सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान


  •    न्युजभित्तो/१० कार्तिक २०८२, आईतवार १३:५९ 
  • महोत्तरी, ९ कात्तिक । यहाँका किसानले उखु पेलेर पर्व खर्च जुटाएका छन् । सामान्यतया उखुमा सक्खरको मात्रा भरिन मङ्सिर पर्खनुपर्ने भए पनि पर्व खर्च व्यवस्थापन गर्न यहाँका किसानले कात्तिक पहिलो सातादेखि उखु पेलेर सक्खर बनाउन थालेका हुन् । 
    कात्तिक पहिलो सातामा परेको दीपावली र दोस्रो सातामा परेको छठमा सक्खरको माग उच्च हुने भएकाले यहाँका उखु किसानले आफ्नो पर्व खर्चको जोहो गर्न सक्खर बनाउन थालेका हुन् ।
    “चाडपर्व मनाउन खर्चको व्यवस्थापन गर्नुपरेकाले केही छिटो मिठ्ठा (सक्खर) बनाउन थालिएको हो । यसैको आम्दानीले दीपावली धानियो, अब छठ पनि यसैबाट मनाउने हो”, भङ्गाहा–४ का किसान सुफल महतोले भन्नुभयो, “चिनी उद्योग कहिलेदेखि सञ्चालन हुने थाहा छैन, त्यसैले पर्व टार्न पहिले नै उखु पेल्न परेको हो ।”
    अहिलेको उखुमा रस कम र पानीको मात्रा बढी हुने उहाँले बताउनुभयो । “सक्खरको मात्रा भरिन मङ्सिर लाग्नुपर्छ । तर पर्व टार्न खर्चको जोहो गर्नुपरेको छ, यसबाट तत्काल नगद पाइने भएपछि चाडबाडको समयमा सक्खर बनाउन परेको हो”, उहाँले भन्नुभयो । 
    चिनी उद्योगले कहिले ‘क्रसिङ’ सुरु गर्ने भन्ने तालिका नबन्दा अहिले चाडपर्वका लागि खर्चको जोहो गर्न उखु पेल्न थालिएको किसानको भनाइ छ । गौशाला, भङ्गाहा र बर्दिवास क्षेत्रका बस्तीमा बढी मात्रामा उखुखेती हुने गरेको छ । अहिले बस्तीबस्तीका किसान घरघरमा उखु पेल्न र रस पकाएर सक्खर बनाएर बेच्न व्यस्त देखिन्छन् ।
    आजसम्म छठका लागि आवश्यक सामग्री जुटाउन बजारमा चलहपहल बढ्ने भएकाले किसान यो काममा लागेका हुन् । दीपावली र छठ पर्वमा उपभोक्ताले नयाँ सक्खर उपभोग गर्दछन् ।
    “कात्तिक त्यसै पनि नगद जोहोमा अप्ठ्यारो महिना हो, किसानलाई यो महिनामा खेतीपाती धान्न र चाडपर्व धान्न नगद आवश्यक पर्दछ”, बर्दिवास–९ का किसान रामविनोद महतोले भन्नुभयो, “सरसापट पनि यो बेला पाइँदैन, त्यसैले उखु पेलेर चाडपर्व र खेतीपातीको खर्च जुटाउन लागेका हौँ ।” अहिले गहुँ छर्ने, दलहन बाली लगाउने र तरकारीखेतीका लागि बीउ, मल र जोतखन गर्न रकम आवश्यकपर्ने भएकाले उखु पेलेरै खर्च जुटाउन थालिएको उहाँले बताउनुभयो ।
    “दीपावलीदेखि छठसम्म मिठ्ठा बढी माग हुन्छ । छठ सकिएपछि यसको बिक्री घट्छ, त्यसैले यो समयमा उखु पेलेर मिठ्ठा बनाउन लागेका हौँ”, बर्दिवास–१२ का किसान रामविलास कुशवाहाले भन्नुभयो, “अहिलेको उखुको रसमा मिठ्ठा पकाउन बढी समय लाग्छ, तर आफ्नै उत्पादनबाट नगदको जोहो हुने भएकाले सोहीअनुसार किसानको व्यस्तता बढेको हो ।” यस वर्ष कात्तिकको सुरुमा दीपावली र छठ परेकाले किसानलाई खर्च जुटाउन समस्या भएको उहाँको भनाइ छ ।
    कात्तिकलाई यहाँका किसान ‘तेर्‍हौँ मास’ ९तेर्‍हौँ महिना० भन्ने गर्छन् । आम्दानीका क्षेत्र खासै नहुने र खर्च अन्य महिनाभन्दा बढ्ने हुँदा यसलाई प्रतिकात्मक रूपमा तेर्‍हौँ महिना भन्ने गरिएको भङ्गाहा–४ का किसान गङ्गाराम महतोले बताउनुभयो । अरु बेला प्रतिकिलो रु एक सयमा बिक्ने सक्खर चाडपर्वको समयमा प्रतिकिलो रु १२० मा बिक्री हुने उहाँले जानकारी दिनुभयो ।
    दीपावलीमा बनाइने सेल र छठका लागि बनाइने ठकुवामा सक्खरमा राख्दा बढी स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको गङ्गारामको बुझाइ छ ।
    सक्खरको प्रयोगले चिनीको आपूर्ति पूरा गर्ने र गुलियोपन पनि कम हुने भएकाले यसले स्वास्थ्यमा प्रतिकूल असर नगर्ने बर्दिवास–१३ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताउनुभयो । 
    जिल्लामा यस वर्ष नौ हजार बिघामा उखुखेती भएको यहाँस्थित उखु उत्पादक कृषक सङ्घले जनाएको छ । पाँच हजार बिघाको खुट्टी उखु ९एकपटक रोपिएको उखुको दुई वर्षको बाली हुन्छ । पहिलो वर्षको ‘मुडन’ र दोस्रो वर्षको ‘खुट्टी’ हो० रहेको सङ्घका अध्यक्ष नरेशसिह कुशवाहाले बताउनुभयो । उहाँका अनुसार अहिले किसानले दोस्रो वर्षको उखु पेलेर सक्खर बनाइरहेका छन् । मुडनमा पुस नलागी राम्ररी रस नपस्ने र खुट्टी अलिपहिले तयार हुने भएकाले किसानले खुट्टी पेल्न थालेका उहाँले उल्लेख गर्नुभयो ।
    यस वर्ष उखु उद्योगले क्रसिङ कहिलेदेखि सुरु गर्ने निश्चित भएको छैन । उखु उत्पादक किसानका प्रतिनिधि संस्थाले उद्योगमा बुझाइने उखुको मूल्य सरकार, उद्योग र आफ्ना प्रतिनिधिको रोहबरमा हुनपर्ने अडान राख्दै आएका छन् । यो मूल्य निर्धारण कात्तिक मसान्तभित्र नभए प्रदर्शन गर्ने सङ्घका अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो ।
    किसानले आर्थिक वर्ष २०८०/८१ मा उखुमा पाउने अनुदानबापत प्रतिक्विन्टल रु ७० पाउनुपर्नेमा रु ३५ मात्र पाएका छन् । बाँकी रकम तत्काल दिन सरकारको ध्यानाकर्षण गराइएको कुशवाहाले बताउनुभयो ।
    अहिले किसानले उखु पेल्न थालेपछि पछि उद्योगलाई दिने उखु घट्ने देखिन्छ । आर्थिक अभावका कारण आफूहरूलाई अहिलेको खर्चको जोहो गर्न यही साहारा भएको किसान बताउँछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.