सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘विदेश जाने सपना टुटे पनि गोठबाट मिल्यो स्वदेशमै सफलता’


  •    न्युजभित्तो/२५ जेष्ठ २०८३, सोमबार १२:०८ 
  • म्याग्दी, २५ जेठ । म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न आउने ग्राहकको भीड लाग्छ । बेनी–जोमसोम सडकसँगै रहेको उहाँको घरअगाडि बस, जिप, ट्रक र मोटरसाइकल रोकिन्छन् र यात्रुहरू दही तथा दूध किनेर लैजान्छन् ।

    आज सफल भैँसीपालक उद्यमीका रूपमा परिचित ५१ वर्षीय पौडेलले दुई दशकअघि भने वैदेशिक रोजगारीको सपना पछ्याउँदा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको थियो । विसं २०६३ मा अफगानिस्तान जान दलाललाई ऋण खोजेर दिएको रु तीन लाख डुब्यो, उहाँको विदेश जाने सपना पनि अधुरै रह्यो ।

    “पैसा फस्यो, विदेश जाने सपना पनि टुट्यो,” उहाँ सम्झिनुहुन्छ, “त्यसपछि वैदेशिक रोजगारीको सोच त्यागेर भैँसीपालन र तरकारीखेती सुरु गरेँ ।”

    ऋणको भारी र परिवारको जिम्मेवारीका बीच दुईवटा भैँसीबाट सुरु गरेको व्यवसाय हाल व्यवस्थित फार्मको रूप विकास भएको छ । हाल पौडेलको गोठमा आठवटा भैँसी छन् । परिवारका दुई सदस्यसँगै एक जनालाई नियमित रोजगारी दिनुभएको छ ।

    विसं २०७३ मा ‘पौडेल भैँसीपालन फर्म’ स्थापना गरेर सुरु गरिएको व्यवसाय हाल जिल्लाकै सफल उद्यमका रूपमा चिनिन थालेको छ । पौडेलले दुई रोपनी क्षेत्रफलमा तरकारीखेती पनि गरिरहनुभएको छ । भैँसीपालन र तरकारीखेती एकअर्काका पूरक जस्तै भएकाले यसतर्फ लागेको उहाँको भनाइ छ ।
    “गोठबाट निस्कने मल बारीमा प्रयोग हुन्छ भने तरकारीबाट अतिरिक्त आम्दानी भइरहेको छ । तरकारीसँगै खेरजाने पातपङ्गिर भैँसीको आहारमा पनि प्रयो हुन्छ । यसले दुवै व्यवसाय सँगसँगै अगाडि बढाउन सहज भएको छ”, पौडेलले रासससँग भन्नुभयो ।

    हाल उहाँको फार्मबाट दैनिक ५० देखि ६० लिटर दूध उत्पादन हुन्छ । त्यसमध्ये करिब ४० लिटर दूधबाट दही बनाइन्छ भने बाँकी दूध नियमित ग्राहकलाई बिक्री गरिन्छ ।

    “दिउँसो १२–१ बजेसम्म दही सकिन्छ । माग धेरै छ, धान्न गाह्रो भइरहेको छ । काठको ठेकीमा जमाइएको दहीको शुद्धता र परम्परागत स्वादले उपभोक्ताको मन जितेको छ”, पौडेल भन्नुहुन्छ,“एकपटक स्वाद लिएका ग्राहक फेरि फर्केर आउने गरेका छन् । बजारीकरणका लागि प्रचारप्रसार पनि गर्नुपरेको छैन ।”

    उहाँ ग्राहकको मन जितेमा सफलताका लागि अर्को कुनै उपाय गर्नुनपर्ने बताउनुहुन्छ । “ठूलो विज्ञापन केही गरिएको छैन”, पौडेलले भन्नुभयो, “ग्राहकको सन्तुष्टि र सकारात्मक प्रतिक्रियाले नै व्यवसाय विस्तार भएको हो ।”

    बेनी–दरबाङ–मुना–ढोरपाटन सडकमा यात्रा गर्ने यात्रुहरू उहाँका मुख्य ग्राहक हुन् । पहिले दूध बिक्रीका लागि घर–घर पुग्नुपर्ने अवस्था रहे पनि अहिले ग्राहक आफैँ फार्मसम्म पुग्ने गरेका छन् ।

    दूध, दही र तरकारी बिक्रीबाट मासिक रु ५० हजारभन्दा बढी बचत हुने गरेको पौडेल बताउनुहुन्छ । यही आम्दानीबाट वैदेशिक रोजगारीका लागि लिएको ऋण तिर्नुका साथै चार सन्तानलाई स्नातक तहसम्म अध्ययन गराएको उहाँले जानकारी दिनुभयो ।

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गाउँपालिकाको प्राविधिक सहयोगले व्यवसाय विस्तार गर्न सहज भएको उहाँको भनाइ छ । पशुमा रोग लाग्ने जोखिम र बाँदरले तरकारीखेतीमा पु¥याउने क्षति भने अझै चुनौतीका रूपमा रहेका छन् ।

    विदेश जाने सपना अधुरै रहे पनि पौडेलले त्यसलाई निराशाको कारण बन्न दिनुभएन । बरु त्यही असफलतालाई अवसरमा रूपान्तरण गर्दै स्वदेशमै उद्यम गरेर आत्मनिर्भर बन्न सफल हुनुभयो ।

    “सपना विदेशमै खोज्नुपर्छ भन्ने छैन,” उहाँ भन्नुहुन्छ, “मेहनत र धैर्य भए आफ्नै गाउँको गोठबाट पनि सफलता हासिल गर्न सकिन्छ ।”

    एकाउन्न वर्षीय पौडेलको कथा सङ्घर्ष, धैर्य र स्वदेशमै सम्भावना खोज्ने प्रेरणादायी उदाहरण बनेको छ । मङ्गला गाउँपालिका–५ गहतेका खिमलाल आचार्य पौडेलको सफलताले अन्यलाई पनि स्वदेशमै काम गर्न प्रेरणा मिलिरहेको बताउनुहुन्छ ।

    स्थानीय फडिन्द्र शर्मा पनि पनि धैर्यता र लगन भएमा एउटा बाटो रोकिए पनि अन्य थुप्रै अवसर खुल्छ भन्ने उदाहरणका रूपमा पौडेललाई दिने गरिएको बताउनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर कारागारबाट भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
    कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
    सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
    • माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
    • बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    • जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    • बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.