सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा बैठक: संसद्मा व्यवस्थित समाचार सङ्कलन कक्ष व्यवस्था गर्न माग


  •    न्युजभित्तो/४ जेष्ठ २०८३, सोमबार १६:०७ 
  • काठमाडौँ, ४ जेठ । संसद्मा समाचार सङ्कलन गर्ने पत्रकारका लागि सहज रुपमा काम गर्ने व्यवस्था गर्न सांसदले माग गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद खगेन्द्र सुनारले संसदीय समाचार सङ्कलनमा खटिएका पत्रकारलाई घाममा बस्नुपर्ने, पानी पिउन नपाउने र शौचालय जाने समेत उचित व्यवस्था नभएकाले सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको हो । 

    संसदीय मामिलामा समाचार सङ्कलन गर्ने पत्रकारका लागि नयाँ संसद् भवनमा स्थान अभाव छ । बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा मिडिया सेन्टरको व्यवस्था भए पनि अहिलेको भवनमा सहज व्यवस्था नभएपछि सांसदले संसद्मै यो विषय उठाएका हुन् । बानेश्वरमा संसद सञ्चालन हुँदा पनि मिडिया सेन्टरमै सुरक्षाकर्मी पनि बस्ने गर्दा हल्लाले समाचार सङ्कलन गर्न  कठिन हुने गरेको थियो । 

    सांसद खेमराज कोइरालाले पशुधन र पशु अधिकारको रक्षा गर्न आगामी वर्ष विशेष बजेट उपलब्ध गराउन माग गर्नुभयो । सांसद गणेश कार्कीले मोरङ क्षेत्र नं ३ को भूमि समस्या समाधान गर्न माग गर्नुभयो । 

    सांसद गणेश धिमालले पर्यटकीय स्थल सिम्रौनगढको विकासका लागि त्यहाँ जाने सडकको मुआब्जा दिएर अलपत्र रहेको सडक निर्माण पूरा गर्न माग गर्नुभयो । सांसद गणेश पराजुलीले चक्रपथको काम लामो समयदेखि अलपत्र भएकाले छिटो काम गराउन माग गर्नुभयो ।

    सांसद गणेश पौडेलले रौतहट क्षेत्र नं ४ मा बाग्मतीको कटानले पुर्जा भएको जग्गाका धनी पनि सुकुमवासी भएको सुनाउँदै ऐलानी जग्गामा बसेकालाई स्थानीय तहले छोड भनी सूचना टाँस गरेर आतङ्कित बनाएको बताउनुभयो । 

    सांसद गणेशबहादुर विश्वकर्माले दासप्रथाको अवशेषका रुपमा रहेका हरुवाचरुवा आदिलाई १०० बुँदे कार्यक्रममा नराखिएकाले अहिले राजधानीमा आइपुगेको बताउनुभयो  । उहाँले उनीहरुको समस्या समाधान गर्न माग गर्नुभयो ।

    सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल निर्माण गर्न माग गर्नुभयो । दार्चुलामा टावर जडानमा ढिलाइ भएकाले छिटो सञ्चार सेवा उपलब्ध गराउन उहाँले माग गर्नुभयो । 

    सांसद गीता गुरुङले विद्यार्थी राजनीति अराजकता हो भने छानबिन सांसदहरुबाट नै सुरु गर्न र सत्तारूढ दलका नेतामाथि पनि उठेको प्रश्नको छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । 

    सांसद गीताकुमारी सेन्दाङले आगामी वर्षको बजेट भुइँमान्छेलाई पनि छुने गरी ल्याउनुपर्ने माग गर्नुभयो । सांसद गोपाल शर्माले मध्यपहाडी लोकमार्गको रुकुम पश्चिम क्षेत्रका केही पुल अलपत्र भएकाले समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

    सांसद गोविन्द पन्थीले बेरोजगार युवा रोजगारीका लागि विदेश गएर काम गर्दा विभिन्न खालका असहज अवस्थामा पर्दा त्यहाँस्थित नेपाली राजदूतावास मुकदर्शक बनेको बताउनुभयो । वैदेशिक रोजगारीमा गएर पीडित भई कानुनबमोजिम तोकिएको रकम प्राप्त गर्न पीडितले कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गर्नुभयो ।   

    सांसद गङ्गा छन्त्यालले अपाङ्गता भएका दीपक भण्डारीले सामाजिक सञ्जालमार्फत इच्छा मृत्युको माग गरेकाले त्यस्तो किन आयो भनी छानबिन गरेर समस्या समाधान गर्न माग गर्नुभयो । सांसद गङ्गादेवी श्रेष्ठले प्रधामन्त्रीले काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा राखेको ग्रेटर नेपालको नक्सा कता गयो भनी प्रश्न गर्नुभएको थियो । मुस्ताङको युरेनियम खानी कसैलाई दिएको भनी सार्वजनिक भएकाले के हो भनी त्यसको वास्तविकता जनसमक्ष ल्याउनुपर्नेमा जोड दिनुभयो । सरकारमा रहेका मन्त्रीहरुले सार्वजनिक गर्नुभएको सम्पत्तिमा उल्लेख गरिएका सुनको बिल सार्वजनिक गर्न पनि सांसद श्रेष्ठले माग गर्नुभएको थियो । 

    सांसद चन्दनकुमार सिंहले कृषि प्रधान देश भनिए पनि किसान सिँचाइ, मल र बीउबाट पीडित भएको, खेतीमा भविष्य नदेखेर युवा विदेशिएकाले कृषिमा आवश्यक व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कमल सुवेदीले दाङको टरिगाउँ विमानस्थल उपेक्षामा परेको बताउनुहुँदै त्यस क्षेत्रका सडक पनि दयनीय अवस्थामा रहेर दुर्घटना बढेकाले सडक बनाउन पर्याप्त बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।

    सांसद कुलभक्त शाक्यले काठमाडौँको सामाखुसी, रानीबारी क्षेत्रमा चार मिटरको मापदण्डका नाममा सरकारले डोजर लगाएर हटाउन खोजेकाले ज्येष्ठ नागरिकको पनि बिचल्ली भएको बताउँदै भूमिहीन सुकुमवासीका समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।

    सांसद ऐनबहादुर महरले बझाङका भुवन बोहरा नवलपरासीमा दुर्घटनामा परी निधन भएकाले सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकता दिने किसिमको व्यवस्था गर्न माग गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’
    प्रतिनिधिसभा बैठक: संसद्मा व्यवस्थित समाचार सङ्कलन कक्ष व्यवस्था गर्न माग
    त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड
    • सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली
    • प्रतिनिधिसभाः आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
    • दामोदरकुण्ड र गुरुङसाङ्वो पदमार्गमा झोलुङ्गे पुल निर्माण हुने
    • ट्राफिक प्रहरीद्वारा एक हजार ९६२ जना कारबाहीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.