सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धान थन्क्याउन नपाउँदा किसान चिन्तित


  •    न्युजभित्तो/१५ कार्तिक २०८२, शुक्रबार १६:२८ 
  • महोत्तरी, १४ कात्तिक । दीपावली र छठसहितका मुख्य पर्व मनाएका महोत्तरीका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर बेचैन भएका छन् । चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले आकुलव्याकुल बनाएको हो । आज पनि बिहानभरि झमझम वर्षा भइरहेको छ ।
    महोत्तरीसहितका मधेसमा गत मङ्गलबार बिहानदेखि मौसम धुम्मिएर बुधबार बिहान सिमसिम पानी परेको थियो । बुधबार दिउँसो घाम लागे पनि मध्यरात कटेपछि झमझम पानी परिरहेपछि खेतमा पाकेको धान काट्न, चुट्न र थन्क्याउन नपाएपछि किसानको चिन्ता बढेको हो । खासगरी महोत्तरीका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका किसान अहिले मुखको पाकेको बाली थन्क्याउन नपाउँदा चिन्तामा परेका छन् । बुधबार मध्यरातपछि पर्न थालेको पानी छिनछिन रोकिँदै अझै पर्दैछ । बिहीबारदेखि परेको चोटिलो पानीले पाकेको धान बोटबाटै झारेको किसानले बताएका छन् ।
    “धान खेतमा पाकेर पहेँलपुर छ, चाडबाड सकेर काटौँला, थन्क्याउँला भनियो । पानी पो पर्न थाल्यो,” भङ्गाहा–५ कर्पुरगञ्जका ६० वर्षीय रामजुलुम बाँतर भन्नुहुन्छ, “पानी पर्दापर्दै काट्न पनि भएन, धान बोटबाटै झरेर नोक्सान पो भयो ।” हिउँदे धान काटेर केही दिन निहिनमा सुकाउन पर्नेमा यो पानीले काम बिगारेको बाँतर बताउनुहुन्छ ।
    महोत्तरीसहितका मधेसमा उत्तरी क्षेत्रमा चाँडै पाक्ने ९कात्तिक पहिलो साताभित्र० धान लगाइन्छ । उत्तरी क्षेत्रको माटो बलौटे हुँदा चाँडै रुखिने हुन्छ । यसैले गहुँ, दलहन, तेलहन, तरकारी र उखुबाली चाँडै लगाइन यस भेगमा चाँडो पाक्ने धान लगाइने गरिन्छ । यसपालि बर्खाकालमा लामो समय सुक्खा पर्दा धान रोपाइँ ढिलो भएर यस भेगमा पाक्ने समय कात्तिक दोस्रो साता पुगेको हो ।
    बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा अहिले धान पाकेर पहेँलपुर छ । अधिकांश किसान धान काट्ने मेसोमै लागेका बेला अहिले पानी परेपछि यो काम बिथोलिएको हो । उत्तरी क्षेत्रमा धान पाकेर पहेँलपुर भए पनि मध्य र दक्षिणी क्षेत्रमा भने मङ्सिरमा पाक्ने धान बढी रोपिएको छ ।  
    “पानी त चाहिएको थिएन, तर हाम्रोतिर धान पाक्न अझै दुई साता लाग्छ । त्यसैले अहिले परेको पानीले धेरै बिगार नगर्ला,” दक्षिणवर्ती बस्ती रामगोपालपुर–२ महनपुरका कादिर हुसैन भन्नुहुन्छ, “तर चोटिलो पानी पर्न थालेको छ, अब बोटबाटै धान झर्ने डर छ ।”
    गौशाला, भङ्गाहा र बर्दिबास नगरपालिकाका बस्तीमा भने अहिले धान काट्ने, निहिन सुकाउने, चुट्ने र थन्क्याउने चटारोकै बीच पानी परेको छ । अहिलेको पानी पनि मध्य र दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रमै बढी परेको छ । अब धान काट्ने काम दुई÷चार दिनपछि धकेलिएको किसान बताउँछन् । हिउँदे धान काटेर दुई÷तीन दिन निहिनमा सुकाउन पर्नेहुँदा मौसम सफा हुन पर्खनै पर्ने बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतो बताउनुहुन्छ । अब धान काट्न हुने ढिलोले गहुँ छर्ने, आलु रोप्ने र दलहन बाली लगाउने कामलाई पनि पछि धकेल्ने चिन्ताले किसान पिरोलिएका छन् । 
    यसैगरी धान काटेर उखु रोप्ने मन बनाएका किसान पनि छटपटिएका छन् । अहिलेको पानीले हिउँदे तरकारी रोप्ने, गोडमेल गर्ने र फलेका तरकारी पालोमा टिपेर बजार पु¥याउन पनि नदिने किसानको चिन्ता छ । “पानी पर्दैछ, पालोमा टिपेर बजार पु¥याउन पर्ने भण्टा, भिण्डी, घिरौँला, लौका र झिमनी एक दिनमै छिप्पिन्छन्, अनि ढुसी लाग्ने र किराको आक्रमण पनि बढ्छ,” बर्दिबास–९ पशुपतिनगरका रामविनोद महतो भन्नुहुन्छ, “यो पानी तुक ९समय० को भएन ।” 
    अहिलेको बेमौसमी वर्षाले किसान वाक्कदिक्क भएका छन् । खेतीपाती प्रतिकूलतै प्रतिकूलताका बीच गर्नु परेको उनीहरुको गुनासो छ । कहिले खडेरी, कहिले कुसमयको वर्षा यी सबै अप्ठ्याराबीच खेतीपाती चलाउनु परेको किसान बताउँछन् । एउटा कामको समय घर्किंदा त्यसले पछिसम्म प्रभाव पार्ने गरेको किसानको अनुभव छ । अहिले चाहिँ जिल्लाकै मुख्यबाली मानिने धान थन्क्याउन अनुकूल समय बिग्रँदा चिन्ता थपेको उत्तरी क्षेत्रका किसान बताउँछन् ।
    यसैबीच मधेस प्रदेश सरकारले अहिले बङ्गालको खाडीको मोन्था चक्रवातको प्रभाव मधेसका सबै जिल्लामा पर्ने सचेत गराउँदै धान काट्ने काम तत्काल नगर्न किसानलाई सचेत गराएको छ । बुधबार मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकपछि मुख्यमन्त्री जितेन्द्र सोनलले अहिले  सावधानी अपनाउन आम प्रदेशवासीलाई सचेत गराउँदै अनुकूल मौसम नहउञ्जेल धान नकाट्न अपिल गर्नुभएको हो । 
    “प्रदेश सरकार यसबाट पर्नसक्ने विपद्बारे सचेततापूर्वक तयारीमा लागेको छ, यो अवस्थालाई हल्का नलिनुहोला,” उहाँले अपिल गर्नुभएको । यो मौसम शनिबारसम्म रहनसक्ने मौसमविज्ञहरुले बताएका छन् । प्रदेश सरकारले नदीहरुमा बहाव बढ्न सक्नेहुँदा तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अप्नाउन अपिल गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.