सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटक भन्छन्: बन्दीपुरका पुराना घरले लोभ्यायो


  •    न्युजभित्तो/८ मंसिर २०८२, आईतवार १७:४९ 
  • दमौली (तनहुँ), ७ मङ्सिर । “बन्दीपुरको हावापानी र संस्कृति लोभलाग्दो रहेछ,  पहिलोपटक आएकी मलाई बन्दीपुरले लोभ्यायो,” चितवनकी दीपा थापा मगरले भन्नुभयो । बन्दीपुरका पुराना घरहरु, यहाँको स्थानीयवासीको सम्मानसहित बोल्ने परम्परा झनै राम्रो पक्ष रहेको उहाँको भनाइ छ । 

    दोस्रो पटक बन्दीपुर आउनुभएकी चितवनकै प्रतिभा निउरे सापकोटाले पनि यहाँका पुराना घरहरुले आकर्षण थपेको बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुरे शैलीका घरहरु बन्दीपुरको आकर्षण हो ।”

    मुस्ताङ भ्रमण गरेर बन्दीपुर आइपुग्नुभएका काठमाडौँका प्रदीप जङ्गले बन्दीपुर अन्य गन्तव्यभन्दा फरक लागेको बताउनुभयो । बन्दीपुरको बजार राम्रो लागेको बताउँदै उहाँले थप्नुभयो, “यसरी पुरानो घरहरु एकैठाउँमा देखेको थिइँन, नौलो लाग्यो ।”

    चितवनबाट आएर बन्दीपुर एक रात बिताउनुभएकी आशिका पौडेलले यहाँ निर्माण रहेको मिनी ग्रेटवालले चीनकै ग्रेटवालको झल्को दिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बन्दीपुरमा हाइकिङ पनि ग¥यौ, बन्दीपुर उपयुक्त पर्यटकीय गन्तव्यस्थल रहेकाले साथीभाइलाई पनि घुम्न जान सुझाव दिन्छु ।”

    पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला पर्यटकको चाप बढेको छ । विगत केही दिनदेखि बन्दीपुरमा पर्यटकको आगमन बाक्लिएको हो । बन्दीपुर आउने पर्यटकहरुले विभिन्न जातजातिका सांस्कृतिक पोशाकमा सजिएर टिकटक बनाउने, तस्बिर खिच्ने समेत गरेका छन् । 

    बन्दीपुर होटल व्यवसायी सङ्घका उपाध्यक्ष सुजन श्रेष्ठले जेनजी आन्दोलनपश्चात् बन्दीपुरको पर्यटन लयमा फर्किएको बताउनुभयो । पहिले शुक्रबार र शनिबारमात्रै पर्यटकको चाप हुने गरेपनि अहिले दैनिकजसो पर्यटकको चाप रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो बेला भनेको विदेशी पर्यटक आउने बेला पनि हो । स्वदेशी पर्यटकको पनि उत्तिकै चहलपहल छ ।”

    बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरमा दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने गरेको र त्यसमध्ये दुई÷तीन सयले बास बस्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुरमा ६६ होटल रहेको र एकदिनमा चार हजार बास बस्न सक्ने क्षमता छ । 

    प्रधानले जेनजी आन्दोलनका क्रममा बुकिङ गरिसकेका पर्यटकले पनि बुकिङ रद्द गरेको बताउँदै थप्नुभयो, “अहिले भने विदेशी भन्दा स्वदेशी पर्यटकको चाप बढेको छ । नेपाली पर्यटक दिनभर बन्दीपुरमा घुम्ने, रमाउने र फर्किने गरेका छन् । केहीले भने बन्दीपुरमै रात बिताउने गरेका छन् ।”

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरमा पर्यटकको बसाइ लम्ब्याउन बन्दीपुर भ्रमण वर्ष २०२५ सञ्चालन गरिएको जानकारी दिनुभयो । यहाँबाट विभिन्न हिमश्रृङ्खला आँखै अगाडी हेर्न सकिने भएकाले बन्दीपुर पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको थापाको भनाइ छ । 

    विसं २०८१ सालमा दुई लाख पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमण गरेका थिए । त्यसमध्ये विदेशी पर्यटक ६० हजार र स्वदेशी पर्यटक एक लाख ५० हजार रहेको जनाइएको छ । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्याङ्क छ । 

    खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ । 

    भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.