सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान


  •    न्युजभित्तो/७ जेष्ठ २०८३, बिहीबार १२:१८ 
  • रसुवा, ७ जेठ । हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट भक्तजनहरू पुग्न थालेका छन् ।

    यही जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुने छ । चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् भने यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ ।

    शिवको तपोभूमिः शास्त्रमा वर्णित गोसाइँकुण्ड

    पुराणहरूमा वर्णन भएअनुसार देवता र दानवबीच भएको समुद्र मन्थनबाट निस्किएको घातक कालकूट विषले सम्पूर्ण सृष्टि विनाश हुने अवस्था सिर्जना भएको थियो । सृष्टिको रक्षा गर्न भगवान् शिवले उक्त विष कण्ठमा धारण गर्नुभयो, जसकारण उहाँ नीलकण्ठ नामले प्रसिद्ध हुनुभयो ।

    विषको ताप सहन नसकेपछि भगवान् शिव शीतल स्थानको खोजी गर्दै हिमालय क्षेत्रमा आउनुभएको धार्मिक विश्वास छ । त्रिशूलले हिमालको पहरामा प्रहार गर्दा निस्किएको पवित्र जलबाट बनेको दिव्य कुण्ड नै गोसाइँकुण्ड भएको जनविश्वास रहिआएको छ । यही कारणले यस कुण्डको जललाई पाप नाश गर्ने, मन शुद्ध गर्ने तथा मोक्ष प्रदान गर्ने पवित्र जल मान्नेहरू पनि छन् । 

    धार्मिक मान्यताअनुसार गङ्गादशहरामा स्नान गर्दा दश प्रकारका पाप नाश हुन्छन् । जनैपूर्णिमामा स्नान गर्दा जन्मजन्मान्तरका दोष समाप्त हुने विश्वास छ । जीवनमा एकपटक गोसाइँकुण्ड दर्शन गरे मोक्ष प्राप्त हुने मान्यता रहिआएको छ । कठिन यात्रा, दिव्य अनुभूति, समुन्द्र सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा अवस्थित यो तीर्थ पुग्न श्रद्धा, धैर्य र साहस आवश्यक पर्छ । 

    काठमाडौँबाट बालाजु बसपार्क हुँदै शिवपुरी, छहरे, ढुङ्गे, बेत्रावती, कालिकास्थान पार गरी धुञ्चे पुगेपछि पैदल यात्रा सुरु हुन्छ । धुञ्चेबाट शिवमन्दिर, त्रिशूली नदी किनार, चन्दनबारी (सिङ्गगोम्पा), चोलाङपाटी, लौरीविनायक, गणेश गौंडा हुँदै तेर्सो ककरो भिर पार गरेपछि अन्ततः पवित्र गोसाइँकुण्ड दर्शन हुन्छ ।

    यात्रुहरूको अनुभवअनुसार उकालो चढ्दा सास फेर्न गाह्रो भए पनि कुण्डमा स्नान गरेपछि सम्पूर्ण थकान हराएर नयाँ उमङ्ग प्राप्त हुने अनुभूति मिल्छ ।

    धार्मिक सेवा र यात्रु व्यवस्थापन

    बढ्दो यात्रु चापलाई मध्यनजर गर्दै होटल व्यवसायीहरूले आवश्यक खाद्यान्न ढुवानी गरिसकेका र खान–बस्नको उचित व्यवस्थापन गरिएको होटल व्यवसायी लामाले बताउनुभयो । यही जेठ ९ देखि १२ गतेसम्म कुण्ड क्षेत्रमा विशेष पूजाका लागि पुजारीको व्यवस्था गरिने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो ।

    यात्राका क्रममा समस्या परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले उद्धार सेवा निरन्तर सञ्चालन गर्ने जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिनुभयो । 

    स्वास्थ्य र सुरक्षित यात्रा सुझाव

    लौरीविनायकभन्दा माथि उचाइका कारण लेक लाग्ने सम्भावना रहने भएकाले स्वास्थ्यकर्मीले निम्न सावधानी अपनाउन आग्रह गरेका छन् । धुञ्चेमा एक रात बस्दै शरीरलाई वातावरणसँग मिलाएर जान उपयुक्त हुने स्थानीयले बताएका छन् ।

    अदुवा, कागती, लसुन, बिरेनुन साथमा लैजाने, चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्ने, हतार नगरी बिस्तारै उकालो चढ्ने, पैदल यात्रा गर्न नसक्ने ज्येष्ठ नागरिकका लागि काठमाडौँ विमानस्थलबाट हेलिकोप्टर सेवा पनि उपलब्ध रहेको जनाइएको छ ।

    प्रकृति संरक्षण पनि धर्मकै अङ्ग

    यात्राका क्रममा वन्यजन्तुलाई नतर्साउन, वनस्पति नकाट्न र फोहर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न सबै यात्रुमा अनुरोध गरिएको छ । हिमालयको संरक्षण नै भगवान् शिवप्रतिको सच्चा श्रद्धा भएको धार्मिक तथा वातावरणीय सन्देश रहेकाले सोहीअनुसार आग्रह गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले बताउनुभएको छ ।

    आस्था, प्रकृति र अध्यात्मको सङ्गम

    धार्मिक विद्वानहरूका अनुसार भगवान् शिवले सम्पूर्ण प्राणीजगत्को रक्षा गर्न विषपान गर्नुभएको स्मरणस्वरूप भक्तजनले जीवनमा कम्तीमा एकपटक भए पनि गोसाइँकुण्ड दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ ।

    कठिन हिमाली यात्रा, शुद्ध हिमजल, मन्त्र उच्चारणको गुञ्जन र गहिरो श्रद्धाले भरिएको वातावरणले गोसाइँकुण्डलाई केवल ताल मात्र नभई आत्मशुद्धि, आस्था र अध्यात्मिक जागरणको तीर्थ बनाएको छ । गङ्गादशहराको पावन अवसरसँगै गोसाइँकुण्ड हाल भक्तिभाव, विश्वास र धार्मिक उत्साहले भरिएको पुरोहित उपेन्द्र मिश्रले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.