग गर्ने योजना रहेको छ । यस्तै नगर वन क्षेत्रलाई पर्यटकीय पूर्वाधार निर्माण गरी विकास गरिने छ ।

    शिवघाट मन्दिर क्षेत्रको विकास गरिने छ भने वन क्षेत्रलाई वनभोजस्थलको रुपमा विकास गरिंदै छ । भट्टराईले त्यस क्षेत्रमा घरबास निर्माणमा सहयोग गर्ने गरी काम अगाडि बढाईने बताउनुभयो ।

    गाजीपुर क्षेत्रमा मदन भण्डारी स्मृति पार्क, वायो डाईभरसिटी अनुसन्धान केन्द्र बन्ने छ भने भ्यू टावर निर्माणको क्रममा रहेको भट्टराईले बताउनुभयो । यस अघि नै सो क्षेत्रमा केही संरचनाहरु बनिसकेका छन् ।

    मदन भण्डारीको शव भेटिएकै ठाउँमा जस्तो रुपमा भेटिएको थियो त्यस्तै रुपमा प्रतिमूर्ति निर्माण गर्ने योजना रहेको छ । झोलुङ्गे पुलबाट प्रतिमूर्तिसम्म पुगेर अवलोकन गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना रहेको छ ।

    नारायणी र राप्ती नदीको संगमस्थल गोलाघाटलाई रमणीय पर्यटकीय स्थलको रुपमा विकास गरिंदै छ । एक किलोमिटर वरबाट सवारी जान नमिल्ने गरी साना साना संरचनाहरु निर्माण गरेर पैदल हिँडेर प्राकृतिक सुन्दरता अवलोकन गर्ने स्थलको रुपमा विकास गर्ने योजना रहेको छ । सो ठाउँमा आन्तरिक र बाह्य पर्यटकले दुई÷तीन घण्टा समय रमाएरै बिताउन सक्ने गरी पूर्वाधार निर्माण गरिने उहाँ बताउनुहुन्छ ।

    हाल सोका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्न प्रदेश सरकार र संघीय सरकारसँग अनुरोध गरिएको छ । धेरै योजनाहरु भएकाले फरक फरक निकायबाट डिपिआर बन्ने काम अघि बढ्ने छन् । डिपिआर तयार भएपछि योजनाको छनौट गरी स्थानीय, प्रदेश र संघीय सरकारले संरचनाको काम गर्ने उहाँले बताउनुभयो । यस क्रममा देवघाट क्षेत्र विकास समिति, सामुदायिक वनका समितिहरु, स्थानीय निकायसँग समन्वय र सहकार्य गरेर काम अघि बढाईने छ ।

    मदन आश्रितको दुर्घटना हुँदा नेकपा (एमाले) चितवनका पार्टी प्रमुख (सचिव) रहनु भएका हालका प्रदेश सभा सदस्य विजय सुवेदी संरचनाहरु निर्माण गर्दा प्रतिफल आउने गरी काम गरिने बताउनुहुन्छ । पहिलो चरणमा दासढुंगा र गाजीपुरमा अध्ययन केन्द्रसहितको संरचना बन्ने भन्दै उहाँले अन्य संरचनाहरु जनहितमा हुने गरी निर्माण गरिने बताउनुभयो ।

    विस्तृत अध्ययन प्रतिवेदनपछि एकिन लागत खर्च आउने भए पनि दीर्घकालिन रुपमा अरबौं खर्च हुने उहाँले बताउनुभयो । यसले नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने सुवेदीको तर्क छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.