सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तरकारीखेतीले फेरिँदै जीवनशैली


  •    न्युजभित्तो/८ मंसिर २०८२, आईतवार १७:३९ 
  • ढोरपाटन (बागलुङ), ७ मङ्सिर । बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन् । खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ । गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन् । उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन् । अशिकांश स्थानीयले बारीमा साग, मुला, बन्दा, गोलभेँडालगायत विभिन्न प्रजातिका तरकारी फलाउँछन् । कोहीले उत्पदान गर्छन् । यही बेचेरै आफ्नो परिवार चलाउँछन् । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ हो ।

    विकासका हिसाबले लेखानी गाउँ सुगम नै मानिए पनि धेरैको रोजाइ सहरबजार र विदेश परेको छ । तर गाउँमा बस्नेलाई भने आफ्नै खेतबारी र खेतीपाती प्यारो छ । यस गाउँका झण्डै एक सय परिवार तरकारीखेतीमा आबद्ध छन् । बजार नजिक र तरकारीखेतीका लागि उपयुक्त वातावरण भएको हुँदा किसानको आकर्षण पनि उत्तिकै छ । धान, गहुँ, मकै र कोदो उत्पादन गर्न धेरै जनशक्ति चाहिने र खर्च पनि बढी हुनेहुँदा पछिल्लो समय अधिकांश स्थानीय तरकारीखेतीमा आबद्ध भएका हुन् ।

    तरकारीखेतीबाट राम्रो आम्दानी हुने हुँदा लेखानीवासीले गर्दै आएको कर्म छिमेकी गाउँलेले पनि सिको गर्न थालेका छन् । पहिले बन्दा र काउली बजारबाट किनेर लैजाने स्थानीय अहिले हजारौँ किलो तरकारी बजार पठाउँछन् । व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीयको जीवनस्तर सुधार हुँदै गएको स्थानीय लीलाधर कँडेलले बताउनुभयो । गाउँमै तरकारीखेती गरेर सहज रूपमा परिवार पाल्न सकिँदासकिँदै पनि धेरैले सहर रोज्ने गरेको उहाँ बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “गाउँमा सुन फलाउन सकिन्छ, तर गाउँका मान्छे कोही जापान, कोही कोरिया, कोही अमेरिका, कोही चितवन, पोखरा, काठमाडौँ गए, गाउँमा भएकाले खेती किसानी गर्न थालियो, सुरुमा त आफू जान नपाएकामा निरासा लाग्थ्यो, तर अहिले यहीँ खुसी लाग्छ, तरकारीले त गाउँका धेरैलाई खुसी दिएको छ, तरकारीखेती गरेका कोही पनि भोकै बस्नुपरेको छैन, राम्रै खान पाएका छन्, राम्रै लाउन पाएका छन् ।”

    गाउँका किसानलाई स्थानीय पालिका र विभिन्न सङ्घसंस्थाले पनि सहयोग गर्दै आएका छन् । अनुदान र प्राविधिकसहित तालिम पाएका स्थानीय उत्साहित बनेका छन् । गाउँभरि प्लास्टिकका टनेल भेटिन्छन् । गाउँलेले तरकारीखेतीप्रति रुचि देखाएपछि दुई वर्ष अगाडि गाजा फाउन्डेसनले ५० परिवारलाई तरकारीखेती गर्ने तालिम र अनुदानसमेत दिएको थियो । त्यसपछि गाउँमा तरकारीखेती गर्नेको लर्को लाग्न थालेको छ ।

    तरकारीखेती गर्न थालेपछि परिवारको आर्थिक अवस्था उकासिएको स्थानीय लक्ष्मी कँडेलले बताउनुभयो । तरकारी बेच्न थालेपछि परिवारको खर्च चलाउन सहज भन्दै बजार नजिक रहेको हुँदा बिक्रीका लागि समस्या नभएको उहाँको भनाइ छ । गाउँबाट दैनिक गाडी बजार जानेआउने हुँदा तकारी पठाउन र सामान ल्याउनका लागि सहज भएको कँडेलले बताउनुभयो । सुरुमा एउटा बारीमा मात्र सुरु गरेको तरकारीखेती अहिले बढाएर तीन बारीमा गर्न थालेको उहाँ बताउनुहुन्छ ।

    “तरकारीखेती गर्नका लागि विभिन्न संस्थाले प्रेरित गरे, सुरुमा छिमेकी बसाइँ सरेर तराई जाँदा मलाई पनि जानुपर्छ कि भन्ने सोच आएको थियो, तर अहिले गाउँका छरछिमेक सबैले तरकारीखेती गर्न थालेपछि यहीँ रमाइलो लाग्न थाल्यो”, उहाँले भन्नुभयो, “बजार पाइँदैन कि भन्ने समस्या त छैन, कहिलेकाहीँ बाहिरबाट सस्तोमा तरकारी आउँदा हामीले पनि कम मूल्यमा दिनुपर्ने अवस्था आउँछ, राज्यले बाहिरबाट आउने तरकारीलाई रोक्न सके हामीजस्ता किसानले भनेको जस्तो मूल्य पाइन्थ्यो ।”

    पहिले परम्परागत रूपमा तरकारीखेती गर्दा उत्पादन बढाउन नसकेको भन्दै अहिले वार्षिक रु पाँच लाख बढीको तरकारी बिक्री गर्ने गरेको स्थानीय लीलप्रसाद कँडेलले बताउनुभयो । आफूले एक दशकदेखि नै तरकारीखेती गर्दै आएको सुनाउँदै गत वर्षदेखि खेतीलाई थप विस्तार गरेको उहाँको भनाइ छ । पहिले गाउँमा तरकारी बेच्ने चलन नभएको सुनाउँदै पछिल्लो समय किसान व्यावसायिक बन्दै गएको कँडेलले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.