सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज २५६४औँ बुद्ध जयन्ती


  •    न्युजभित्तो/२५ बैशाख २०७७, बिहीबार ०८:५३ 
  • काठमाडौँ । भगवान् गौतमबुद्धको २५६४ औँ जन्म जयन्ती आज शान्तिको कामना गर्दै मनाइँदैछ । बुद्धजयन्ती प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइन्छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनु भएको योगदानको स्मरणस्वरुप बुद्ध जयन्ती मनाउने गरिएको हो ।

    ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज मनाउन लागिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

    यस वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने जनाइएको छ । आम मानिसलाई बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

    लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजापाठ गरी पर्व मनाउने निर्णय भएको छ । बौद्ध क्षेत्रका सङ्घसंस्थाको बैठकले बौद्ध चैत्यमा यस्तै निर्णय गरेको काठमाडौँ महानगरपालिका–६ का वडा अध्यक्ष दीपेन्द्रकुमार लामाले जानकारी दिनुभयो ।

    इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्षअघि कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कनुभयो ।

    इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतमबुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाउनुभएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि आठ मार्ग हुन् भनी उहाँले ज्ञान बाँड्नुभएको थियो ।

    यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँड्नुभएको थियो । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसापूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण (मृत्यु) प्राप्त गर्नुभयो ।

    विश्व जगत्मा शान्तिका अग्रदूत र एशियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभयो । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ ।

    विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन पशु पक्षिको हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

    विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ ।

    यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एशियाको ज्योति (१८७९)’ तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म (१९५७)’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ (१९२२)’ प्रसिद्ध छन् ।

    यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ (१९५)०, ‘विश्वमा बुद्ध’ (१९०६), फ्रान्सका डा वाल्पोला राहुलको ‘बुद्धको विचार’ (१९५९), इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विश्वका अतिप्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययन हुँदै आएको छ । यसैगरी त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालयलगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए) को अध्ययन अध्यापन गर्दै आएका छन् ।

    बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिनुभयो जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट् अशोकले ई.पू. २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ ।

    तत्कालीन वेस्टर्न कमान्डर जनरल खड्गशम्शेर राणाले शिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखि पुरातत्व विशेषज्ञ डा फुररको सहयोगमा स्तम्भ संरक्षण गरिएको थियो । सन् १९५६ मा चौँथो विश्व बौद्ध मातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.