सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उदाउँदो सूर्यलाई अर्घ दिँदै मधेसमा छठ सम्पन्न: ‘छठके सनेस’ सुरु


  •    न्युजभित्तो/१२ कार्तिक २०८२, मंगलवार ११:५० 
  • महोत्तरी, ११ कात्तिक । मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन आइतबार मध्यरातपूर्वदेखि निराहार व्रत बसेका बर्तालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यसपालिको छठ सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । यसरी निर्जला व्रत अहिले बिहान सूर्योदयसँगै सम्पन्न गरिएको हो ।

    आज बिहान मधेश प्रदेशमा ६ः१२ बजेको समयमा सूर्योदय हुने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । तर महोत्तरीका अधिकांश भेगमा आज बिहान झिसमिसेदेखि नै धुम्म बादल लाग्दा सूर्यदेव देखिन ढिलो भएको बर्दिबास–२ की बर्तालु देवकला महतोले बताउनुभयो । मिथिलामा सूर्योदयको टुङ्गो मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिन्छ ।

    मिथिला क्षेत्रमा आज बिहान बादल लागेर मौसम सफा नहुँदा घाम देखिन बर्तालुले निकै बेर पर्खनुपरेको छ । घाम झुल्केको देखेपछि अघ्र्य दिएर बर्तालुले पर्व सम्पन्न गरेका हुन् । यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीनपटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए ।

    पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका बर्तालुले राति सक्खरमा पकाइएको खिरमात्र खाएका थिए । बर्तालुले ३० घण्टा बढीको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । सूर्यदेवलाई सप्तमीका दिन बिहान अघ्र्य दिएर व्रत सम्पन्न गरिने विधिलाई मिथिलाको बोलीचालीमा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

    बर्तालुले यसपालि गत शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका थिए । माछामासु, लसुनप्याज, मुसुरो र कोदोसहितका विधिमा अशुद्ध मानिएका खानेकुरा वर्जित गरी अरवा सात्विक भोजन गरिने हुँदा यो विधिलाई ‘अरबाअरबाइन’ पनि भनिन्छ । त्यसैगरी, गत आइतबार पञ्चमीका दिन ‘खरना’ र सोमबार षष्ठी तिथिका दिन निराहार व्रतकै बीच साँझपख अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए । ‘सझुका अरख’लाई मिथिलामा ‘सझियाघाट’ पनि भन्ने गरिन्छ ।

    आज बिहान अघ्र्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी बर्तालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने÷खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा (गहुँको पीठो सक्खरमा मुछेर घ्यूमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरीचेली (छोरी, दिदीबहिनी, फूपू), मित÷मितिनी र अन्य इष्टजनको घर पठाउने परम्परा रहेको छ । मिथिलामा दुई साताभन्दा बढी चल्ने यो क्रमलाई ‘छठके सनेस’ (छठको कोसेली) भनिन्छ । यसरी पठाइने कोसेली नयाँ पकाइए पनि छठमा सूर्यलाई देखाइएको मध्ये केही मिसाएर ‘सनेस’ बनाइन्छ ।

    केही दशकअघि मिथिला क्षेत्रको मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै बनेको छ । संघीय राजधानी काठमाडौँ, मुख्य सहरमा केही वर्षयता उल्लासमय छठ मनाइँदै आइएको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडपर्व साझा बन्दै गएका छन् । राष्ट्रिय एकताको भावना अझ मजबुत बन्न÷बनाउन यसले मद्दत गरेको बुद्धिजीवी बताउँछन् ।

    सूर्यदेव र उहाँकी पत्नी षष्ठी (मैथिली बोलीचालीमा छठी)को आराधना गरिने यो पर्वको प्रभावले रोग नलाग्ने, रोगव्याध निको हुने, सन्तान सुख प्राप्त हुने र अन्य मनोवाञ्छित फल प्राप्त हुने मैथिल जनविश्वास छ । मुख्यत यो व्रतको प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने विश्वास गरिन्छ ।

    छठ पर्वका अवसरमा संघीय सरकार र प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.