सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने


  •    न्युजभित्तो/१३ चैत्र २०७६, बिहीबार १३:२० 
  • चितवन । घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ ।

    कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ । कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार यहाँ सम्पन्न बैठकमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र अन्य अस्पतालमा समेत काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बस्ने घरधनीबाट फरक व्यवहार भएको भन्ने गुनासो आएको जानकारी गराइएको थियो ।

    बैठकमा सहभागी कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार त्यस्तो पाइएमा स्थानीय प्रशासनले कडा कारवाही गर्ने बैठकले निर्णय गरेको छ । उहाँले भन्नुभयो, “कसैलाई समस्या परेमा मलाई फोन गर्न लगाउनुस् भनेर प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ । त्यस्ता घरधनीलाई स्थानीय प्रशासनले कडा कारवाही गर्ने छ ।” अभद्र व्यवहार भोगेका चिकित्सक, स्वास्थ्यकर्मीले कार्यदलका सदस्यलाई गुनासो गरेको बैठकमा जानकारी गराइएको थियो ।

    बैठकले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई अहिले भएको सेवालाई यथावत राख्दै गुणस्तर सुधार गरी बहिरङ्ग सेवा र आइसोलेसनको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । सो अस्पतालमा हाल १० श्ययाको सघन उपचारकक्ष, १० श्ययाको एचडीयु र ५० साधारण श्यया रहेको छ । कार्यदलका प्रवक्ता अधिकारीका अनुसार आवश्यकताअनुसार श्यया थप समेत गर्ने बैठकमा छलफल भएको थियो ।

    कोरोना भाइरसको आशङ्का भई गम्भीर भएका बिरामीलाई जिल्लामा सञ्चालन भइरहेकामध्ये एक अस्पतालको सघन उपचारकक्षमा उपचार गर्ने विषयमा छलफल भएको थियो । अधिकांशले पहिलो चरणमा भरतपुर अस्पतालको सघन उपचारकक्षमा राखेर उपचार गराउनुपर्ने र अस्पताल भरिएपछि चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र निजी अस्पतालका सघन उपचारकक्षमा उपचार गर्दा उपयुक्त हुने सुझाव दिएका थिए ।

    भरतपुर अस्पतालमा रहेको २० श्ययाको सघन उपचारकक्षलाई विस्तार गर्नुपर्ने र त्यस्ता बिरामीको उपचारका लागि चिकित्सक, कर्मचारीको एउटै संयन्त्र बनाउन उपयुक्त हुने सुझाव आएको अधिकारीले जानकारी दिनुभयो ।

    बैठकले कोरोनाको आशङ्का भई गम्भीर रहेका बिरामीलाई भरतपुरसहितका अस्पतालमा उपचारको व्यवस्थापन गर्नका लागि विशेषज्ञ चिकित्सक र अस्पतालका उच्च अधिकारीलाई जिम्मेवारीसमेत दिएको छ । कोरोना उपचारमा प्रत्यक्षरूपमा संलग्न भई क्वारेन्टाइनमा बस्नुपर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि स्थानीय होटलमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमणको आशङ्कामा घरबाटै स्वाब लिनुपर्ने बिरामीका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरिने भएको छ । सुरक्षाकर्मीको सहयोगमा घरमै पुगेर स्वाब लिइने छ ।

    कार्यदलले विभिन्न स्थानबाट माग र खरिद गरेका उच्चस्तरका र सर्जिकल मास्क भरतपुर अस्पताल, निजी मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, निजी अस्पताल, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई आजै वितरण गरेको जनाएको छ । भित्र बिरामीसँग हेलमेल हुनेका लागि एन–९५ र बाहिर काम गर्नेका लागि सर्जिकल मास्क वितरण गरिएको अधिकारीले जानकारी दिनुभयो ।

    बैठकले विभिन्न उपसमिति बनाउन डा अधिकारीलाई जिम्मा दिएको र बाहिरबाट आएका र उच्च जोखिम भएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । बैठकमा कार्यदलका संयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायत सदस्यको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
    • खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
    • पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.