सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आउने दुई साता थप चुनौतीपूर्ण हुन सक्छन्, संक्रमण फैलिन नदिन सारा प्रयास केन्द्रित गरिने छ : प्रधानमन्त्री


  •    न्युजभित्तो/२५ चैत्र २०७६, मंगलवार १२:५८ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोभिड–१९ संक्रमणको सन्दर्भमा आउने दुई साता हाम्रा लागि थप चुनौतीपूर्ण हुन सक्ने भएकाले सचेत र सतर्क रहन आह्वान गर्नुभएको छ । “आउने दुई साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिने छ” उहाँले भन्नुभयो ।

    प्रधानमन्त्रीले सचेत गराउँदै भन्नुभयो– “देशमा सङ्क्रमणको पहिलो केस पहिचान भएदेखि यता तपाईं हाम्रो साझा प्रयत्नले संक्रमितहरुको संख्या ९ जनामा मात्र सीमित गर्न सकिएता पनि हामी अझै पनि उच्च जोखिममा छौंँ ।”

    प्रधानमन्त्री ओलीले यसै हप्ताबाट प्रयोगमा ल्याइएको र्यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास गरिएको भन्दै यस परीक्षण मार्फत् संभावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भएरनभएको सुनिश्चित गरिने बताउनुभयो ।

    सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभयो– “समुदाय स्तरको परीक्षणको लागि उच्चस्तरीय निर्देशक समिति र सिसिएमसीले संभावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको छ । थप सुनिश्चितताको लागि क्वारेण्टाइनमा तोकिएको अवधि पूरा गरेकाहरुको समेत परीक्षण गरिने छ । यसका लागि यहाँहरुको पूर्ण सहयोगको अपेक्षा गरेका छौँ ।”

    महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको र यतिबेला ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा रहेका उहाँले जानकारी दिनुभयो । ३ हजार २ सय ५९ जना राख्न सक्ने क्षमताको आइसोलेशन वेड तयार गरिएको र हाल त्यहाँ ९५ जना उपचारत रहेका बताउँदै उहाँले सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको उल्लेख गर्नुभयो ।

    सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रूत परीक्षण (र्यापिड डिटेक्सन टेस्ट–आरडिटी) विधि मार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको प्रधानमन्त्री ओलीले बताउनुभयो । सातै प्रदेशमा उपचारमा आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिएको र भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै गरिएको पनि उहाँले सम्बोधनको क्रममा जानकारी गराउनुभयो ।

    यसबीचमा हजारौँको संख्यामा नेपालीहरु घर फर्किएका र उनीहरुमध्ये कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धहरुलाई ध्यान नदिएकोले चिन्ता थपिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो– “उहाँहरुलाई पुनः आग्रह छ– स्वघोषणा गरेर जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा जानुहोस् । तपाइँहरुको लापर्बाही स्वयं तपाइँको परिवार र सिङ्गो समुदायका लागि निकै महङ्गो पर्न सक्छ ।”

    सङ्क्रमणको जोखिमलाई न्यून गर्न अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो– “भारत सरकारसँग समन्वय गरी सीमाको पारीपट्टि रहनु भएका २ हजार १ सय ४७ नेपालीहरुलाई उतै क्वारेण्टाइनमा राखिएको छ । सीमाको वारीपट्टि रहेका करिब ७०० भारतीय नागरिकहरुलाई हामीले क्वारेण्टाइनमा राखेका छौं । लकडाउनलाई प्रभावकारी बनाउन र संभावित संक्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उचित उपाय अपनाएको हो भन्ने सबै देशबासीले महसुस गर्नु नै भएको छ । निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरुलाई देशभित्र भित्र्याइने छ ।”

    सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहन आग्रह गर्दै उहाँले सङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त गर्नुभएको छ । महामारीको बेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै पर्नु नपरोस् भनेर सरकारले स्थानीय तहहरुको संयोजनमा राहत वितरण गरिरहेको उहाँले बताउनुभयो ।

    सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले सङ्कटको बेलामा पनि र सङ्कटपछि पनि सरकार नागरिकहरुसँगै रहेर नेपालको आर्थिक विकासलाई गति दिन क्रियाशील हुने उल्लेख गर्नुभयो । नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन नसक्ने उल्लेख गर्दै उहाँले “सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो” भन्नुभयो ।

    कहिँ कतै भ्रष्टाचार देखिएमा निर्ममतापूर्वक कारवाही गरिने दृढता पनि उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो– “मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
    देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    • अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    • सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.