सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली


  •    न्युजभित्तो/२६ जेष्ठ २०८३, मंगलवार ११:३३ 
  • मध्यविन्दु (नवलपरासी), २६ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ पिप्रहरमा सञ्चालित सामुदायिक होमस्टे (घरबास) अहिले केवल पर्यटक बस्ने ठाउँ मात्र बनेको छैन, यसले स्थानीय थारू महिलाको जीवनशैली, आत्मविश्वास र आर्थिक अवस्था नै परिवर्तन गर्न थालेको छ ।

    केही वर्षअघिसम्म घरधन्दा, बालबालिका हेरचाह र खेतीपातीमै सीमित रहने यहाँका महिला अहिले पाहुनाको स्वागतदेखि व्यवस्थापन र सांस्कृतिक कार्यक्रम सञ्चालन सम्ममा अग्रसर देखिन्छन् । नयाँ मानिससँग बोल्न हिच्किचाउने महिला अहिले निर्धक्कसँग आफ्नो गाउँ, संस्कृति र जीवनशैलीबारे जानकारी गराउन सक्ने भएका छन् ।

    पिप्रहर सामुदायिक होमस्टेमा पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । स्थानीय थारू संस्कृति, परम्परागत खानपान, प्राकृतिक वातावरण र ग्रामीण जीवन नजिकबाट अनुभव गर्न चाहने पर्यटक यहाँ पुग्ने गरेका छन् ।

    होमस्टे सञ्चालनको अधिकांश जिम्मेवारी महिलाकै काँधमा छ । पाहुनालाई स्वागत गर्ने, परिकार तयार गर्ने, सांस्कृतिक नृत्य प्रस्तुत गर्ने र सरसफाइ व्यवस्थापनजस्ता काम महिलाले नै सम्हालिरहेका छन् । त्यस्ता कार्यमा पुरुषले सहयोग भए पनि नेतृत्व तहमा भने महिलाकै सक्रियता पाइन्छ ।

    स्थानीय चन्द्रामाया महतो होमस्टे सुरु भएपछि आफ्नो जीवनमा ठूलो परिवर्तन आएको बताउनुहुन्छ । “पहिले खेतीपातीको आम्दानीमै भर पर्नुपथ्र्यो । खर्च धान्न गाह्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले होमस्टेमा पाहुना आउँछन्, सेवा गरेबापत आम्दानी हुन्छ । घरखर्च चलाउन सहज भएको छ ।”

    होमस्टेले महिलालाई आर्थिक रूपमा मात्र होइन सामाजिक रूपमा पनि सशक्त बनाएको स्थानीयको भनाइ छ । परिवार र समाजबाट प्रोत्साहन पाएपछि महिला नेतृत्व तहमा पुग्न सक्षम भएको अनुभव उनीहरूले सुनाउँछन् ।

    पिप्रहरमा आउने पर्यटकका लागि स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्य मुख्य आकर्षण बनेको पिप्रहर सामुदायिक होस्टेका अध्यक्ष सोमनाथ महतोले बताउनुभयो । “यहाँ आउने पाहुनाले गाउँको मौलिक संस्कृति र घरमै बसेजस्तो अनुभव पाउँछन्”, उहाँले भन्नुभयो, “नारायणी नदी आसपासको मध्यवर्ती क्षेत्रमा जिप सफारीमार्फत गैँडा, हरिण, मृग, बँदेल, गोही र विभिन्न चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ ।”

    उहाँका अनुसार जङ्गली जनावरका कारण स्थानीयले भोग्ने समस्या पनि अहिले पर्यटकीय आकर्षणमा बदलिन थालेको छ । गाउँबस्ती नजिक आउने वन्यजन्तु अवलोकन गर्न पर्यटक उत्साहित हुने गरेका छन् । होमस्टेले महिलाको आत्मनिर्भरता र क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याएको देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।

    “पहिले महिला बाहिर बोल्नै डराउनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले पाहुनासँग खुलेर संवाद गर्नुहुन्छ, कार्यक्रम सञ्चालन गर्नुहुन्छ । गाउँकै विकासमा महिलाको भूमिका बढेको छ ।”

    विसं २०७२ मा पाँच घरबाट सुरु गरिएको पिप्रहर सामुदायिक होमस्टे अहिले विस्तार भएर २२ घरमा पुगेको छ । होमस्टेसँगै स्थानीय उत्पादन, थारू परिकार र सांस्कृतिक कार्यक्रमले बजार पाउन थालेको छ ।

    ग्रामीण पर्यटनसँगै महिलाको नेतृत्व र आर्थिक सशक्तीकरणको उदाहरण बनेको पिप्रहर सामुदायिक होमस्टे अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहिचान बन्दै गएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.