सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धौलागिरि र ढोरपाटनमा चिरकालिजको सर्वेक्षण


  •    न्युजभित्तो/६ जेष्ठ २०८३, बुधबार १६:३९ 
  • म्याग्दी, ६ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका र बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सर्वेक्षण गरिएको छ ।

    नेपाल पन्छीविद् सङ्घको प्राविधिक टोलीले धौलागिरि गाउँपालिका–१ गुर्जा, ४ बगर र ढोरपाटन नगरपालिकाको बुर्तीवाङ घुसाखानीमा चिरकालिजको स्थलगत सर्वेक्षणका साथै समुदायस्तरमा संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको थियो । सङ्घका अध्यक्ष हथन चौधरी, उपाध्यक्ष मनशान्ता घिमिरे, कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेल, अनुसन्धान अधिकृत विराटराज रजक र सदस्य केशव चोखालको टोलीले स्थानीय समुदायको सहयोगमा बगरदेखि घुसाखानीसम्म सर्वेक्षणको काम गरेको थियो ।

    दातृ निकाय टोलेडोजुको सहयोगमा डिभिजन वन कार्यालय म्याग्दी, बागलुङ र ढोरपाटन शिकार आरक्षसँगको समन्वयमा चिरकालिजको सर्वेक्षण गरिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । चिरकालिजको प्रजनन हुने याम पारेर वासस्थान नजिकैको बगर, गुर्जा र घुसाखानीमा चिरकालिजको सर्वेक्षण गरिएको थियो । चिरकालिजको अनुमानित सङ्ख्यासहितको प्रतिवेदन चाँडै सार्वजनिक गरिने कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।

    सर्वेक्षकले चिरकालिजको आवाज सुनेर बसोबास रहेको पुष्टि र अनुमानित सङ्ख्या पहिचान गर्ने गर्छन् । यसअघि धौलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा चिरकालिजको वासस्थान रहेको भेटिएको थियो । अध्ययनमा सहभागी विराट रजकका अनुसार मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएका थिए ।

    चोरीशिकारी, अनियन्त्रित डढेलो र जलवायु परिवर्तन चिरकालिज संरक्षणका लागि चुनौतीपूर्ण मानिएको छ । चोरीशिकारी बाहेक गुडबाट अण्डा टिप्ने, पासो थाप्ने, चल्ला छोपेर घरमा ल्याएर पाल्न खोज्ने, अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समयमा हुने डढेलोका कारण चिरकालिज लोप हुने अवस्थामा छ ।

    सङ्घले पछिल्लो छ वर्षयता दातृ निकाय ‘टुलेडोज’ुको सहयोगमा म्याग्दीको धौलागिरि गाउँपालिकाको साथै मुस्ताङको घाँसा क्षेत्रको कालीगण्डकी बेसिनमा चिरकालिजको सङ्ख्या पहिचानका लागि अध्ययन र संरक्षणको कार्य गर्दै आएको छ । कालीगण्डकी बेसिनमा हालै भएको अध्ययनका क्रममा १८ जोडी चिरकालिज भेटिएका थिए । धौलागिरि ढोरपाटनपछि सर्वेक्षण टोली मुस्ताङ पुगेको छ । समुद्री सतहदेखि एक हजार ४०० मिटरदेखि तीन हजार ६०० मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ ।

    सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता हुन्छ । वैशाख, जेठ र असार चिरकालिजले अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो । चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ ।

    भिरमा नै वासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्छ । अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम चिरकालिजको वासस्थान हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा यसलाई लोपोन्मुख पन्छीको रूपमा सूचीकृत गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.