सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिकूल मौसमले प्रभावित बनायो मह उत्पादन


  •    न्युजभित्तो/८ जेष्ठ २०८३, शुक्रबार १७:१३ 
  • दमौली (तनहुँ), ८ जेठ । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका मौरीपालक सुरज वाग्ले यस वर्ष मह उत्पादन घट्ने चिन्तामा हुनुहुन्छ । अघिल्ला वर्षहरूमा यही समयमा मह निकालेर ग्राहकलाई बिक्री गरिसक्ने उहाँ यसपालि भने मौसमकै कारण उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिरहनुभएको छ ।

    वर्षौँदेखि मौरीपालन व्यवसायमा सक्रिय वाग्लेले यस वर्ष जेठमा करिब ३०० किलो मह उत्पादन हुने अपेक्षा गर्नुभएको थियो । तर फागुनदेखि सुरु भएको प्रतिकूल मौसमले मौरीको प्राकृतिक गतिविधिमा असर पुर्याएपछि उत्पादन लक्ष्य निकै घटेको उहाँले बताउनुभयो । अहिलेको अवस्था हेर्दा जेठको अन्त्यसम्म करिब १०० किलो हाराहारीमात्र मह उत्पादन हुनसक्ने उहाँको अनुमान छ ।

    “पोहोरपरार यही समयमा मह निकालेर ग्राहकलाई वितरण गरिसकेका थियौँ”, वाग्लेले भन्नुभयो, “तर यसपालि मौसमले साथ दिएन । फागुन र चैतमा लागेको बाक्लो कुहिरोले मौरीले पर्याप्त मात्रामा फूलबाट रस सङ्कलन गर्न सकेनन् । त्यसपछि वैशाखभरजसो पानी परिरहँदा मौरी घारबाट निस्कनै सकेनन् ।”

    उहाँका अनुसार मौरीपालन व्यवसाय प्रत्यक्ष रूपमा मौसमसँग जोडिएको व्यवसाय हो । मौसम अनुकूल हुँदा मौरीले फूलबाट रस सङ्कलन गरी मह उत्पादन राम्रो गर्छन् । तर लामो समयसम्म कुहिरो लाग्ने, चिसो बढ्ने वा लगातार पानी पर्ने अवस्था आए मौरी निष्क्रियजस्तै हुने र उत्पादन घट्ने समस्या देखिन्छ ।

    यस वर्ष विशेषगरी फागुन र चैतमा असामान्य रूपमा बाक्लो कुहिरो लागेको उहाँले बताउनुभयो । सामान्यतया यस समयमा विभिन्न वनस्पति तथा जङ्गली फूलहरू फुल्ने र मौरी सक्रिय हुने गर्छन् । तर घाम कम लागेका कारण फूलमा पर्याप्त रस विकास हुन नसकेको तथा मौरीको उडान अवधि घटेको वाग्ले बताउनुहुन्छ ।

    त्यसपछि वैशाख महिनाभर परेको लगातार वर्षाले समस्या झन् बढाएको उहाँले बताउनुभयो । मह उत्पादन घटेसँगै बजार व्यवस्थापनमा समेत चुनौती थपिएको वाग्लेको अनुभव छ । दैनिक रूपमा ५० भन्दा बढी ग्राहकले मह कहिले उपलब्ध हुन्छ भनेर सोध्ने गरेको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल र प्रत्यक्ष सम्पर्कमार्फत ग्राहकले महको माग गरिरहेको भए पनि पर्याप्त उत्पादन नहुँदा तत्काल उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ ।

    “धेरै साथीभाइ तथा ग्राहकले जेठ लाग्यो, मह कहिले पाइन्छ भनेर सोधिरहनुभएको छ”, उहाँल भन्नुभयो, “उत्पादन हुनेबित्तिकै जानकारी गराउँछु । तर प्राकृतिक अवस्थाले साथ नदिँदा अपेक्षाअनुसार उत्पादन हुन सकेन ।” वाग्लेले आफूले उत्पादन गर्ने मह शुद्ध र प्राकृतिक भएकाले ग्राहकको विश्वास बढ्दै गएको बताउनुभयो । स्थानीयस्तरमै उत्पादन भएको मह स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बर्सेनि बढ्दै गएको उहाँको भनाइ छ ।

    मौरीपालन व्यवसायलाई कृषिसँग जोडिएको महत्त्वपूर्ण आयआर्जनको माध्यम मानिन्छ । कम लगानीमा सुरु गर्न सकिने यो व्यवसायले ग्रामीण क्षेत्रका धेरै परिवारलाई आर्थिक रूपमा सहयोग पुर्याउँदै आएको छ । साथै मौरीले परागसेचनमार्फत कृषि उत्पादन वृद्धि गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् ।

    वाग्लेले सरकारले मौरीपालन व्यवसायलाई प्रोत्साहन गर्ने नीति ल्याए पनि मौसमजन्य जोखिम न्यूनीकरणतर्फ थप ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो, “मौरीपालन केवल व्यवसायमात्र होइन, वातावरण र कृषि उत्पादनसँग जोडिएको विषय पनि हो”, उहाँले भन्नुभयो, “यसलाई संरक्षण र प्रवर्द्धन गर्न दीर्घकालीन योजना आवश्यक छ ।”

    वाग्लेले विदेशमा गर्ने दुःख स्वदेशमै गरे आम्दानी र सन्तुष्टि मिल्ने आत्मविश्वाससहित मौरीपालन गरिरहनुभएको छ । फूलको रसको मह प्रतिकिलो रु दुई हजार र कटुसको कात्तिके मह प्रतिकिलो रु दुई हजार ५०० मा बिक्री हुँदै आएको उहाँले बताउनुभयो ।

    वाग्लेको घरमा पालिएका मौरी कहिलेकाहीँ घार छाडेर भाग्ने गर्छन् । घरदेखि एक दुई किलोमिटर टाढा पुगेका मौरी वाग्लेले खोजेर ल्याउनुहुन्छ । त्यस्तो बेला उहाँले छातीमा टाँसेर मौरी फिर्ता ल्याउने गर्नुभएको छ । बेलाबेलामा मौरी भाग्ने गरेको पुनः फिर्ता ल्याउने गरेको वाग्ले बताउनुहुन्छ ।

    प्रत्येक वर्ष फागुनदेखि जेठ र मङ्सिरमा मौरी छुट्टिने गर्छ । एउटा घारमा भएका मौरी दुई भाग लाग्छन्, त्यतिबेला मौरी उडेर जाने गरेको वाग्ले बताउनुहुन्छ । “अनि यसरी नै फेरि खोजेर ल्याउँछु, मौरी ल्याउने पनि विभिन्न तरिका हुन्छन्”, वाग्लेले भन्नुभयो ।

    वाग्लेले मौरीको साथसाथै बाख्रापालन पनि गर्नुभएको छ । “कृषि पेसासँग लगाव बसिसकेको छ, आनन्द आउँछ । कतिपयले युवा भएर पनि के काम गरेको यस्तो पनि भन्थे”, उहाँले भन्नुभयो, “तर अहिले मनग्य आम्दानी हुन थालेपछि गाउँलेले पनि राम्रो गरिस् भन्छन् ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रतिकूल मौसमले प्रभावित बनायो मह उत्पादन
    कालीगण्डकी करिडोर: अलपत्र बनेको कोवाङ–जोमसोम सडकको सम्झौता तोडियो
    निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
    • वनमन्त्री चौधरीसँग राजदूत पुजोलको भेटवार्ता
    • घरमै दूध बिक्न थालेपछि किसान उत्साहित
    • ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’
    • बेलायती मन्त्री मल्होत्रा नेपालमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.