सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छाङरुमा सशस्त्र प्रहरी : दृढ सङ्कल्पका साथ सीतापुलबाट सीमा गस्ती


  •    न्युजभित्तो/१ जेष्ठ २०७७, बिहीबार २१:४४ 
  • नारायण ढुङ्गाना
    छाङरु (दार्चुला) । राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा) मा सीमा रक्षाको दृढ सङ्कल्पका साथ आजदेखि सशस्त्र प्रहरीले गस्ती थालेको छ ।

    मुलुकको इतिहासमै पहिलो पटक सरकारले जिल्ला सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मबाट बुधबार यहाँको सीमा सुरक्षाका लागि सशस्त्रको टोली पठाएको हो । आफ्नो बन्दोबस्ती र गास, बास, कपासको जोहो गर्ने काम पूर्ण नहुँदै सशस्त्रले सीमा गस्तीलाई उच्च प्राथमिकता दिएर गस्ती नियमित गरेको हो । केही टोली दार्चुलाबाट आउँदै गर्दा अघिल्लो दिन आइपुगेका टोली सुरक्षामा खटिएको थियो ।

    टोलीले भारतसँग जोडिएको महत्वपूर्ण नाका सीतापुलबाट गस्ती थालेको हो । नेपाल र भारत आवागमनका लागि यहाँको सीमा क्षेत्रमा महाकाली नदीमाथि बनेको काठे कच्ची पुल छ । त्यही पुलबाट नेपालीहरु आवतजावत गर्ने गर्छन् । अहिले लकडाउनका कारण यहाँबाट आवतजावत ठप्प छ । यहाँको महत्वपूर्ण नाका मानिएको त्यही पुलबाट गस्ती थालिएको हो ।

    सीतापुलको नेपालतर्फको भूभागमा नियमित ड्यूटीमा टोली परिचालन हुने सीमा निगरानी चौकी (बीओपी)का प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार उक्त बीओपीले यहाँको छाङरु, कौवा, तिङ्कर, बुदी, नितिकुण्डालगायतको क्षेत्रका सुरक्षा गर्नेछ ।

    दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङरु (गागा)स्थित नेपाल–भारत सीमा जोडिएको महाकाली नदीमाथिको काठेपुल (सीतापुल) मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राईसँग कुरा गर्दै भारतीय एसएसबीका प्रतिनिधि । साथमा छाङरुस्थित सुरक्षा निगरानी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द । तस्वीर : नारायण ढुङगाना/रासस

    गस्ती शुरु गर्नुअघि सीमा अवलोकनका क्रममा गृह मन्त्रीका सुरक्षा सल्लाहकार प्रा डा ईन्द्रजीत राई र सशस्त्र प्रहरी निरीक्षक चन्दसँग सीमा सुरक्षामा खटिएको भारतीय एसएसबीका भुपेन्द्रकुमारले भेट गरेका थिए । उक्त अवसरमा नेपालले आफ्नो सुरक्षाका लागि टोली ल्याएको जानकारी दिँदै डा राईले अन्य विषयहरु सरकारबीच नै छलफल हुने भएकाले आपसी समन्वयमा काम गर्नुपर्ने सुझाव दिनुभयो ।

    नेपाल सरकारको निर्णयमा बुधबार यहाँ सीमा निगरानी चौकी (बीओपी) स्थापना गरिएको हो । यसअघि यहाँ नेपाली सुरक्षा अधिकारीको झिनो उपस्थिति हुने गर्दथ्यो । यहाँबाट दुई दिन हिँडेर पुग्ने हुम्लिङमा नेपाल प्रहरीको अस्थायी चौकी छ । तर छाङरु नजिकै नितिकुण्डामा रहेको प्रहरी चौकी भने गत मङ्सिरमा तल झरेपछि यहाँ सुरक्षाकर्मी रहेका थिएनन् ।

    स्थानीय बासिन्दासमेत जाडोका कारण तल झरेपछि यहाँ मानवीय उपस्थिति शून्य थियो । यहाँका स्थानीय चिसोका कारण छ महिना तल झर्ने गर्छन् । मङ्सिर १४ गते सदरमुकाम झरेको नेपाल प्रहरी पनि आजबाटै आफ्नो चौकीमा फर्किएका छन् ।

    सशस्त्र प्रहरीको बीओपी भने स्थानीय जीतबहादुर बोहराको घर मासिक रु २५ हजार तिर्ने गरी स्थापना गरिएको हो । नजिकै १५ रोपनी जग्गा व्यवस्थापन भएको छ । रु ११ करोड रकमसमेत सरकारले छुट्याइसकेको छ । भवन नबन्दासम्म सशस्त्र प्रहरी त्यही भाडाको घरमा बस्नेछ । चौकी स्थापनाका लागि गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा द्वन्द्व विशेषज्ञ प्रा डा राई, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबाबु थापालगायत पुग्नुभएको थियो ।

    बुधबार त्यहाँ सात सशस्त्र प्रहरीलाई पुर्याइएको थियो । बाँकी १८ जना सशस्त्र प्रहरीको टोली र बन्दोबस्तीका सामान आज मात्रै पुर्याइएको हो । बुधबार सेनाको हेलिकोप्टरले केही मात्रै खाद्यान्न लगेकामा आज बाँकी खाद्यान्नसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुर्याएको थियो । सशस्त्र प्रहरीका अनुसार यहाँ उनीहरुलाई छ महिना पुग्ने खाद्यान्न र बन्दोबस्तीका सामान लगिएको छ । केही लत्ताकपडा र बन्दोबस्तीका सामान सेनाको हेलिकोप्टरमा काठमाडौँबाटै ल्याइएको हो ।

    केही दिनअघि पिथौरागढबाट गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबर जाने लिपुभञ्याङसम्मको सडकको भारतले उद्घाटन गरेको थियो । त्यसैले सीमा रक्षाका लागि सरकारले तत्कालै यस क्षेत्रमा सशस्त्रको टोली पुर्याएको हो । गत मङ्सिरमा नै यहाँलगायत मुलुकका विभिन्न सीमा क्षेत्रमा ११४ बीओपी स्थापना गर्ने निर्णय भएको थियो । योसहित १४ स्थानमा मात्रै स्थापना भएको छ ।

    सकस छ छाङरु पुग्न

    दार्चुला जिल्ला सदरमुकामबाट पारी भारतीय क्षेत्र धार्चुला पर्छ । पहिलेपहिले त्यही धार्चुलाबाट महाकाली नदी तिरैतिर भारतले बनाएको बाटो हुँदै नेपालीहरु यही सीतापुल तरेर छाङरु आउँथे । नेपालबाट यहाँ आउन बाटो छैन । खनीखोस्रो गरी र लहरा तथा डोरी समाउँदै हिँडेर आउन चारदेखि पाँच दिन लाग्छ ।

    लकडाउनका कारण भारतले प्रवेश नदिएपछि छाङरु गाउँका ११५ घरधुरी अझै फर्किएका छैनन् । उनीहरु गत कात्तिक मङ्सिरमा बेँसी झरेका थिए । उनीहरु सदरमुकाम आसपास नै बसिरहेका छन् । गाउँमा मान्छे नहुँदा जग्गा जमिन बाँझो छ । यतिबेला फापर गहुँ लहलह हुने बेला थियो । केही ठाउँमा लसुन लगाएको देखिन्छ भने यहाँ स्याउ फूल खेल्न थालेको देखिन्छ । सबै घरमा ताला झुण्ड्याइएको छ । गाउँले नभएको र प्रहरीसमेत नहुँदा यहाँ नेपालीको उपस्थिति छैन । भारतले जे गर्दा पनि प्रतिवाद गर्ने कोही छैनन् ।

    यहाँको व्यास–१ छाङरुमा ११५ घरधुरी छन् । दश किलोमिटर पर रहेको तिङकरमा ६८ घरधुरी छन् । यहाँ दुवै क्षेत्रमा गरेर एक हजार २२० जनसङ्ख्या रहेको प्रहरीको अभिलेखमा उल्लेख छ । यहाँबाट सुनसेरा (गाउँपालिका सदरमुकाम) पुग्न झण्डै दुई दिन लाग्छ ।

    यहाँबाट माथि कालापानी झण्डै १५ किलोमिटरको दूरीमा पर्छ भने तिङ्कर १० किलोमिटरमा पर्छ । तिङ्करबाट लिपुलेक अन्दाजी त्यही १० किलोमिटरको दूरीमा रहेको स्थानीय जीतबहादुर बोहराले बताउनुभयो । दार्चुलाबाट उत्तरपूर्वमा पर्ने छाङरुबाट लिपुलेक अन्दाजी २५ किलोमिटरको दूरीमा रहेको बताइन्छ । तर बाटो नभएकाले हिँडेर जान सकिने अवस्था छैन ।

    यस्तो छ भौगोलिक अवस्था

    छाङरुको पारी पट्टी अपिनाम्पा संरक्षण क्षेत्र छ । चारैतिर डाँडा सेताम्मे हिउँले भरिएका छन्, तल खोँच (सानो उपत्यका जस्तो) स्थान गागा भन्ने ठाउँमा सशस्त्रको बीओपी स्थापना गरिएको छ । जीतबहादुरले रेष्टुरेन्ट बनाएको घरलाई भाडामा लिएर बसेको सशस्त्र प्रहरी नजिकै तिङ्कर नदी बग्छ । अर्को कालापानी पट्टीबाट महाकाली नदी आउँछ । छाङरुस्थित सीतापुलमा दुई नदी मिसिन्छन् । त्यसैको दोभान क्षेत्र नै छाङरु हो । त्यो दोभानभन्दा ५०० मिटरमाथि छाङरु बस्ती छ ।

    भारतीय सीमा क्षेत्र सीतापुलबाट भने एक किलोमिटरको दूरीमा पर्छ सशस्त्रको निगरानी चौकी । यहाँ जाडोका बेला नदीको पानी नै जम्ने र हिउँ नै हिउँले ढाक्ने हुन्छ त्यसैले मानिसहरु जाडोमा तल झर्ने गर्छन् ।

    सबैभन्दा ठूलो समस्या सम्पर्क सञ्जाल र सडक

    यहाँको सूचना आदानप्रदानका लागि सबैभन्दा ठूलो समस्या सम्पर्क सञ्जाल कै हो । छाङरु पुगेका जो कोहीको अवस्था थाहा पाउन सकिँदैन । त्यहाँ के भइरहेको छ भन्ने जानकारी ल्याउन कि भारतीय क्षेत्रमा पुग्नुपर्छ नत्र भने दार्चुला नै फर्कनु पर्छ । सशस्त्र प्रहरीलाई पनि टेलिफोनको समस्या हुनेछ । जसका कारण महत्वपूर्ण सूचना आदानप्रदानमा समस्या पर्नेछ ।

    मलिन आवाजमा रेडियो बज्ने भएकाले मुलुकका केही खबर प्राप्त गर्न भने सकिन्छ । पहिले यहाँ स्काई फोन टिप्ने गरेको भए पनि अहिले पुरै बन्द भएको स्थानीय सुधा बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “फोन र सडक भयो भने अरू हामीलाई केही चाहिँदैन ।”

    सीतापुलमा बस्छ एसएसबी

    सीमा क्षेत्र सीतापुलमा भारतीय एसएसबीको टोली तैनाथ छ । त्यससँगै अलि परको बस्ती गव्र्याङमा भारतको इन्डियन तिब्बत बोर्डर पुलिस फोर्स र एसएसबीको दुई टोली बस्छ । अलि पर रहेको छायाँलेकमा भारतीय सेना नै तैनाथ छ । आज सीमा क्षेत्रमा भारतीय सेना, एसएसबीको टोली र उनीहरुका गाडी तथा अन्य गाडीहरु निर्बाध रुपमा हिँडिरहेका थिए । भारतको हेलिकप्टले दिनमै पाँच, सात पटक गस्ती गर्ने गरेको छ भने लिपुलेक क्षेत्रमा आवश्यक भौतिक निर्माणका लागि डोजर, स्काभेटरलगायतका सामग्रीसमेत ओसारपसार गर्दै आएको छ । तर नेपालतर्फ भने गतिविधि शून्य छ । महाकाली नदी किनारै किनार लिपुलेकसम्मै भारतले सडक बनाइसकेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.