सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पन्ध्र कट्ठामा तरकारीखेती गरेर वार्षिक रु पाँच लाख आम्दानी


  •    न्युजभित्तो/१७ कार्तिक २०८२, आईतवार १२:०८ 
  • महेन्द्रनगर, १६ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ कटानका रानाथारू समुदाय व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

    डेढ दशकदेखि तरकारीखेतीमा संलग्न ती समुदायले तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि हरेक वर्ष खेती विस्तारमा जोड दिएका छन् । यहाँका नाथुराम रानाले डेढ दशकअघि ७५ बोट भन्टाबाट सुरु गरेको तरकारीखेती गाउँकै पहिचान बनेको छ ।

    तरकारी बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँले अहिले १५ कट्ठा क्षेत्रफलमा तरकारीखेती विस्तार गरेको बताउनुभयो । तरकारीखेतीबाट वार्षिक रु पाँच लाख आम्दानी गरिरहेका रानाबाट पे्ररित भएर गाउँका अन्य ४० राना परिवारसमेत अहिले तरकारीखेतीबाटैै आत्मनिर्भर छन् ।

    गाउँका बारी–बारीमा भन्टा, टमाटर, बन्दा, काउली खुर्सानीलगायतका हरिया तरकारी फस्टाएका छन् । यसै खेतीबाट गाउँलेहरू राम्रो आम्दानी गर्दै जीविकोपार्जन गरिरहेको राना बताउँछन् । “विसं २०६५ मा आफ्नै खेतमा ७५ बोट भन्टा रोपे यति धेरै फल्छ भन्ने मैले कल्पना नै गरेको थिइनँ”, उहाँले भन्नुभयो, “भन्टा राम्रो फलेपछि तरकारीखेती गरेर आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो र अर्को वर्ष आधा कट्ठा जग्गामा लगाएँ ।” भन्टाबाट तरकारीखेतीमा भविष्य देखेका रानाले दोस्रो वर्षदेखि बन्दा, काउली, खुर्सानीलगायत तरकारीखेती विस्तार गर्दै लगिएको छ ।

    अहिले खेती विस्तार गरेर पन्ध्र कट्ठामा तरकारीखेती गरेर वार्षिक रु पाँच लाख आम्दानी हुने गरेको राना बताउँछन् । खेती विस्तार गरेपछि आम्दानी पनि बढ्न थाल्यो । “खेती बढाउँदै गएँ, राम्रो आम्दानी हुन थाल्यो, पछि गाउँमा अरुले पनि तरकारीखेती गर्न थाले ।” उहाँले भन्नुभयो, “अरु अन्नभन्दा तरकारीखेतीमा बढी फाइदा हुन थालेपछि गाउँमा सबै तरकारीखेती गर्न थालेका हुन् ।” छयालीस परिवारको बसोबास रहेको नयाँ कटानमा ४० परिवार व्यावसायिक तरकारीखेतीमा लागेका छन् । तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका बन्धु रानाले पनि धान भित्र्याएर हिउँदे तरकारीखेतीमा लाग्नुभएको छ ।

    “अहिले हाम्रो गाउँका सबैले तरकारीखेती गर्दै आएका छन्, यसमा अन्य खेतीभन्दा राम्रो आम्दानी हुन्छ”, रानाले भन्नुभयो, “मैले पनि हरेक वर्ष तरकारीखेती बढाउँदैछु, अहिले आठ कट्ठामा लगाएको छु ।” उहाँले हिउँदमा तरकारी बिक्री गरेर रु पाँच लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । अन्य बालीभन्दा तरकारीखेतीमा तीन गुणासम्म फाइदा हुने भएकाले सिङ्गो गाउँ नै तरकारीखेतीमा लागेको उहाँको भनाइ छ । “सुरुमा तरकारी बोकेर घरघर गएर बिक्री गर्नुपथ्र्यो, बजारको समस्या थियो”, रानाले भन्नुभयो, “अहिले महेन्द्रनगरस्थित सब्जीमण्डीमा बिक्री हुन्छ, बजारको समस्या पनि छैन ।”

    पछिल्लो समय तरकारीखेतीसँगै रानाथारू घरबास (होमस्टे)समेत सञ्चालन गरेर रानाथारू समुदाय आत्मनिर्भर बनेको छ । तरकारीखेतीसँगै गाउँमा होमस्टे सञ्चालन गरेपछि यहाँका स्थानीय आत्मनिर्भर बनेको रानाथारू होमस्टेका अध्यक्ष पर्शुराम रानाले बताउनुभयो । “पाहुनालाई गाउँकै उत्पादन र परिकारको स्वाद दिन्छौँ”, रानाले भन्नुभयो, “यहाँ आउने पाहुनाले हाम्रो खाना र संस्कृति धेरै मन पराउने गर्छन् ।” उहाँले तरकारीखेती र होमस्टे दुवैबाट आय वृद्धि भएसँगै गाउँ अहिले आत्मनिर्भर र उदाहरणीय बस्तीका रूपमा परिचय बनाउन सफल भएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.