सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिकित्सक, स्वास्थ्यकर्मी चिया पिएर समय बिताउँदै, बिरामी उपचार नपाएर फर्किदै


  •    न्युजभित्तो/१० बैशाख २०७७, बुधबार १९:१९ 
  • नारायण अधिकारी
    चितवन । गतवर्ष यतिबेला भरतपुर अस्पतालमा दैनिक दुई हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउँथे । यस वर्ष लकडाउनसँगै बहिरङ्ग सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामी फर्कन बाध्य भएका छन् ।

    सामान्य समस्या भएका र पहुँच पुर्याउनेहरुले टेलिफोन संवादबाट डाक्टरसँग परामर्श लिने र निजी अस्पताल र क्लिनिकमा चिकित्सक भेट्ने गरेका भए पनि गरिब असहायहरुले त्यो सुविधा पाउन सकेका छैनन् । अस्पतालसम्म आउन नै आफूसँग भएको रकम सकिने बिरामी सरकारी अस्पताल आउने गर्दछन् । अलिअलि बचेको रकम पनि निजीमा जानुपर्ने भएपछि औषधि किन्नसमेत उनीहरुले पाएका छैनन् ।

    पहिले भरतपुर अस्पतालमा शल्यक्रिया गरेकामा समस्या भएपछि भरतपुर अस्पताल गएकी गोर्खाकी सरस्वती अधिकारीले उपचार नपाएर फर्कनुपरेको बताउनुभयो । बीमा पनि भएको र उपचार सस्तो हुने भएपछि भरतपुर अस्पताल गए पनि यहाँ अहिले हुँदैन भनेपछि फर्किएको उहाँको भनाइ छ । सरकारी अस्पतालबाट फर्किएका बिरामी निजी मेडिकल कलेज र निजी अस्पतालमा बहिरङ्ग सेवामा जान बाध्य भएका छन् ।

    अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी सबै अस्पतालमा हुन्छन् । उनीहरु चिया पिएर समय बिताउँछन् तर बिरामी उपचार नपाएर फर्किरहेका छन् । यही मौकामा निजीले बहिरङ्ग सेवा सञ्चालन गरेका छन् ।

    भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले हाल आकस्मिक कक्ष र ज्वरो क्लिनिक मात्र सञ्चालन भएको बताउनुभयो । बल्लतल्ल सवारी खोजेर आएका बिरामी अस्पताल आएर पुनः फर्कनुपर्दा पीडा भएको उहाँले बताउनुभयो । भरतपुर अस्पतालले सबै चिकित्सकको नम्बर सार्वजनिक गरेको छ । ती अधिकांश चिकित्सकको निजी अस्पताल र क्लिनिक छन् । उनीहरुले बिरामीलाई त्यहीँ बोलाउने गरेका छन् ।

    मेडिकल सुपरिटेण्डेन्ट डा तिवारी बिरामी फर्किएको स्वीकार्दै भीडभाड हुने भएकाले बहिरङ्ग सेवा सञ्चालन नगरिएको बताउनुभयो । कसरी व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा छलफल गरेर छिटो निर्णय लिने उहाँको भनाइ छ ।

    भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले सेवा पाउने गरेका छन् । कोरोना सङ्क्रमणको उपचारका लागि भरतपुर महानगरपालिकाले स्थापना गरेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल पनि भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारले लेवल एक अर्थात् साधारण लक्षण भएका बिरामी राख्न सोही अस्पताललाई तोकेको छ । लेवल दुई अर्थात् मध्यम र जटिललाई भरतपुर अस्पताल र कडा भएकालाई, त्रिवि शिक्षण अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तोकेको मेडिकल सुपरिटेण्डेन्ट तिवारीले बताउनुभयो ।

    कोरोना सङ्क्रमित तर लक्षण नभएका बिरामीलाई कोरोना अस्पतालमा नराखेर भरतपुर अस्पतालमा राखिएको छ । यस कार्यको त्यहीँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले चर्को विरोध गरिरहेका छन् । निजी अस्पतालमा बिरामी पठाउनका लागि सरकारी दुवै अस्पतालमा कोरोनाका बिरामी राखिएको आरोप लाग्ने गरेको छ ।

    नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले सरकारी दुवै अस्पतालमा कोरोनाका बिरामी राखेर बहिरङ्ग विभागसमेत बन्द गरेर निजीसँग सरकारी अस्पतालको व्यवस्थापन मिलेको आरोप लगाउनुभयो । तत्काल कोरोनाका बिरामी कोरोना अस्पतालमा राखेर भरतपुर अस्पतालबाट सर्वसाधारण जनतालाई सुरक्षित उपचार दिनुपर्ने उहाँको भनाइ छ ।

    भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले केन्द्रको निर्देशनानुसार बहिरङ्ग सेवा बन्द भएको भन्दै लकडाउन खुलेपछि स्वतः शुरु हुने बताउनुभयो । उहाँले हाल अस्पतालमा कोरोना सङ्क्रमण भएका बिरामीले कोरोना अस्पतालमा बस्न नमानेपछि भरतपुर अस्पतालमा ल्याउन बाध्य भएको बताउनुभयो । कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारेमा छलफल भइरहेको उहाँको भनाइ छ ।

    भरतपुर अस्पतालले वार्षिकरूपमा तीन लाखभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । अस्पतालमा हरेक वर्ष १४ हजार हाराहारीले प्रसुती गराउने गर्दछन् । प्रसूतिगृहपछिको सबैभन्दा बढी सुत्केरी गराउने अस्पताल भरतपुर अस्पताल हो । यो ६ सय श्ययाको केन्द्रीय अस्पताल हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सरकारी अस्पतालले आएका बिरामीलाई फर्काउन नहुने बताउनुभयो । भीडभाड नगरी बिरामीलाई सेवा दिनुपर्ने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.