सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार


  •    न्युजभित्तो/८ जेष्ठ २०८३, शुक्रबार ११:२६ 
  • सुरुङ्गा (झापा), ८ जेठ । सरकारले सार्वजनिक तथा सरकारी स्वामित्वको जमिन संरक्षण र अभिलेखीकरण अभियान तीव्र बनाइरहेका बेला पूर्वी नेपालका विभिन्न जिल्लामा विद्यालयका नाममा रहेका सयौँ बिघा जमिन अतिक्रमण भएको छ । झापा गाउँपालिकामा विद्यालयको स्वामित्वमा रहेको जग्गामा सिङ्गो बस्ती बसोबास गरिरहेको विवरण सार्वजनिक भएको हो ।

    झापा गाउँपालिका-२ स्थित कुवाडीदेवी माध्यमिक विद्यालयको नाममा रहेको करिब ११ बिघा १७ कट्ठा जमिनमध्ये ठूलो हिस्सामा स्थानीयले घरटहरा निर्माण गरी बसोबास गर्दै आएका छन् । विद्यालय प्रशासनका अनुसार उक्त क्षेत्रमा हाल ६५ परिवार बसोबास गरिरहेका छन् ।

    सङ्घीय सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार सार्वजनिक जग्गाको डिजिटल अभिलेख व्यवस्थित गर्ने प्रक्रिया सुरु भएपछि विद्यालयले आफ्नो नाममा रहेको जग्गाको वास्तविक अवस्था अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गरेको थियो । विद्यालयले सात दिनभित्र आवश्यक कागजात तथा विवरणसहित सम्पर्कमा आउन आग्रह गरे पनि अधिकांश परिवार सम्पर्कमा नआएका कुवाडीदेवी माध्यमिक विद्यालयले जनाएको छ ।

    विद्यालयका प्रधानाध्यापक मुकेशकुमार कर्णका अनुसार सूचना जारी गरेपछि हालसम्म सातदेखि आठ परिवार मात्रै सम्पर्कमा आएका छन् । “जग्गामा बसोबास गरिरहनुभएका धेरैजसो व्यक्तिहरू सम्पर्कमा आउनुभएको छैन”, उहाँले भन्नुभयो, “यसले समस्या समाधानको प्रक्रिया थप जटिल बन्ने देखिएको छ ।”

    विद्यालय प्रशासनका अनुसार हाल विद्यालय व्यवस्थापन समिति गठन नभएकाले तत्काल थप निर्णय लिन कठिन भएको छ । समिति गठन भएपछि पुनः सूचना जारी गरेर आवश्यक प्रक्रिया अघि बढाइने तयारी गरिएको प्रधानाध्यापक कर्णले जानकारी दिनुभयो ।

    पूर्वी नेपालका विभिन्न जिल्लामा विद्यालय तथा क्याम्पसका नाममा रहेको ठूलो क्षेत्रफलको जमिनमा बस्ती बसिसकेको तथ्यसमेत सार्वजनिक भएको छ । पाराखोपी माध्यमिक विद्यालय, आठराई–तेह्रथुमको नाममा रहेको १२० बिघा चार कट्ठा तीन धुर, मेची बहुमुखी क्याम्पस भद्रपुरको १२६ बिघा, करफोक माध्यमिक विद्यालय इलामको ८४ बिघा, आदर्श विद्या मन्दिर घैलाडुब्बाको ८७ बिघा, जनता प्राथमिक विद्यालय शरणामतिको २७ बिघा, महेन्द्र माध्यमिक विद्यालय पन्थापाडाको २७ बिघा तथा डिल्लीराज माध्यमिक विद्यालयको २१ बिघा जमिनमा बसोबास विस्तार भएको झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिनुभयो । 

    स्थानीय तहका जानकारहरूका अनुसार वर्षौंदेखि भूमिहीन तथा विपन्न परिवार सार्वजनिक तथा विद्यालयको जमिनमा बस्दै आएका छन् । प्रारम्भमा अस्थायी रूपमा सुरु भएको बसोबास समयसँगै स्थायी बस्तीमा परिणत भएको स्थानीय बताउँछन् । कतिपय स्थानमा राजनीतिक संरक्षण तथा प्रशासनिक निष्क्रियताका कारण अतिक्रमण नियन्त्रण बाहिर पुगेको स्थानीयको भनाइ छ ।

    सरकारले पछिल्लो समय सार्वजनिक जमिन संरक्षणलाई प्राथमिकतामा राख्दै डिजिटल अभिलेख तयार गर्ने, अतिक्रमण पहिचान गर्ने तथा आवश्यक परे खाली गराउने नीति अघि बढाएको छ । वन क्षेत्र, नदी उकास, गुठी तथा विद्यालयका नाममा रहेका जग्गाको संरक्षणका लागि सम्बन्धित निकायलाई सक्रिय बनाइएको छ ।

    शिक्षासम्बन्धी सरोकार भएका निकायका प्रतिनिधिका अनुसार विद्यालयका नाममा रहेको जमिन अतिक्रमण हुँदा शैक्षिक पूर्वाधार विस्तारमा प्रत्यक्ष असर परेको कावा अध्यक्ष थपलियाले बताउनुभयो । कतिपय विद्यालयले खेलमैदान, भवन तथा अन्य संरचना निर्माण गर्न नसक्ने अवस्था सिर्जना भएको उहाँहरू बताउनुहुन्छ । झापा गाउँपालिकाको पछिल्लो घटनाले सार्वजनिक सम्पत्तिको संरक्षण, भूमिहीन व्यवस्थापन र राज्यको कार्यान्वयन क्षमताबीच सन्तुलन कायम गर्नु चुनौतीपूर्ण बन्दै गएको जानकारहरू बताउँछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.