सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज १४औँ लोकतन्त्र दिवस, लकडाउनका कारण हुन सकेन औपचारिक कार्यक्रम


  •    न्युजभित्तो/११ बैशाख २०७७, बिहीबार १२:३९ 
  • चितवन । आज वैशाख ११ गते, १४औँ लोकतन्त्र स्थापना दिवस । यस वर्ष कोरोनाभाइरस सङ्क्रमणको जोखिम र लकडाउनका कारण लोकतन्त्र स्थापना दिवस औपचारिक रुपमा मनाउने अवसर मिलेन । यसअघि देशभर विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाउने गरिन्थ्यो । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९जेठ ८ गते विघटित संसद जनआन्दोलन २०६२/०६३ को बलमा २०६३ वैशाख ११ गते पुनः स्थापना गरी बैठकसमेत आह्वान गरेको दिनलाई लोकतन्त्र दिवसको रुपमा मनाईँदै आइएको छ ।

    वि.सं. २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र सङ्घर्षरत तत्कालीन नेकपा (माओवादी) बीच २०६२ मङ्सीर ५ गते १२ बुँदे समझदारी भयो । सोही समझदारी अनुसार २०६२ फागुनदेखि जनआन्दोलन शुरु भयो । त्यस आन्दोलनले चैतको तेस्रो सातादेखि गति लियो । १९ दिने जनआन्दोलन दबाउन राजा ज्ञानेन्द्रले भरमग्दुर प्रयत्न गरे । तर देशमा उर्लिएको जनसागरलाई रोक्न नसक्ने अवस्था भएको कारण उनले आन्दोलनरत दलको माग बमोजिम संसद पुनः स्थापनाको घोषणा गर्न बाध्य भए । २०६३ जेठ ४ गते पुनः स्थापित संसदको पहिलो बैठकले राजदरवारको अधिकार काटौतीसँगै माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्तावसमेत गर्यो ।

    २०६४ चैत २८ गते संविधानसभाको पहिलो निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षको राजसंस्थालाई सदाका लागि विदा गर्ने घोषणा गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न भने सकेन । त्यसैले २०७० मङ्सीर ४ गते संविधानसभाको दोस्रो निर्वाचन भयो । दोस्रो संविधानसभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्यो । यी सवै परिवर्तनको ‘टर्निङ प्वाइन्ट’ भएकोले पनि नेपालको इतिहासमा २०६३ वैशाख ११ को विशेष महत्त्व रहेको छ । वैशाख ११ को लोकतन्त्र दिवस गणतन्त्रको जग पनि हो । त्यसैले यसको छुट्टै महत्त्व भएकोले यस दिनको स्मरण गर्न आवश्यक भएको हो । जनताको बलका सामु कुनै पनि निरङ्कुशता टिक्न सक्दैन भन्ने सन्देश दिने दिनसमेत हो वैशाख ११ ।

    परिवर्तनको श्रृङ्खला केलाउँदा ६ दशकको बीचमा नेपालमा निकै पटकका आन्दोलन र राजनीतिक उथलपुथल भएका छन् । १०४ वर्षीय राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापना, २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट प्रजातन्त्रको हरण गरी निरङ्कुश पञ्चायती व्यवस्थाको शुरुवात, २०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापना र त्यसबीचका राजनीतिक घटनाक्रम, २०५२ सालदेखि शुरु भएको माओवादी सशस्त्र युद्ध, २०६३ को परिवर्तन, २०६४ र २०७० मा भएका संविधानसभा निर्वाचन, राजतन्त्रको विदाई र गणतन्त्रको घोषणा एवम् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरिनु विश्वकै ध्यानाकर्षण गर्ने राजनीतिक घटनाक्रम थिए । यति धेरै उलटपुलट र घटनाक्रमका बीचमा अन्य धेरै सम्झनु पर्ने सहायक घटनाक्रम पनि छन् ।

    जहाँनिया राणा शासनको अन्त्य गरी २००७ सालमा प्रजातन्त्र स्थापनादेखि २०६३ सालमा लोकतन्त्र स्थापनासम्मको राजनीतिक परिवर्तनका यात्रामा सयौँ नेपाली जनताले बलिदानी दिएका छन् । जनताको बलिदानीले मात्र नेपालमा यत्तिका परिवर्तन सम्भव भएको हो । तर पछिल्लो समय राजनीतिक नेतृत्वले जनताको बलिदानी विर्संदै गएको जनगुनासो बढ्न थालेको छ ।

    देशबाट निरङ्कुश राजतन्त्रलाई विदाई गरी गणतन्त्र स्थापना भएको पनि १२ वर्ष भइसकेको छ । यतिबेला देशमा स्थायी सरकार पनि छ । राजनीतिक परिवर्तनको भावनाअनुसार देशमा अहिले तीन तहका सरकार छन् । सात सय ६१ वटा सरकार । सयौँ नेपाली जनताको बलिदानको जगमा उभिएको शासन व्यवस्थाका सारथीहरुले यसको मर्मलाई आत्मसात गर्नैपर्छ । मन मष्तिष्कभरि समृद्ध नेपालको सपना बुनेर बसेका नेपाली जनतालाई अरु कुनै कुराले शान्त पार्न सक्ने छैन, मात्र समृद्ध नेपालको निर्माण बाहेक । नेपाली जनताले एउटा राजाको सट्टा अरु सयौँ राजा खोजेका होइनन् समृद्ध नेपालका रचनाकार खोजेका हुन्, जनताका सच्चा सेवक खोजेका हुन् । यो तथ्यलाई मनन् गरेमा मात्र लोकतन्त्र प्राप्तिका लागि जनताले बगाएको रगतको सम्मान हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.