सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकारमाथि प्रहरीको ज्यादती : चितवन प्रहरी प्रमुखले माफी मागे


  •    न्युजभित्तो/१५ बैशाख २०७७, सोमबार २१:५६ 
  • चितवन । चितवनमा आज पत्रकारमाथि भएको प्रहरी ज्यादतीप्रति चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङले माफी माग्नुभएको छ । पत्रकारहरु विनोदबाबु रिजाल, अर्जुन अधिकारी र प्रमिता ढकाललाई समाचार सङ्कलनको क्रममा आज प्रहरीले दुर्व्यवहार गर्दै गिरफ्तार गरेको थियो । प्रहरीले उहाँहरुका सञ्चार सामग्री नियन्त्रणमा लिनुका साथै पत्रकार रिजाल र अधिकारीको सवारी साधन नियन्त्रणमा लिएको थियो ।

    घटनाको बिरोध जनाउँदै नेपाल पत्रकार महासंघ, चितवनको अगुवाईमा जिल्ला प्रहरी कार्यालयमा डेलिगेशन गएका पत्रकारहरुको टोलीसँग जिल्ला प्रहरी प्रमुख गुरुङले भन्नुभयो– ‘पत्रकारहरुमाथि भएको गैरजिम्मेवारीपूर्ण घटनाप्रति म निशर्त क्षमायाचना गर्दछु ।’ उहाँले अब आइन्दा यस्ता घटना हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो ।

    एसपी गुरुङले पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीलाई कारवाही गरी त्यसको जानकारी गराउने पनि बताउनुभयो ।

    यसअघि पत्रकारहरुले चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई भेटेर घटनाको भर्त्सना गरेका थिए । भट्टराईले घटनाप्रति दुःख व्यक्त गर्दै अब आइन्दा यस्ता घटना हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी भट्टराई र एसपी गुरुङले जनताको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै पत्रकारहरुलाई आवागमनमा अवरोध नपुर्याउने पनि बताउनुभयो ।

    नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष राधेश्याम खतिवडा नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी भट्टराई र एसपी गुरुङलाई भेट गरी घटनाबारे ध्यानाकर्षण गराएको थियो । डेलिगेशनमा महासंघ र पत्रकार सम्बद्ध विभिन्न संघ संगठनका केन्द्र, प्रदेश र जिल्ला तहका नेतृत्व सहभागी हुनुहुन्थ्यो । उहाँहरुले अहिलेको अप्ठेरो अवस्थामा नागरिकलाई सही सूचना प्रवाह गर्न फिल्डमा पुगेका पत्रकारमाथि भएको दुर्व्यवहारको घटनाले संविधान प्रदत्त प्रेस स्वतन्त्रताको उल्लङ्घन गरेको र यसले आफुहरुलाई स्तब्धित बनाएको बताउनुभयो ।

    पत्रकार विनोदबाबु रिजाल र अर्जुन अधिकारीलाई प्रहरीले भरतपुरको चौबिसकोठीमा दुर्व्यवहार गर्दै गिरफ्तार गरेको थियो भने कान्तिपुर दैनिकमा कार्यरत तथा पत्रकार महासंघ चितवनकी कार्यसमिति सदस्य प्रमिता ढकाललाई पत्रकार महासंघको कार्यालय अगाडिबाटै जिल्ला प्रहरी कार्यालयको प्रवेशद्वारमा आफ्ना सवारीसाधन लिन कुरिरहेका विशेषगरी बैंकका कर्मचारी र शिक्षकहरुको भीडको तस्बिर लिँदै गर्दा तस्बिर खिचिरहेको मोबाइलसहित गिरफ्तार गरेर तस्बिर मेटाउन दबाब दिएको थियो ।

    सरकारले बैँक तथा बित्तीय संस्थालाई अत्यावश्यक क्षेत्र भएकोले कार्यालय खोलेर सेवा दिन निर्देशन दिएको थियो भने जिल्ला शिक्षा समिति भरतपुरले एक हप्ताभित्र परीक्षाको नतिजा प्रकाशित गर्न विद्यालयहरुलाई निर्देशन दिएको थियो । प्रहरीले कार्यालय हिँडेका उनीहरुका सवारीसाधन नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको थियो । पछि आफ्ना सवारीसाधन लिन गएका उनीहरुको जिल्ला प्रहरी कार्यालयमा भीड लागेको थियो ।

    प्रमुख जिल्ला अधिकारी भट्टराईले पत्रकारमाथि दुर्व्यवहारको घटनाबारे दुःख व्यक्त गर्दै अब आइन्दा यस्ता दुर्व्यवहार नहुने प्रतिबद्धता जनाएपछि पत्रकारहरु महासंघको कार्यालयमा आएलगत्तै अर्का पत्रकार ढकालले जिल्ला प्रहरी कार्यालयको प्रवेशद्वारको तस्विर खिच्दै गर्दा प्रहरीले उहाँमाथि दुर्व्यवहार र गिरफ्तार गरेको थियो ।

    यसअघि नेपाल पत्रकार महासंघको केन्द्रले प्रेस विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि कारवाही गर्न, पत्रकारको संवैधानिक अधिकारको ख्याल गर्न तथा पत्रकारको सुरक्षामा संवेदनशील बन्न प्रहरी प्रशासनलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो । त्यस्तै नेपाल पत्रकार महासंघ, चितवन, प्रेस सङ्गठन चितवन र प्रेस युनियन चितवनले संयुक्त प्रेस विज्ञप्ति तथा चितवन जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले पनि प्रेस विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गरेका थिए ।

    प्रेस विज्ञप्तिहरु :

    नेपाल पत्रकार महासंघद्वारा जारी प्रेस विज्ञप्ति :

    समाचार संकलनका क्रममा चितवनमा प्रहरीद्वारा पत्रकारहरुलाई गरिएको दुर्व्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रण लिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

    समाचार संकलनका लागि आज विहान १० बजेतिर चितवनको भरतपुरस्थित चौवीसकोटीमा पुगेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेका छन् । पत्रकारद्वयले परिचयपत्र देखाउँदा देखाउँदै प्रहरीले दुर्व्यवहार गर्दै प्रहरीकै गाडीमा राखी भरतपुरको कभर्डहलमा रहेको क्वारेन्टाइनमा लगेर खिचिएको फोटो र भिडियो मेटाउनुका साथै पत्रकारका सवारी साधन र सञ्चार साधनसमेत नियन्त्रणमा लिएका थिए ।

    मुलुक यतिखेर कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणलाई मध्यनजर गर्दै लकडाउनको अवस्थामा छ । यस्तो विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी अग्रपंक्तिमा रहेर नागरिकलाई सुसूचित गराउने पेशागत कर्म निर्वाहमा रहेका पत्रकारलाई सहयोग गर्नुको सट्टा प्रहरीबाट गरिएको यो हर्कत आफैंमा निन्दनीय र खेदजनक काम हो । महासंघ घटनामा संलग्न प्रहरीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक अधिकारको ख्याल गर्न तथा पत्रकारको सुरक्षामा संवेदनशील बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

    यसैगरी नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कार्यसमितिका सदस्य तथा दैलेखस्थित नागरिक दैनिकका सम्वाददाता गोविन्द केसीलाई समाचार लेखेकै कारण दिएको धम्कीको घटनाप्रति पनि नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । नारायण नगरपालिकाको राहत सामग्री खरिदमा अनियमिततासम्बन्धी समाचार केही दिनअघि नागरिक दैनिकमा प्रकाशित भएपछि पत्रकार के.सी.लाई धम्की दिइएको थियो । प्रकाशित समाचारप्रति गुनासो भए कानुनी उपचारका मार्गप्रशस्त हुँदा हुँदै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

    रमेश विष्ट
    महासचिव

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.