सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना महामारी : सङ्कट, अवसर वा महासङ्कट ?


  •    न्युजभित्तो/५ बैशाख २०७७, शुक्रबार २१:०६ 
  • मनोज विष्ट
    आज सारा विश्व कोरोनाभाइरस (कोभिड–१९)को माहामारीबाट आक्रान्त बनिरहेको परिप्रेक्ष्यमा हामी नेपाली पनि अन्योल र त्रासको वातावरणमा बाँच्न बाध्य छौँ। संघीय सरकार लगायत सबै तहका सरकारहरुको आफ्नो उपलब्ध साधन श्रोतको आधारमा सम्भव भएसम्मका सबै उपायहरुको अवलम्बनका बाबजुद पनि गरिबी त्यसमाथि अशिक्षाले गाँजेको यस मुलुकमा रोगको त्रास त छँदैछ, भोकको त्रासले झन् थप पीडा दिएको छ। तथापी आजको यो विषम परिस्थितिमा सरकारले चालेका बन्दाबन्दी (लकडाउन) सहितका विविध कार्यक्रमहरुमा तल उल्लेखित केहि सुधार गर्नुपर्ने देखिन्छ।

    १. केन्द्रिय स्तरमा विशेषज्ञ डाक्टरहरुको समिति गठन गरेर त्यसको विकास तल्लो तहसम्म पुर्‍याएर दैनिकजसो अवस्था र व्यवस्थाको बारेमा बुझ्दै सबै स्वास्थ्यकर्मीहरुको हौसला बढाउने काम गर्दै नैतिकबल प्रदान गर्नुपर्ने देखिन्छ।

    २. बिश्वविद्यालयहरु र अन्य छेत्रमा कार्यरत बैज्ञानिक र विज्ञहरुको समिति बनाएर विश्वका अन्य देशका विश्वविद्यालयहरु र रिसर्च सेन्टरहरुले पत्ता लगाएका विधि एवम् पद्धतिको बारे जानकारी लिने र तल्लो निकायसम्म प्रचार प्रसार गर्दै त्यहाँ भएका जनशक्तिहरुलाई उत्साहित बनाउनु पर्ने देखिन्छ।

    ३. राहत वितरणलाई अझ न्यायीक र सुरक्षित बनाउन वडा कार्यालयहरुको नेतृत्वमा प्रत्येक टोल सुधार समितिका सदस्यहरु र सचेत नागरिकहरुमार्फत स्वास्थ्य सुरक्षाको बिधि अवलम्वन गर्दै वास्तविक गरीब र विपन्न वर्गका यथार्थ तथ्याङ्क सङ्कलन गरी उनीहरुकै घर–घरमा नै पुगि सङ्क्रमणबाट बच्ने उपाएहरुको बारे अभिमुखिकरण गर्दै वितरण गर्नुपर्ने देखिन्छ। साथै खानपान, शारीरिक व्यायाम, योगा सम्बन्धि जानकारी गराउँदै सम्भावित सङ्क्रमितहरुलाई पनि चिन्ने र क्वारेन्टाइनमा लाने व्यवस्था पनि यिनै टोलीमार्फत गर्दा अझ सुव्यवस्थित हुन्छ। यसो गर्नाले ती वर्गका मानिसहरुको आत्मविश्वास बढ्छ, जुन रोग प्रतिरोधात्मक क्षमता अभिवद्धिको पहिलो आधार हो।

    ४. सम्पन्न नागरिकहरुलाई राहत सङ्कलनको लागि राष्ट्रिय अभियानकै रुपमा तल्लो निकायसम्म आह्वान गर्दा सामाजिक तथा राष्ट्रिय भावनाको विकास हुन्छ।

    ५. कसरी सुरक्षित भएर कृषि पेशालाई अगाडि बढाउने र स्थानीय वा बाह्य बजार व्यवस्थापन गर्ने भन्ने विषयहरुको जानकारी गराउन विज्ञ र प्राविधिक टोली खटाउनु पर्ने देखिन्छ। यसो गर्नाले भर्खर बामे सर्न खोजेको केहि हदसम्मको व्यावसायिक कृषिलाई केहि भएपनि ढाडस पुग्दछ ।

    ६. टोल टोलमा सुरक्षित स्वास्थ्य विधि अपनाएर खाद्यान्न, औषधि, मलबिउ वितरण वा बेचबिखन प्रणाली विकास गर्नुपर्ने र स्वास्थ्य उपचार घुम्ती टोलिको व्यवस्था गर्नुपर्ने देखिन्छ।

    ७. अलपत्र परेका मजदुर तथा अन्यहरुलाई घरसम्म जाने बैकल्पिक व्यवस्था गर्नुपर्ने वा सुरक्षित स्थानमा खानेबस्ने सुविधा सहित अस्थायी बसोबास केन्द्र बनाउने वा होटलहरुमा व्यवस्था गर्नुपर्ने देखिन्छ।

    आज यो महामारीको पीबाट गुज्रिरहँदा पनि सम्पूर्ण मानव जाती यो सङ्क्रमणलाई अवश्य जितिन्छ भन्ने कुरामा विश्वस्त छन्। किनभने हिजो इतिहासमा पनि यो भन्दा भयङ्कर महामारीहरुलाई मानव सभ्यताले जितिसकेको प्रमाणहरु प्रशस्तै छन्। तर यो महमारीपछि आउने आर्थिक सङ्कट, बेरोजगारी र मन्दीको कारण जनमानसमा व्याप्त हुने हतासपन अझै ठूलो विपत्ति बनेर आउने कुरा लगभग निश्चितै छ।

    त्यसैले आज यो महामारीको विरुद्ध लड्दै गर्दा भोलिको सम्भावित आर्थिक सङ्कट, मन्दी र बेरोजगारी समस्यालाई आज नै आँकलन गरेर राज्यले आवश्यक कार्ययोजना बनाएर कसरी सफल कार्यान्वयनमा जान सकिन्छ भनेर अगाडि बढ्नु नै बुद्धिमानी देखिन्छ। किनभने आजको आवश्यकता भनेको सङ्कटलाई सभ्यता र संस्कार जडित विकासको पूर्वाधार तयार गरी आत्मनिर्भरतातर्फको यात्रा तय गर्ने अवसरमा बदल्न सकिएन भने यसले महासङ्कटको रुप धारण गर्छ, जसबाट कोहिपनि बच्न सक्दैन। त्यसैले कोरोना महामारी नियन्त्रणपछि देशलाई कसरी आत्मनिर्भरताको बाटोमा डोर्‍याउन सकिन्छ भनेर केहि सुझावहरु राखिएको छ, जुन पूर्ण नहुन पनि सक्छ। त्यसैले यसमा थप सुधारको अपेक्षा पनि गरिन्छ।

    १. कानुनी राज्य : कानुनी राज्यको स्थापना बिना देशको समुचित र समानुपातिक विकासको परिकल्पनासम्म गर्न सकिदैन। त्यसैले वर्तमान सरकारका नेतृत्व प्रधानमन्त्रीले भ्रष्टाचार, दण्डहीनता, ढिलासुस्ती र अकर्मण्यता विरुद्ध दृढ सङ्कल्पित भएर कत्तिपनी ढिलो र आनाकानी नगरी आँखा चिम्लिएर यो वा त्यो नभनी कानुनी कारवाहीमा उत्रन जरुरी छ।

    २. आर्थिक व्यवस्थापन : अबको समय आर्थिक पक्षबाट जटिल देखिन्छ। तथापी हामीसङ्ग प्रशस्त श्रोतका सम्भावनाहरु छन्। पहिलो त राज्य को सँग कति कालो धन छ भन्नेबारे बेखबर छैन। यो कालो धनलाई भकारीमा राखेको धान जसरी अब झिक्न जरुरी छ। दोस्रो, बैधानिक राष्ट्रिय पूँजीपतिहरुलाई लगानीको लागि आह्वान गर्नुपर्दछ। तेस्रो, आर्थिक अवस्था राम्रा भएका तल्लो निकायसम्मका आम जनतालाई आह्वान पनि गर्नुपर्दछ। चौथो, ज–जसले विदेशी बैंकमा पैसा राखेका छन् त्यो पैसा स्वदेश ल्याउनु पर्छ । पाँचौँ, करको दायरा ठूलो बनाउने र यथार्थ घरभाडा कर घरधनीहरुबाटै उठाउनु पर्छ। बरु करको दर घटाउन पनि सकिन्छ।

    ३. कृषिको प्राथमिकिकरण : निर्वाहमुखी परम्परागत कृषि प्रणालीलाई व्यवसायिकरण र विस्तृतिकरण गर्नु आजको पहिलो आवश्यकता हो। हावापानी अनुसार औषधिजन्य जडिबुटी, खाद्यान्न र नगदे बालीहरुको खेती प्राङ्गारिक बिधिबाट जग्गाको चक्लाबन्दी गरी कम्पनी बनाएर गर्न जरुरी छ। साथै पशुपालन पनि सोहि अनुसार गर्नुपर्ने देखिन्छ। कृषि प्रविधि, प्राविधिक र विज्ञहरुको परिचालन यथोचित हुनुपर्दछ। निश्चित उद्धेश्य पूरा नगर्नेलाई तत्काल कारवाहीमा ल्याउने कानुनी व्यवस्था गर्नुपर्दछ। मूल्य निर्धारण र बजार व्यवस्थापनको जिम्मा स्थानीय सरकारले गर्नुपर्दछ । खेतीयोग्य जग्गा मालपोतको लालपूर्जा र नक्सामा मात्र जग्गाधनिको नाममा रहने व्यवस्था गर्नुपर्छ।

    ४. उद्योगधन्दा स्थापना र सञ्चालन : देशमा उपलब्ध कृषि उत्पादन, जडिबुटी, खानी, बन, पर्यटन र जलमा आधारित घरेलुदेखि मझौला र ठूला नयाँ उद्योगहरु समानुपातिक ढङ्गले देशभर स्थापना गर्दै पुराना बन्द भएका उद्योगहरुलाई पनि तुरुन्त पुनः सञ्चालनमा ल्याउनु पर्दछ। यसरी उद्योगहरु खोल्दा कालो धन लगानी भएको छ भने धनवालालाई खुद मुनाफाको ३० प्रतिशत, त्यहाँ काम गर्ने मजदुर कर्मचारीलाई ४० प्रतिशत, कच्चापदार्थ उत्पादनकर्तालाई २० प्रतिशत, र अन्वेषणलाई १० प्रतिशत छुट्टाउँदा राम्रो हुन्छ। यस्तैगरी अरु उद्योगहरुको हकमा पनि उचित व्यवस्था गर्न सकिन्छ। यी उद्योगहरु सञ्चालनको लागि निश्चित उद्धेश्य दिएर पूरा गर्न नसके तुरुन्त कानुनी कारवाही गर्ने व्यवस्था गरी समिति बनाएर सञ्चालन गर्न सकिन्छ।

    ५. भूमिहीन र विपन्न वर्गको व्यवस्थापन : भूमिहीन र विपन्न वर्गका जनताको शिक्षा र स्वास्थ्यको व्यवस्थासहित केहि किस्ता रकम तिर्नेगरी एकीकृत बसोबासको व्यवस्था उद्योग वा चक्लाबन्दी गरिएको कृषि योग्य जमिनको नजिक गर्नुपर्दछ। ता कि उनीहरुलाई रोजगार बनाउन सकियोस्।

    ६. शिक्षा : शिक्षालाई समाज, सामाजिक न्याय, राष्ट्रियता, इतिहास, अन्वेषण, कानुनी राज्यको स्थापना, स्वास्थ्य, पर्यावरण र क्षमता पहिचानसँग जोडेर सभ्यताको कडी बनाउन विशेष समिति बनाएर प्राथमिक तहदेखि उच्च शिक्षासम्म नै नयाँ पाठ्यक्रम बनाउनु पर्छ। जसले विद्यार्थीहरुलाई आत्मविश्वासी बनाउँदै समाज रुपान्तरणसँग जोड्न सकोस्।

    ७. स्वास्थ्य : प्रथमतः जनताहरुलाई हावापानी र धरातलीय यथार्थको आधारमा स्वस्थ जीवन जिउने कला सिकाउनको लागि जनस्वास्थ्य विभागलाई क्रियाशिल बनाएर यसको संयन्त्र गाउँगाउँमा पुर्‍याउनु पर्दछ। दोस्रो कुरा उपलब्ध हस्पिटलहरुलाई साधन स्रोतले सम्पन्न बनाएर बिशिष्टीकरण गर्नुपर्दछ।

    ८. अन्वेषण : विश्वविद्यालयहरु र विभिन्न अन्वेषण केन्द्रहरुलाई थप साधन स्रोतले सम्पन्न बनाएर हाम्रो प्राकृतिक स्रोतहरु एवम् कृषि र कृषि उत्पादनहरुको प्रयोजन सम्बन्धि अन्वेषण गर्न लगाउनु पर्ने देखिन्छ। साथै उच्च शिक्षा हासिल गर्दै गरेका विद्यार्थीहरुलाई हाम्रो प्रशासनिक निकायहरुको कामकारबाहीहरु बारे अध्ययन गरी रिपोर्ट तयार गर्ने र सम्बन्धित निकायमा पेश गरी छलफल गर्ने दिशातर्फ पनि लगाउनु पर्दछ।

    ९. तालिम र सीप विकास : गरीब तथा विपन्न परिवारका र विदेशबाट फर्किएका युवाहरुलाई आत्मविश्वास भर्दै हाम्रो आफ्नो परिप्रेक्ष्यमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न देशव्यापी तालीमको व्यवस्था गरी अनिवार्य देशमा नै बसी काम गर्नुपर्ने बाध्यकारी अवस्था बनाउनु पर्दछ।

    १०. सीमा सुरक्षा : विशेषगरी दक्षिणपट्टीको सिमामा कम्तिमा पनि सीमा सुरक्षा बल गठन गरी निश्चित प्रभावकारी दुरीमा पोस्टहरु राखेर अनावश्यक घुसपैठ, चोरी र मिचाहा प्रवृत्तिलाई रोक्नुपर्दछ।

    यो सबै कामको लागि क्षेत्रगत बिज्ञ, विषयगग्त बिज्ञ, प्राविधिक र सचेत नागरिक अगुवाहरुको संयन्त्र गठन गरी त्यसलाई राज्यको तल्लो निकाय (टोल सुधार समिति) सम्म पुर्‍याउनु पर्दछ। तर यसमा अझै अपुग लागेमा बृहत् बहस र छलफलबाट अन्य विषयवस्तु र कार्ययोजनाहरु समावेश गर्न सकिन्छ। किनभने प्रजातन्त्रको वास्तविक परिभाषा जनताद्वारा, जनताको लागि जनताको सरकारको मूल मर्मको मूर्तिकरण नै समाजवादतर्फको यात्रा हो। कारण, पैसाभन्दा पहिला जनशक्ति, प्राकृतिक स्रोत, साधन, मान्छेको चेतना, सोच्ने शैली, इच्छाशक्ति र समर्पण भाव नै हो।

    त्यसैले वर्तमान प्रधानमन्त्री लगायत सम्पूर्ण राजनीतिक नेतृत्वले विश्वविद्यालयका प्रयोगशालाहरु र जनताको विशाल परिचालनबाट आजको मानव सभ्यता र भौतिक विकास जन्मिएको हो भनेर पहिला विश्वास गर्न सक्नुपर्‍यो। त्यसैगरी विद्वानहरु र सचेत नागरिक अगुवाहरुले पनि कथित व्यक्तिगत, पारिवारिक र दलिय स्वार्थभन्दा माथि उठेर विद्धता र यसको प्रयोग नै मानवताका लागि सर्वश्रेष्ठ हुन्छ भनेर आत्मसात गर्न सक्नुपर्छ। त्यसैले आवश्यक परे सम्पूर्ण विद्धानहरु दल र आफ्ना सबै मनोगत भावनाहरु त्यागेर मानवताको लागि एकठाउँमा उभिने हिम्मत गर्नुपर्छ, सकिएन भने त छँदैछ महासङ्कट ! अनि रोइलो !

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो
    • अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’!

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.