सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रमदान जुटाएर व्यवस्थित खेलमैदान


  •    न्युजभित्तो/१४ पुष २०८२, सोमबार १३:१५ 
  • बेनी(म्याग्दी), १४ पुस । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् ।

    स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरूको खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवाले राम्चे गाउँमा व्यवस्थित र आकर्षक खेलमैदान निर्माण गरेका हुन् ।

    न्यू देउराली युवा क्लबको नेतृत्वमा गाउँपालिका र वडाकोे बजेटमा चन्दा सहयोग र श्रमदान जुटाएर करिब रु ८१ लाख बढी लगानीमा खेलमैदान तयार गरिएको हो । चार वर्षअघि जग्गा खरिद गरेर सुरु भएको खेलमैदान निर्माण योजनामा अहिलेसम्म रु ८१ लाख ४५ हजार नगद लगानी भएको छ भने युवाहरूले लाखौँ रकम बराबरको श्रमदानसमेत गरेका छन् ।

    ढलानसहितको खेलमैदान, क्लब भवन, शौचालय, वरिपरी घेराबार, दर्शकका लागि प्यारापिट र कार्यक्रम सञ्चालनका लागि स्टेज निर्माण गरिएको क्लबका अध्यक्ष खिमबहादुर पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार खेलमैदान निर्माण भएपछि गाउँमा युवालाई दैनिक रूपमा खेल अभ्यास गर्न र विभिन्न अवसरमा खेलकुद गतिविधि गर्न सहज भएको छ ।

    जग्गा सम्याउने, खेलमैदान ढलान, ग्यावियन झाली लगाउने, स्टेज निर्माण, प्यारापिट, घेराबार, बास्केटबलको फाइबर बोर्ड राख्ने र भलिबलको पोल राख्ने लगायतका काम गरेर व्यवस्थित खेलमैदान तयार भएको क्लबले जनाएको छ । खेलमैदानमा निर्माण भएको प्याराफिटमा छानो राखेर थप व्यवस्थित बनाउने क्लबको योजना रहेको छ । खेलमैदान निर्माणमा वडा, गाउँपालिका, स्थानीय आमा समूह, बाबा समूह, टोल समूह स्वदेश तथा विदेशमा रहेका स्थानीयवासीले आर्थिक सहयोग गरेका छन् ।

    खेलमैदान निर्माण गर्न वडा र पालिकास्तरीय योजनाअन्तर्गत खेलमैदान ढलानमा रु १४ लाख, खेलमैदान परिसरमा क्लब भवन बनाउन रु छ लाख, शौचालय बनाउन रु १३ लाख, स्टेज निर्माणमा रु १० लाख, घेरावार निर्माणमा रु चार लाख, प्याराफिट निर्माणमा रु छ लाख बजेट विनियोजन भएको थियो । बास्केटवल मैदानमा फाइबर बोर्ड राख्न देउराली आमा समूहले रु दुई लाख २० हजार सहयोग गरेको थियो । देश तथा विदेशमा रहेका राम्चेबासीबाट चन्दा सङ्कलन अभियानबाट थप करिब रु २६ लाख बराबरको सहयोग जुटाएर खेलमैदानको पूर्वाधार निर्माणमा परिचालन गरिएको क्लबले जनाएको छ ।

    “हामीले रु सात लाख ऋण खोजेर खेलमैदान बनाउन सुरु गरेका थियौँ, वडा र गाउँपालिकाबाट नियमित रूपमा बजेट विनियोजन भयो, स्वदेश तथा विदेशमा रहनुभएका स्थानीयवासीले मन खोलेर सहयोग गर्नुभयो, हामी युवाहरूले पनि सकेको श्रमदान ग¥याँै, अहिले खेलमैदानका लागि आवश्यक पर्ने अधिकांश पूर्वाधार तयार भएको छ”, क्लबका अध्यक्ष पुर्जाले भन्नुभयो । उहाँका अनुसार क्लबले बजेटमा सहयोग र श्रमदान जुटाएर पूर्वाधार निर्माण गरी कोषमा केही रकम बचत गर्न सफल भएको छ ।

    विसं २०४१ मा स्थापना भएको यस क्लबले यसअघि विद्यालय परिसरमा रहेको खेलमैदानमा खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने बाध्यता रहेको थियो । युवाहरूको खेल अभ्यास र गतिविधिसँगै विद्यालयको आन्तरिक खेलकुद तथा पठनपाठन प्रभावित बन्ने गरेको अवस्थामा सरकारी तबरबाट विनियोजन हुने बजेटमा थप सहयोग रकम र श्रमदान जुटाएर युवाहरूले उत्कृष्ट काम गरेको अन्नपूर्ण–८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो ।

    “चार वर्षको अवधिमा सरकारी बजेट, सहयोग रकम र श्रमदानबाट करिब रु एक करोडको हाराहारीमा पूर्वाधार बनेको छ, यो वर्षसमेत क्लबको भवनमा सिलिङ बनाउन पालिकाबाट रु तीन लाख बजेट विनियोजन गरेका छौँ”, वडाध्यक्ष गर्बुजाले भन्नुभयो । नवनिर्मित खेलमैदानमा नियमित खेल अभ्यासका साथै मेला पर्व र गाउँमा आयोजना हुने सार्वजनिक महत्वका कार्यक्रम सञ्चालनमा सहज भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.