सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सङ्क्रमितको सम्पर्कमा रहेका बाग्लुङका १४ र धनगढीका सात जनामा सङ्क्रमण पाइएन


  •    न्युजभित्तो/२३ चैत्र २०७६, आईतवार १३:३५ 
  • पोखरा । गण्डकी प्रदेशको बागलुङमा दुई जना कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमित भेटिएपछि कन्ट्रयाक ट्रेसिङ गरी पठाइएको १४ जनाको स्वाब परीक्षमा सबैमा संक्रमण नभएको पाइएको छ । सङ्क्रमित व्यक्तिबाट थप संक्रमण फैलिन नदिन सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेकाको स्वाब परीक्षण गरिएको र त्यसमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

    चैत ४ गते कतार एयरवेजको विमानबाट बेल्जियमबाट आएकी एक युवती र एक महिलालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनीहरुसँगको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब परीक्षण गरिएको थियो । बागलुङ नगरपालिका वडा नम्वर ४ कुडुलेकी युवतीको घर परिवार र सम्पर्कमा आएका १० जनाको स्वाब काठमाडौं पठाइएको र बागलुङ नगरपालिका वडा नम्वर ३ गौडाकोटकी महिलाको परिवारका चार जनाको स्वाब गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको ल्याबमा नयाँ जडित मेसिनबाट परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोदविन्दु शर्माले बताउनुभयो ।

    उहाँले गण्डकी प्रदेशमा अहिले दुईवटा स्वाब परीक्षण मेसिन रहेको र प्राप्त नमूनाहरू दुईवटा मेसिनमा दोहोर्याएर परीक्षण गर्दा पनि दुबैमा नेगेटिभ आएको बताउनुभयो । निर्देशनालयको ल्याबमा परीक्षण भएका केही नमुना क्रस चेकका लागि काठमाडौं केन्द्रीय स्वास्थ्य प्रयोगशालमा पठाइएको र ती रिपोर्ट सही आएको हुँदा यहाँबाट गरिएको परीक्षण रिपोर्ट फरक नपर्ने उहाँले बताउनुभयो ।

    कोरोना भाइरसबाट सङ्क्रमित दुवै जना विदेशबाट आएको र उनीहरुबाट अन्यमा कोरोना भाइरसको संक्रमण भएको नदेखिएको निर्देशनालयको भनाई छ । कोरोना भाइरस संक्रमित दुवैजना बेल्जियमबाट कतार हुँदै काठमाडौँ, काठमाडौंबाट पोखरा र पोखराबाट बागलुङसम्म एकसाथ आएका थिए । उनीहरुलाई लिएर काठमाडौंबाट बागलुङसम्म आएका एक पुरुषको रिपोर्टपनि नेगेटिभ आएको थियो ।

    केही दिन अगाडिसम्म स्वाब संकलन गरी काठमाडौं पठाउनु पर्नेमा गण्डकी प्रदेशमै प्रयोगशाला सञ्चालनमा आएपछि स्वाब परीक्षणमा सहज भएको निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो । अहिलेसम्म गण्डकी प्रदेशबाट ७५ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्य २८ जनाको गण्डकी प्रदेशमै स्थापना भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । २८ जनामा पनि १८ वटा नमुना क्रस चेकका लागि काठमाडौं पठाइएको थियो ।

    बागलुङमा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको र उनीहरुलाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा राखेर उपचार गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक भेन्टिलेटर तथा आवश्यक अन्य सामग्रीहरु पठाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । केही दिन अगाडि एक थान भेन्टिलेटर पठाइएकोमा पुनः अर्को भेन्टिलेटर अस्पतालमा पठाइएको छ ।

    कोरोना भाइरस संक्रमणको रोकथामसँगै सङ्क्रमित भेटिएपछि गर्नुपर्ने सबै काम तयारी अवस्थामा रहेको जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । नेपालको छैठौ कोरोना भाइरस सङ्क्रमित महिलालाई अस्पताल ल्याउने समयमा एम्बुलेन्स चालक भागेपछि आफ्नै गाडीमा कोरोना सङ्क्रमितलाई अस्पतालसम्म ल्याउनुभएका गुरौले स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीहरुलाई सुरक्षित रुपमा उपचार गर्ने व्यवस्थापन सहित काम भइरहेको बताउनुभयो ।

    त्यसैगरी, धनगढीका कोरोना सङ्क्रमित व्यक्तिको परिवारका सात जना सदस्यको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण नभएको पाइएको छ । सङ्क्रमित व्यक्तिका श्रीमती, छोरी, आमा बुबा, दाजु र दाजुका सन्तानहरुको रिपोर्ट नेगेटिभ आएको हो । यो परिवार नौ सदस्यीय रहेको छ । सेती प्रादेशीक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीका अनुसार सङ्क्रमित व्यक्तिको परिवारका आठ र दुई जना नजिकका आफन्त गरी १० जनाको थ्रोट स्वाब नमूना परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।

    परिवारका आठ जनामध्ये सङ्क्रमितका भाउजुको रिपोर्ट हिजो नै आइसकेको छ । ३४ वर्षीया उहाँलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । परिवारका बाँकी सात जना सदस्यको रिपोर्ट भने नेगेटिभ रहेको डा. जोशीले बताउनुभयो । उहाँका अनुसार दुई जना आफन्तको रिपोर्ट आउन बाँकी रहेको छ ।

    सङ्क्रमित व्यक्ति दुबईबाट भारतको दिल्ली हुँदै चैत ७ गते नेपाल फर्किएका थिए । ११ गते सेती प्रादेशीक अस्पतालको आइसोलेशन कक्षमा भर्ना भएका उनको कोरोना पोजेटिभ पुष्टि भएको थ्रोट स्वाब रिपोर्ट चैत १४ गते आएको थियो । दुबईबाट कोरोना सङ्क्रमित भएर आएका ती व्यक्तिबाट नेपालमा पहिलो पटक कोरोना सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको पुष्टि भएको छ । उनबाट उनकी भाउजुमा कोरोना सरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.